• २०८३ भाद्र १९ | Fri, 04 Sep 2026

‘आरुचौर’लाई किबी गाउँ बनाउँदै पनाैतीका उपेन्द्र : माटोसँग ६ दशक लामो सम्बन्ध (भिडियाेसहित)

‘आरुचौर’लाई किबी गाउँ बनाउँदै पनाैतीका उपेन्द्र : माटोसँग ६ दशक लामो सम्बन्ध (भिडियाेसहित)

ज्ञानमणि नेपाल कालाेटाेपी
काभ्रे । कृषि कर्मलाई जीवनको मुख्य आधार बनाएका पनौती नगरपालिका–१ रयालेका पौरखी किसान उपेन्द्र तिमल्सिना अहिले किबी खेतीका कारण चर्चामा हुनुहुन्छ । उहाँको गाउँको नाम आरुचौर भए पनि पछिल्लो तीन वर्षयता उहाँले गाउँमा किबी खेतीको सम्भावना देखाउँदै त्यसलाई विस्तार गर्नुभएको छ । करिब छ दशकदेखि यही माटोमा खेतीपाती गर्दै आउनुभएका तिमल्सिनाको पहिचान मौसमी तथा बेमौसमी तरकारी खेतीसँग पनि जोडिएको छ । काउली, बन्दा, काँक्रो, फर्सी, घिरौंला, जुनार, सुन्तला, अलैंची, मकैदेखि किबीसम्म विभिन्न बाली लगाउँदै आउनुभएका उहाँले अहिले करिब सात रोपनी क्षेत्रफलमा दुई जातका करिब १५० किबीका बोट लगाउनुभएको छ । कृषि पेशामा आफ्नै लगानी, मेहनत र अनुभवलाई आधार बनाउँदै अगाडि बढ्नुभएका तिमल्सिनाले प्राकृतिक विपत्तिबाट ठूलो क्षति व्यहोर्दासमेत आफ्नो बाटो छाड्नुभएन । किबी खेतीको सम्भावना, लगानी, बजार, उत्पादन, चुनौती र कृषिमा भविष्य खोज्ने युवापुस्ताका लागि उहाँको सन्देशबारे कालोटोपी डटकमका लागि गरिएको कुराकानीको सम्पादित अंश :

१. सर्वप्रथम, आफ्नो परिचय दिनुहोस् न।
मेरो नाम उपेन्द्र तिमल्सिना हो । म पनौती नगरपालिका–१, रयालेको बासिन्दा हुँ । मेरो गाउँ आरुचौर हो तर अहिले यहाँ आरु खासै पाइँदैन । लामो समयदेखि कृषि पेशामै आबद्ध छु । खेतीपाती नै मेरो मुख्य व्यवसाय र जीवनको आधार हो ।
२. तपाईंको कृषि यात्रालाई कसरी सम्झनुहुन्छ?
मैले खेती गर्न थालेको धेरै भयो । मेरो जीवनको करिब छ दशक यही माटोसँग जोडिएको छ । सुरुदेखि नै विभिन्न प्रकारका तरकारी तथा फलफूल खेती गर्दै आएको छु । मौसमी मात्र होइन, बेमौसमी तरकारी उत्पादनमा पनि रुचि थियो। कृषि मेरो लागि केवल आम्दानीको माध्यम होइन, जीवन जिउने एउटा शैली नै बनेको छ ।
३. अहिले तपाईं किबी खेतीमा पनि लाग्नुभएको छ । किबी खेती कहिलेदेखि सुरु गर्नुभयो?
विगतमा अन्य तरकारी र फलफूल लगाइरहेको थिएँ । किबी खेती भने करिब तीन वर्षअघि सुरु गरेको हुँ। अहिले आएर त्यसको राम्रो परिणाम देखिन थालेको छ । गत वर्ष थोरै उत्पादन भएको थियो, यो वर्ष भने उत्पादन राम्रो हुने अपेक्षा छ।
४. किबीसँगै अरू के–के खेती गरिरहनुभएको छ?
मैले जमिनलाई सकेसम्म खाली नराख्ने प्रयास गरेको छु। किबीसँगै जुनार, सुन्तला, मकै, अलैंची, काँक्रो लगायतका बाली लगाएको छु। अन्तरबालीका रूपमा विभिन्न उत्पादन गर्ने गरेको छु। एउटा बालीको भरमा मात्र बस्नुभन्दा उपलब्ध जमिन र मौसमअनुसार विविध खेती गर्नु उपयुक्त हुन्छ भन्ने मेरो अनुभव हो ।

