काठमाडाैं । पछिल्लो २४ घण्टाको वर्षा विवरणअनुसार चितवनको भरतपुरमा ३१६.८ मिलिमिटर वर्षा मापन भएको छ, जुन अति भारी वर्षा हो । त्यसैगरी गैंडाकोट, आबुखैरनी र रामपुर लगायतका क्षेत्रमा पनि २०० मिमिभन्दा बढी वर्षा रेकर्ड भएको छ ।
वर्षाको वितरण हेर्दा गण्डकी र बागमती प्रदेशमा वर्षा बढी केन्द्रित भएको देखिन्छ भने अन्य प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
मौसम विश्लेषणअनुसार हिजोको तुलनामा आज वर्षाको तीव्रता केही घट्ने देखिए पनि कोशी प्रदेशको तराई क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना कायम रहेको छ ।
मौसम पूर्वानुमान मोडेलअनुसार वर्षाको मात्रा र स्थानमा केही तलमाथि हुन सक्ने भएकाले सावधानी भने सधैं आवश्यक छ । हाल पनि पश्चिममा बर्दियादेखि पूर्वमा उदयपुरसम्म विभिन्न स्थानमा वर्षा सक्रियरूपमा जारी रहेको छ ।
सबैलाई मौसमको अद्यावधिक जानकारी पछ्याउन, नदी–खोला, डुबान तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ ।
प्रतिक्रिया