ज्ञानमणि नेपाल कालोटोपी
नुवाकाेट । नेपालमा भदौ १० गते आएको विनाशकारी बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्यायो । बाढी र पहिरोले सयौँ परिवार विस्थापित भए, कतिपयले आफ्ना घरबार गुमाए । विपत्तिको यो पीडामा नेपालभित्रबाट मात्रै होइन, हजारौँ किलोमिटर टाढा रहेका नेपाली तथा नेपालसँग भावनात्मक सम्बन्ध गाँसेका विदेशी नागरिकसमेत सहयोगका लागि जुटे । फ्रान्सको प्राहेकबाट सुरु भएको एउटा मानवीय अभियान अहिले नुवाकोट, धादिङ र रसुवाका बाढी प्रभावित बस्तीमा पुगेको छ । संकटमा परेका नेपालीका लागि त्यहाँबाट आर्थिक सहयोग जुट्यो, चिकित्सक र स्वास्थ्यकर्मीको टोली बन्यो र राहत सामग्री बोकेर स्वयंसेवकहरू प्रभावित बस्तीमा पुगे । यस अभियानको एउटा महत्वपूर्ण कडी हुन्—कान्छीमाया तामाङ फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर थोकर तामाङ ।
प्राहेकबाट आयो ५ हजार युरो, नेपालमा बन्यो राहतको टोली
नेपालमा आएको विपत्तिको खबरले फ्रान्सको प्राहेकमा आधारित Solidarity Association Corps Coeur Esprit (Body Heart Mind) का संस्थापक डिडियरले स्टिरलाई गहिरो रूपमा छोयो । नेपालसँग लामो समयदेखिको सम्बन्ध रहेकाले स्टिरले तत्काल आपत्कालीन राहतका लागि आफ्नै संस्थाको कोष तथा प्राप्त प्रारम्भिक सहयोगबाट ५ हजार युरो नेपाल पठाउने निर्णय गरे । नेपालमा उक्त रकम डा. दिलबहादुर थोकर तामाङले परिचालन गरे । त्यसबाट पाँच जना डाक्टर, तीन जना नर्स, सात जना विद्यार्थी तथा जीप र ट्रक चालकसहितको टोली तयार भयो । राहत सामग्री लिएर टोली प्रभावित क्षेत्रमा पुग्यो ।
पहिलाे चरणमा टोलीले ३० बोरा अर्थात् करिब १.२ टन चामल, सिमी, तेल, नुन, बिस्कुटलगायत खाद्यान्नसँगै बोतलका पानी, औषधि, सरसफाइ सामग्री, कपडा, कम्बललगायतका सामग्री प्रभावित परिवारसम्म पुर्याएको छ । विपद्का बेला राहतको एउटा बोरा पनि पीडित परिवारका लागि ठूलो भरोसा बन्न सक्छ । यही भावनाका साथ फ्रान्सदेखि नेपालसम्म सहयोगको यो हात फैलिएको हो ।
गुम्बादेखि अस्पतालसम्म पीडितका लागि खुला ढोका
राहत टोली नुवाकोटतर्फ पुग्यो । काठमाडौँबाट करिब ८० किलोमिटर टाढा त्रिशूली नदीको किनारमा रहेको नुवाकोटको प्रभावित क्षेत्रमा राहत र स्वास्थ्य सेवा पुर्याउने काम सुरु भयो । त्यहाँ पुरानो सात तले भवनमा रहेको सानो अस्पतालसँगै एउटा गुम्बा पनि छ । यही गुम्बासँग डिडियरले स्टिरको सम्बन्ध सन् २०१५ को भूकम्पपछि जोडिएको थियो । त्यतिबेला गुम्बामा करिब ३०० जना विस्थापितले आश्रय पाएका थिए ।
अहिले फेरि विपत्तिले त्यही क्षेत्रमा पीडा थपेको छ । गुम्बाका भिक्षुहरूले आफ्ना नियमित ध्यान तथा धार्मिक गतिविधिसमेत स्थगित गरेर विपद्का पीडितको सेवामा आफूलाई समर्पित गरेका छन् । घरबार गुमाएका र आश्रयको खोजीमा रहेका नागरिकका लागि गुम्बा आश्रयस्थल बनेको छ । डिडियरले स्टिर पनि केही दिनमै नेपाल आएर डा. दिलबहादुरको नेतृत्वमा सञ्चालन भइरहेका राहत तथा स्वास्थ्य सेवामा प्रत्यक्ष सहभागी हुने तयारीमा छन् ।

राहतसँगै निःशुल्क स्वास्थ्य सेवा
डा. दिलबहादुरको टोलीले राहत वितरणमा मात्रै आफूलाई सीमित गरेको छैन । बाढी प्रभावित नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिरहेको छ । शुक्रबार नुवाकोट जिल्ला, विदुर नगरपालिका–३, शिरखालीमा राहत वितरणसँगै निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदैछ । शिविरमा बाढी प्रभावित परिवारको स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक औषधि उपलब्ध गराइनेछ । त्यसअघि टोलीले धादिङको बैरिनी अस्पताल पुगेर अस्पतालमा आवश्यक मेडिकल मेसिन तथा स्वास्थ्य सामग्रीका विषयमा चिकित्सकहरूसँग छलफल गरिसकेको छ । बाढी र पहिरोबाट क्षति भएका घर तथा संरचना सफा गर्न साबेल, ठेलागाडालगायतका सामग्रीको आवश्यकता पनि टोलीले पहिचान गरेको छ ।

