थाहा नगरपालिका । मकवानपुरको थाहा नगरपालिका र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबीच दुवै पालिकामा सञ्चालित उत्कृष्ट कार्य, अनुभव तथा असल अभ्यास आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रियाका क्रममा विशेषगरी स्थानीय उत्पादनको प्रवर्द्धनका लागि दुवै पालिकाले सञ्चालनमा ल्याएका ‘कोसेली घर’ को सञ्चालन, व्यवस्थापन तथा बजारीकरणका विभिन्न पक्षबारे छलफल भएको थियो ।
स्थानीय उत्पादनलाई बजारसँग जोड्दै स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने तथा स्थानीय पहिचानलाई स्थापित गर्ने उद्देश्यले सञ्चालित ‘कोसेली घर’को अभ्यासलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीबीच अनुभव आदान–प्रदान गरिएको थियो । स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन यस्तो अभ्यास महत्वपूर्ण हुने धारणा कार्यक्रममा व्यक्त गरिएको थियो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका तर्फबाट नगर उपप्रमुख उमा प्रधान, रोजगार संयोजक रञ्जन श्रेष्ठ र सूचना प्रविधि अधिकृत अर्पणा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । त्यस्तै, थाहा नगरपालिकाका तर्फबाट माधवविक्रम मल्ल, गुनासो अधिकृत अनिल लामिछाने र भागिरथ कार्की लगायतका प्रतिनिधिहरू सहभागी थिए ।
दुवै पालिकाबीचको यस्तो अनुभव तथा असल अभ्यास आदान–प्रदानले स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलता विकास र स्थानीय आर्थिक समृद्धिमा थप योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया