काभ्रेपलाञ्चोक । नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस काभ्रेपलाञ्चोकमा विशेष कार्यक्रमका साथ मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेपलाञ्चोकको आयोजनामा जिल्ला शाखा कार्यालयमा स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा जिल्ला शाखाका सभापति देवेन्द्रप्रसाद भैल, उपसभापति पुष्पा बस्नेत, कोषाध्यक्ष प्रेमबहादुर तामाङ, उपमन्त्री प्रदीप के.सी. बञ्जारा लगायत कार्यसमिति सदस्य तथा पदाधिकारी, रेडक्रसकर्मीहरूको उपस्थिति रहेको थियो ।
स्थापना दिवसको अवसरमा सहभागीहरूले नेपाल रेडक्रस सोसाइटीले स्थापना कालदेखि नै विपद् तथा संकटका समयमा उद्धार, राहत, प्राथमिक उपचार, रक्तसञ्चार, स्वास्थ्य सेवा तथा अन्य मानवीय सेवाका क्षेत्रमा पुर्याउँदै आएको योगदानको स्मरण गरेका थिए ।
पछिल्लो समय बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपद्का घटना बढ्दै गइरहेको अवस्थामा रेडक्रसको मानवीय सेवा अझ प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए । विपद्को समयमा राज्यका निकायसँग सहकार्य गर्दै स्वयंसेवक परिचालन, उद्धार तथा राहत व्यवस्थापनलाई थप चुस्त बनाउनुपर्ने आवश्यकतासमेत औँल्याइएको थियो ।
कार्यक्रममा रेडक्रसका आधारभूत सिद्धान्त र मानवीय मूल्य–मान्यतालाई व्यवहारमा उतार्दै समाजमा आवश्यक परेको समयमा निःस्वार्थ भावनाका साथ सेवा गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेपलाञ्चोकले आगामी दिनमा जिल्लाभित्र मानवीय सेवा, विपद् व्यवस्थापन, रक्तसञ्चार, प्राथमिक उपचार तथा समुदायमा आधारित कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।
स्थापना दिवसले रेडक्रसकर्मी तथा स्वयंसेवकहरू बीचको एकता, सहकार्य र सेवाभावलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ थियो । कार्यक्रममा सहभागी पदाधिकारी तथा रेडक्रसकर्मीहरूले स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्दै कार्यक्रम सम्पन्न गरेका थिए ।
प्रतिक्रिया