बेलकोटगढीका ५० परिवारलाई राहत
राहत अभियान अन्तर्गत बेलकोटगढी नगरपालिका–८ का ५० बाढीपीडित परिवारलाई खाद्यान्न, राहत सामग्री तथा कम्बल वितरण गरिएको छ । बेलकोटगढी नगरपालिकाका नगरप्रमुखको उपस्थितिमा गरिएको उक्त वितरणसँगै राहत अभियानले औपचारिक गति लिएको हो । कान्छीमाया तामाङ फाउण्डेशन र Tamang Doctors Society को संयुक्त आयोजनामा तथा बेलकोटगढी नगरपालिकाको सहयोगमा वडा नम्बर ८ को बाढी प्रभावित समुदायका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ । यस अभियानमा विभिन्न दातृ व्यक्ति, संस्था, स्वयंसेवक तथा शुभेच्छुकहरूले निरन्तर सहयोग गरिरहेका छन् ।
एउटा टोली नुवाकोटमा, अर्को रसुवामा
डा. दिलबहादुरको टोली अहिले दुई दिशामा सक्रिय छ । एउटा टोली नुवाकोटतर्फ स्वास्थ्य शिविर तथा राहत वितरणमा जुटिरहेको छ भने अर्को टोली रसुवातर्फ पुगेको छ । रसुवामा करिब २०० घरपरिवारलाई मोबाइलसमेत चार्ज गर्न मिल्ने सोलार टर्च वितरण गरिएको छ । बाढी र पहिरोपछि विद्युत् तथा सञ्चारमा समस्या भोगिरहेका प्रभावित परिवारका लागि यस्ता सामग्री दैनिक जीवनमा निकै उपयोगी बनेका छन् । दाल, चामल, बिस्कुट, चाउचाउ, चिउरा लगायतका खाद्यान्न सामग्री वितरणदेखि स्वास्थ्य परीक्षण र औषधि सेवासम्म टोलीले निरन्तर काम गरिरहेको छ ।

विपत्तिको खबर सुनेदेखि बेचैन थिए डा. दिलबहादुर
विपत्तिको खबर सुनेपछि डा. दिलबहादुर थोकर तामाङका लागि चुपचाप बस्नु सहज थिएन । बाढी र पहिरोले नागरिकको घरबार बगाएको खबर सुनेदेखि नै उनी प्रभावित क्षेत्रमा पुगेर पीडितको दुःखमा मलम लगाउने छटपटीमा थिए । रातभर नसुती कसरी छिटोभन्दा छिटो राहत लिएर प्रभावित बस्तीमा पुग्ने भन्ने विषयमा उनी आफ्नो टोलीसँग छलफल गरिरहे । त्यसपछि आफ्नै टोलीसँग समन्वय गर्दै उनी रसुवा, नुवाकोट, धादिङलगायतका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुगे । करिब एक सातादेखि उनी र उनको टोली प्रभावित नागरिककै बीचमा छन् ।
यो पहिलोपटक भने होइन । विपद्मा नागरिकको घरदैलोमा पुग्ने उनको टोलीको आफ्नै इतिहास छ । कान्छीमाया तामाङ सामुदायिक अस्पतालमार्फत रामेछाप, काभ्रे, दोलखा, नुवाकोटलगायतका जिल्लामा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउँदै आएको टोली अहिले पनि विपद्मा परेका नागरिकको सेवामा खटिएको छ ।

‘दिल’ भएको डाक्टर
नाम दिलबहादुर, काम पनि त्यस्तै—पीडितको दुःखमा पुगेर सेवा गर्ने । विपद्को समयमा कतिपयका लागि सहयोग भनेको रकम वा राहत सामग्री हुन सक्छ । तर डा. दिलबहादुरका लागि सेवा भनेको पीडितको घरदैलोमै पुग्नु हो । औषधि बोकेर बिरामीसम्म पुग्नु हो । भोकाएकालाई खाद्यान्न दिनु हो । अँध्यारोमा बसेकालाई सोलार टर्च दिनु हो । र, सबैभन्दा महत्वपूर्ण—‘तपाईंहरू एक्लै हुनुहुन्न’ भन्ने भरोसा दिलाउनु हो ।
फ्रान्सको प्राहेकबाट आएको ५ हजार युरोको सहयोग नेपालमा राहत सामग्री र स्वास्थ्य सेवामा परिणत भएको छ । पाँच डाक्टर, तीन नर्स, सात विद्यार्थी र चालकसहितको टोली प्रभावित बस्तीमा पुगेको छ । स्थानीय तह, चिकित्सक, स्वयंसेवक, दाता र विभिन्न संस्थाको सहकार्यले यो अभियानलाई थप बल दिएको छ । विपत्तिले भौगोलिक दूरी देखाउँदैन । पीडा जहाँ हुन्छ, मानवीयता त्यहाँ पुग्न सक्छ भन्ने उदाहरण बनेको छ—प्राहेकदेखि नुवाकोट, धादिङ र रसुवासम्म फैलिएको यो मानवीय अभियान । राहतको एउटा बोरा, स्वास्थ्यकर्मीको एउटा टोली र सेवाको एउटा हातले विपत्तिमा परेका परिवारलाई ठूलो आशा दिन सक्छ । यही आशाको उज्यालो बोकेर डा. दिलबहादुर र उनको टोली अझै प्रभावित बस्तीमै छन् । विपत्तिमा परेकाहरूका लागि उनीहरू भन्छन्—सेवा रोकिँदैन, यात्रा रोकिँदैन । कालाेटाेपी डटकम
प्रतिक्रिया