५. किबी खेतीका लागि कति लगानी गर्नुभएको छ?
ठ्याक्कै सबै खर्चको हिसाब गरेको छैन। मोटामोटी करिब १० लाख रुपैयाँजति लगानी भइसकेको छ। किबी खेतीमा बिरुवा मात्र लगाएर पुग्दैन। त्यसका लागि आवश्यक संरचना, पोल, तार, मल, सिँचाइ, गोडमेल, स्याहारलगायतमा पनि खर्च हुन्छ।
६. किबी खेतीमा सरकारले पनि सहयोग गरेको छ कि?
प्रदेश सरकारअन्तर्गत कृषि कार्यालय, हेटौँडाबाट किबी खेतीका लागि पोल निर्माण गर्न करिब डेढ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। तर त्यति रकमले मात्र आवश्यक संरचना पूरा गर्न सम्भव थिएन। त्यसमा मैले आफ्नै तर्फबाट थप लगानी गरेँ।
७. त्यस क्रममा प्राकृतिक विपत्तिबाट पनि क्षति व्यहोर्नुभयो रे नि?
हो । २०८१ सालको विनाशकारी बाढीपहिरोले ठूलो क्षति पुर्‍यायो । किबी खेतीका लागि बनाएका संरचनासमेत क्षतिग्रस्त भए । विपत्तिबाट भएको क्षतिको क्षतिपूर्ति पाइन्छ भन्ने सुनेको थिएँ । तर जम्मा करिब १७ हजार रुपैयाँ मात्र राहत/क्षतिपूर्ति पाएँ। वास्तविक क्षतिको तुलनामा त्यो निकै कम थियो। त्यसबाट ठूलो घाटा भयो। तर मैले हिम्मत हारिनँ। फेरि आफ्नै लगानी र मेहनतमा खेतीलाई निरन्तरता दिएँ।
८. यति ठूलो क्षति भएपछि पनि कृषि पेशामै टिकिरहनुभयो। निराश हुनुभएन?
निराश हुने अवस्था त आउँछ। तर खेती छोडेर कहाँ जाने भन्ने पनि प्रश्न हो। मैले यही माटोमा जीवन बिताएको छु। एउटा किसानले विपत्ति आयो भनेर खेती नै छाड्यो भने फेरि उठ्न गाह्रो हुन्छ। त्यसैले क्षति भए पनि पुनः मेहनत गर्नुपर्छ भन्ने सोच राखेँ। अहिले आएर त्यसको परिणाम देखिन थालेको छ।

