बनेपा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्न सफल काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संस्थागत सुदृढीकरणका लागि विशेष कार्यक्रम सञ्चालन हुने भएको छ ।
संस्थागत क्षमता अभिवृद्धि तथा वित्तीय सुदृढीकरणका लागि बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र जर्मनीको DSIK (German Sparkassenstiftung for International Cooperation) बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको हो ।
बुधबार (२०८३ भदौ ३ गते) काठमाडौंस्थित नेफ्स्कूनको सभाहलमा आयोजित कार्यक्रममा तीनै संस्थाबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा बिन्धवासिनी साकोसका प्रमुख कार्यकारी अधिकृत के.बी. लामा स्याङ्तान, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र DSIK जर्मनीकी कन्ट्री डाइरेक्टर लाउरा सियालोले हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौता अनुसार बिन्धवासिनी साकोसको ऋण शाखामा कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि स्तरीय तालिम प्रदान गरी प्रमाणीकरण गर्ने, ऋण तथा अन्य जोखिम न्यूनीकरण गर्ने र सदस्यहरूलाई वित्तीय तथा व्यवसायिक शिक्षा प्रदान गर्ने कार्य गरिनेछ ।
त्यसैगरी कृषक तथा लघुउद्यमी सदस्यहरूको क्षमता विकासका लागि तालिम सञ्चालन गर्ने, उद्यमशीलताको विकास गर्ने, लघुवित्त कार्यक्रमलाई थप सबल बनाउने तथा जोखिम व्यवस्थापनका क्षेत्रमा नेफ्स्कून र DSIK ले प्राविधिक सहयोग गर्नेछन् ।
कम्तीमा १५ महिनादेखि अधिकतम तीन वर्षसम्म सञ्चालन हुने कार्यक्रमले संस्थाको वित्तीय स्वास्थ्यलाई थप सबल बनाउने अपेक्षा गरिएको छ । कार्यक्रमबाट ऋण जोखिम न्यूनीकरण हुनुका साथै कर्मचारीहरूको क्षमता विकास, सदस्यहरूको वित्तीय तथा व्यावसायिक क्षमता अभिवृद्धि र उद्यमशीलताको विकासमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएमा सदस्यहरूको आर्थिक अवस्था सुधार हुनुका साथै समग्र संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
नेपालभरिबाट छनोट भएका बिन्धवासिनी साकोससहित पाँच वटा सहकारी संस्थामा यो कार्यक्रम लागू हुन लागेको जनाइएको छ । सम्झौता कार्यक्रममा बिन्धवासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठ, नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीलगायत पदाधिकारी तथा उच्च व्यवस्थापनका प्रतिनिधि र DSIK का नेपालस्थित प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया