मेलम्ची, सिन्धुपाल्चोक । विद्यालयमा हुन सक्ने विपद्का जोखिम न्यूनीकरण, पूर्वतयारी तथा विपद्का समयमा खोज तथा उद्धार र प्राथमिक उपचारसम्बन्धी तीन दिने विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण तालिम मेलम्चीमा सम्पन्न भएको छ । भदौ ३ देखि ५ गतेसम्म मेलम्चीमा सञ्चालन भएको तालिमलाई UCAR र संयुक्त राज्य अमेरिकाले सहयोग तथा RIMES र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा मेलम्ची नगरपालिकाले समन्वय गरेको थियो ।
तालिममा भोजराज घिमिरे, दिवाकर पौडेल, प्रकाश कार्की र निशा मगरले प्रशिक्षण दिएका थिए । तालिममा विपद् भनेको के हो, विपद्का प्रकार, विद्यालयमा हुनसक्ने सम्भावित जोखिम, विपद् पूर्वतयारी, विपद्का समयमा अपनाउनुपर्ने सुरक्षा उपाय, खोज तथा उद्धार, प्राथमिक उपचार तथा विपद्पछिको व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो । पहिलो र दोस्रो दिन सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो भने तेस्रो दिन विभिन्न विपद्का घटनामा अपनाउनुपर्ने उद्धार विधिको प्रयोगात्मक अभ्यास गराइएको थियो । सहभागीलाई घाइतेको अवस्था पहिचान गरी प्राथमिकता निर्धारण गर्ने, आकस्मिक उद्धार गर्ने, स्ट्रेचरमार्फत घाइतेलाई सुरक्षित स्थानमा लैजाने तथा प्राथमिक उपचार गर्ने विधि सिकाइएको थियो । साथै विद्यालयस्तरीय विपद् व्यवस्थापन कार्ययोजना र विद्यालय सुरक्षा कार्ययोजना निर्माण गर्नेसम्बन्धी अभ्याससमेत गराइएको थियो ।
समापन कार्यक्रममा मेलम्ची नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक पासाङ तामाङको अध्यक्षता रहेको थियो । कार्यक्रममा RIMES नेपाल कार्यक्रम प्रमुख पूजा शाक्य र RIMES थाइल्यान्ड कार्यालयका अमित प्रसाद नायकको समेत सहभागिता थियो । समापन कार्यक्रममा संयोजक तामाङले तालिमबाट सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा लागू गर्न प्रशिक्षार्थीलाई आग्रह गर्दै समुदायमा विपद्जन्य घटना हुँदा उद्धार तथा सहयोगमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
मेलम्ची नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजालले विद्यालयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी व्यावहारिक तालिम आवश्यक रहेको बताए । तालिमले विद्यालयमा विपद् आइपर्दा तत्काल गर्नुपर्ने कामबारे शिक्षकलाई सक्षम बनाएको भन्दै उनले तालिमप्राप्त शिक्षकले विद्यालयको विपद् फोकल पर्सनका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । RIMES नेपाल कार्यक्रम प्रमुख पूजा शाक्यले तालिममा प्रशिक्षार्थीको उत्साहजनक सहभागिता रहेको बताउँदै कार्यक्रम सञ्चालनमा सहयोग र समन्वय गरेकोमा मेलम्ची नगरपालिकालाई धन्यवाद दिइन् ।
प्रशिक्षार्थी शम्भुप्रसाद चौलागाईंले विद्यालयमा विपद् व्यवस्थापन, प्राथमिक उपचार, खोज तथा उद्धार, घाइतेको प्राथमिकता निर्धारण तथा अस्पतालसम्म लैजाने विधिका साथै भूकम्प, आगलागी र बाढीको पूर्वतयारी, विपद्का समयमा बच्ने उपाय तथा विपद्पछिको उद्धारबारे महत्वपूर्ण ज्ञान हासिल भएको बताए । त्यस्तै, उत्सव श्रेष्ठले विद्यालयमा विपद् आउँदा विद्यार्थीलाई सुरक्षितरूपमा उद्धार गर्ने तथा आफू सुरक्षित हुँदै समुदायमा सिकेका कुरा पुर्याउने ज्ञान प्राप्त भएको बताए । अर्का सहभागी साधुराम नेपालले विपद् जोखिम न्यूनीकरणका साथै तत्कालीन उद्धार र विद्यालय तथा समुदायमा विपद् व्यवस्थापन गर्ने व्यावहारिक ज्ञान प्राप्त भएको बताए ।
RIMES ले नेपालसहित दक्षिण एसियाका बंगलादेश, पाकिस्तान र श्रीलंकालगायत अफ्रिकी तथा अन्य क्षेत्रमा समेत विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ । समापन कार्यक्रमको सञ्चालन मेलम्ची नगरपालिकाको विपद् शाखा प्रमुख सबुना गमालले गरेकी थिइन् । तालिम सम्पन्न भएपछि सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
प्रतिक्रिया