९. तपाईंलाई यो ठाउँमा किबी खेती गर्न सकिन्छ भन्ने जानकारी कसरी भयो?
मेरा पुराना साथीहरू पुजन जंगम, केशव कोइराला, राजकुमार हुमागाईं लगायतसँग राम्रो सम्बन्ध थियो। राष्ट्रिय मसला बाली केन्द्र, खुमलटारमा कार्यरत पदमप्रसाद अधिकारीसँग पनि मेरो राम्रो सम्बन्ध थियो। उहाँहरूसँगको कुराकानी र अनुभवबाट यो क्षेत्रमा किबी खेतीको राम्रो सम्भावना रहेको जानकारी पाएँ। उहाँहरूको प्रेरणाले किबी खेती सुरु गर्ने सोच बन्यो।
१०. सुरुमा परीक्षणका रूपमा केही बोट मात्र रोप्नुभयाे कि व्यवसायिक रूपमै थाल्नुभयाे नि ?
एक–दुई बोट लगाएर मात्र केही हुँदैन भन्ने लाग्यो। कुनै काम गर्ने हो भने अलि लगानी गरेर व्यवस्थित रूपमा गर्नुपर्छ भन्ने सोच बनाएँ। त्यसैले सम्भावना देखेपछि लगानी गरेरै सुरु गरेँ। अहिले त्यसको परिणाम पनि राम्रो देखिँदै गएको छ।
११. तपाईंले यो क्षेत्रमा पहिलोपटक किबी खेती गर्नुभएको हो?
मैले यस अघि अन्य बाली लगाइरहेकाे थिएँ । यहाँ किबी खेती पहिलोपटक गरेको हुँ। तर गाउँमा पहिलो किबी किसान भने म होइन। मेराे दाइले यसअघि किबी लगाउनुभएको थियो। तर अहिले मैले तुलनात्मक रूपमा ठूलो क्षेत्रफलमा व्यावसायिक ढंगले खेती गरिरहेको छु।
१२. अहिले कति क्षेत्रफलमा किबी खेती गर्नुभएको छ?
करिब ७ रोपनी क्षेत्रफलमा किबी खेती गरेको छु । दुई जातका करिब १५० बोट छन्। आगामी दिनमा अझै विस्तार गर्ने सोचमा छु।
१३. किबीले उत्पादन दिन कति समय लाग्दो रहेछ?
राम्रोसँग स्याहार–सुसार गर्न सकियो भने करिब तीन वर्षमै उत्पादन दिन सुरु गर्ने रहेछ। यो बहुवर्षीय बाली हो। एकपटक राम्रोसँग रोपेपछि लामो समयसम्म उत्पादन लिन सकिन्छ। सामान्य अवस्थामा करिब २० वर्षसम्म उत्पादन लिन सकिने जानकारी छ।

१४. तपाईंले यो वर्ष कति उत्पादन र आम्दानीको अपेक्षा गर्नुभएको छ?
यो वर्ष उत्पादन राम्रो हुने देखिएको छ । यस सिजनमा करिब दुई लाख रुपैयाँजति आम्दानी हुने आशा गरेको छु। उत्पादन बढ्दै गएपछि आम्दानी पनि क्रमशः बढ्ने विश्वास छ ।


१५. किबीको बजार कस्तो छ? किसानले बजारको समस्या भोग्नुपरेको छ कि छैन?
अहिलेसम्म बजारको खासै समस्या देखेको छैन। अन्य धेरै फलफूल तथा तरकारीभन्दा किबीको माग र मूल्य केही फरक छ। उपभोक्ताले खोजी गर्ने गरेका छन्। हामीले बजारबाट किन्दा प्रतिकेजी करिब ५०० रुपैयाँसम्म पर्ने अवस्था छ भने किसानले उत्पादनअनुसार करिब ३५० रुपैयाँसम्ममा बिक्री गर्न सक्ने अवस्था छ। बजारको माग राम्रो भएकाले व्यावसायिक उत्पादन गर्न सकियो भने सम्भावना छ।
१६. किबीमा किसानका लागि के–कस्ता विशेषता देख्नुहुन्छ?
किबी बहुवर्षीय बाली हो। हरेक वर्ष नयाँ बाली लगाउनुपर्ने हुँदैन। एकपटक संरचना र बोट व्यवस्थित गरेपछि धेरै वर्षसम्म उत्पादन लिन सकिन्छ। त्यसैले दीर्घकालीन रूपमा सोचेर खेती गर्ने किसानका लागि यो राम्रो विकल्प हुन सक्छ। साथै भिरालो जमिनमा समेत राम्रोसँग उत्पादन गर्न सकिने भएकाले पहाडी क्षेत्रमा यसको सम्भावना छ।
१७. किबी खेती गर्दा मुख्य चुनौती के रहेछ?
किबीलाई अरू बालीजस्तो सामान्य रूपमा हेर्न हुँदैन। पानी जम्न दिनु हुँदैन। धेरै पानी भयो भने जरामा समस्या आउन सक्छ। वर्षायाममा पानीको निकास राम्रो हुनुपर्छ। समय–समयमा हाँगा काट्ने, बोटलाई व्यवस्थित गर्ने र आवश्यक स्याहार गर्नुपर्छ। सही व्यवस्थापन गर्न सकियो भने राम्रो उत्पादन लिन सकिन्छ।

