नुवाकोट । त्रिशूलीको विनाशकारी बाढीमा पुरिएको घरबाट ११ औं दिनमा एक महिलाको प्रहरीले शनिबार जीवितै उद्धार गरेको छ । प्रहरीले विदुर नगरपालिका-१० बेत्रावती बस्ने आनन्दलाल श्रेष्ठको श्रीमती ६४ वर्षीया चण्डीका श्रेष्ठको जीवितै उद्दार गरेको हो ।
प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा खटिएको प्रहरीले बेत्रावतीस्थित नदीको बगर तथा क्षतिग्रस्त संरचनामा आवश्यक खोजी कार्य गरिरहेको थियो । सोही क्रममा आनन्द लालको ४ तल्ले घरको छतमा पुगेपछि भित्रबाट आवाज आएको सुनिएको कुरा प्रहरी निरीक्षक दर्नालले बताए । ‘त्यसपछि पर्खालमा सानो प्वाल बनाएर सोधी खोजी गर्दा भित्रबाट बचाउ-बचाउ भन्ने आवाज सुनियो । त्यसपछि पर्खाल फुटाएर उनको उद्दार गर्न हामी सफल भएका हौं’ उनले बताए । उद्दार कार्यमा स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायले समेत आवश्यक सहयोग गरेको थियो ।
उद्दार गरिएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरद्धारा थप उपचारको लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौं पठाइएको छ । हाल उनको अवस्था मध्यम (बोल्न सक्ने) रहेको बताइएको छ । बाढीका प्रभावित क्षेत्रहरूमा नेपाल प्रहरीले स्थानीय तह एवम् अन्य सुरक्षा निकायको समन्वयमा निरन्तर रूपमा खटिई उद्दार तथा खोज कार्य गरिरहेको छ ।
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ४४ जनाको शव फेला
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार १७:०० बजेसम्म १ हजार ३ सय ४४ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ६० जना, नुवाकोटमा १ सय ९३ जना, धादिङमा ६७ जना, चितवनमा ३ सय ६२ जना, गोरखामा ७४ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २२ जना र नवलपरासी पश्चिम २ सय १९ जना गरी १ हजार ३ सय ३५ जनाको शव फेला परेको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ६० र आफन्तका १ हजार १२ गरी कुल २ हजार २ सय ७२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार २ सय ९२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८ सय ८७ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ९८ जना व्यक्तिहरूलाई राखिएको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।
प्रतिक्रिया