१८. किबीको बोटमा रोग–कीराको समस्या कत्तिको हुन्छ?
अन्य धेरै बालीको तुलनामा खासै जटिल समस्या देखेको छैन। तर पानी बढी हुँदा जरा कुहिने समस्या आउन सक्छ। त्यसैले पानीको निकास महत्वपूर्ण छ। किबी पतझर प्रकृतिको बाली भएकाले यसको व्यवस्थापन र हाँगाको छँटाइमा पनि ध्यान दिनुपर्छ।
१९. किबी खेतीमा एउटा विशेष कुरा भाले र पोथी बोटको पनि हुन्छ भन्ने सुनिन्छ। के हो त्यो?
हो, यो किबी खेतीको महत्वपूर्ण पक्ष हो। किबीमा एउटा बोट मात्र रोपेर उत्पादन हुँदैन। भाले र पोथी बोटको उचित अनुपातमा व्यवस्थापन गरी परागसेचन हुने वातावरण बनाउनुपर्छ। भाले बोटमा पनि पोथी बोटको हाँगा ल्याएर कलमी गर्ने प्रविधि प्रयोग गर्न सकिन्छ। यसरी व्यवस्थापन गर्न सके उत्पादन राम्रो लिन सकिन्छ।
२०. तपाईं आफैँ किबीका बेर्ना पनि उत्पादन गर्नुहुन्छ?
हो। कलमी प्रविधिबाट किबीका बेर्ना तयार गरेर बिक्री गर्ने गरेको छु। यसबाट पनि अतिरिक्त आम्दानी हुन्छ। आफैँले बेर्ना उत्पादन गर्दा खेती विस्तार गर्न पनि सहज हुन्छ र अरू किसानलाई पनि बिरुवा उपलब्ध गराउन सकिन्छ।
२१. किबीका अलावा तपाईंले लामो समयदेखि विभिन्न तरकारी तथा फलफूल खेती गर्नुभएको छ। किसान बन्न चाहनेलाई तपाईंको अनुभव के छ?
कृषिमा एउटै कुरा महत्वपूर्ण छ, मेहनत, धैर्य र निरन्तरता । काउली, बन्दा, काँक्रो, फर्सी, घिरौंला, सुन्तला, जुनार, अलैंची, मकैदेखि किबीसम्म मैले विभिन्न बालीसँग काम गरेको छु। हरेक बालीको आफ्नै प्रकृति हुन्छ। त्यसलाई बुझेर काम गर्नुपर्छ।
२२. आजको पुस्ता रोजगारीका लागि विदेश जान बाध्य भइरहेको छ। तपाईं के भन्न चाहनुहुन्छ?
हामीमा धैर्य गर्ने आँट कम हुँदै गएको छ। अरूले गरेको देख्नेबित्तिकै आफूले पनि छिटो परिणाम खोज्छौँ। तर कृषिमा आज लगानी गरेर भोलि नै ठूलो आम्दानी हुन्छ भन्ने हुँदैन। आजको लगानीले भविष्यमा उत्पादन दिने गरी सोच्नुपर्छ। स्वदेशमै अवसर छैन भन्ने होइन। जमिन, सीप, प्रविधि र बजारलाई सही ढंगले जोड्न सकियो भने कृषि आफैँमा राम्रो व्यवसाय बन्न सक्छ। त्यसैले युवाले विदेश जानुअघि स्वदेशमै उपलब्ध सम्भावनालाई पनि एकपटक गम्भीर भएर हेर्नुपर्छ भन्ने मेरो आग्रह छ।
२३. किसानलाई राज्यले के गर्नुपर्छ जस्तो लाग्छ?
किसानलाई भाषणभन्दा व्यवहारिक सहयोग चाहिन्छ। सहुलियतपूर्ण ऋण सहज रूपमा उपलब्ध हुनुपर्छ। कृषि बीमा, विपद्बाट भएको क्षतिको वास्तविक मूल्यांकन र उचित क्षतिपूर्ति हुनुपर्छ। उत्पादनको बजार सुनिश्चित गर्नुपर्छ। किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य पाए मात्र कृषि पेशा टिकाउ हुन्छ।


२४. बैंक तथा वित्तीय संस्थाबाट किसानले ऋण पाउन कठिन हुन्छ भन्ने गुनासो सुनिन्छ। तपाईंको अनुभव के छ?
कृषि गर्न चाहने वास्तविक किसानलाई आवश्यक ऋण र लगानीको वातावरण बनाइदिनुपर्छ। किसानसँग जग्गा र उत्पादन गर्ने क्षमता भए पनि कागजी प्रक्रिया र अन्य कारणले ऋण पाउन कठिन हुने अवस्था हुनु हुँदैन। वास्तविक किसानसम्म कृषि कर्जा पुग्न सके कृषि क्षेत्रमा ठूलो परिवर्तन आउन सक्छ ।
२५. किबी खेती गर्न चाहने नयाँ किसानलाई तपाईं के सुझाव दिनुहुन्छ?
पहिले आफ्नो ठाउँ किबीका लागि उपयुक्त छ कि छैन भनेर बुझ्नुपर्छ। माटो, हावापानी, पानीको निकास, बजारलगायत विषयमा जानकारी लिनुपर्छ। अनुभवी किसान र कृषि प्राविधिकसँग सल्लाह गरेर सुरु गर्नुपर्छ। अनि एकपटक लगाएपछि नियमित स्याहार गर्नुपर्छ। किबीमा पनि ‘रोप्यो अनि छाड्यो’ भन्ने हुँदैन। सबैभन्दा महत्वपूर्ण कुरा—हत्तपत्त नाफा खोज्नु हुँदैन। सुरुवाती लगानी र केही वर्षको प्रतीक्षालाई स्वीकार गरेर अघि बढ्नुपर्छ।
२६. अन्त्यमा, तपाईंको कृषि यात्राबाट देशका किसान र युवालाई के सन्देश दिन चाहनुहुन्छ?
नेपालमा अवसर छैन भनेर निराश हुनुपर्ने अवस्था छैन। अवसर खोज्नुपर्छ, सिर्जना गर्नुपर्छ। कृषि क्षेत्रमा सम्भावना धेरै छ। तर सफल हुन मेहनतसँगै धैर्यता चाहिन्छ। अरूले गरेको देखेर तुरुन्तै त्यही काम सुरु गर्नेभन्दा आफ्नो ठाउँ, आफ्नो क्षमता र बजार हेरेर काम गर्नुपर्छ। आज गरेको मेहनत र लगानीले भोलिको परिणाम दिन्छ। त्यसैले स्वदेशमै केही गर्न चाहने युवाले कृषि पेशालाई पनि सम्मानित र सम्भावनायुक्त व्यवसायका रूपमा हेर्नुपर्छ।
२७. अन्ततः, कुराकानीका लागि समय दिनुभयो, धन्यवाद।
यहाँलाई पनि धेरै–धेरै धन्यवाद। आफ्ना अनुभव अरूसँग बाँड्न पाउँदा खुसी लाग्यो। किसानका कुरा बाहिर ल्याउने काम गरिदिनुभएकोमा धन्यवाद।कालाेटाेपी डटकम

उहाँसँग गरिएकाे भिडियाे कुराकानीका लागि यहाँ क्लिक गर्नुहाेला ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १९, शुक्रबार २०:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP