• २०८३ भाद्र १९ | Fri, 04 Sep 2026

कन्या पूजासँग जाेडिएकाे संस्कृतिः बनेपा-१० को मानडाँडामा पनि पूजिए सयाैँ कन्या

कन्या पूजासँग जाेडिएकाे संस्कृतिः बनेपा-१० को मानडाँडामा पनि पूजिए सयाैँ कन्या

कालाेटाेपी डटकम
बनेपा । श्रीकृष्ण जन्माष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक सहर बनेपामा वर्षौंदेखि निरन्तर हुँदै आएको प्रसिद्ध कन्या पूजा आज पनि भइरहेकाे छ । सनातन कन्या पूजा प्रबन्ध समितिको आयोजनामा बनेपाका विभिन्न ठाउँहरूमा कन्या पूजा भइरहेको हो । आज बिहानैदेखि बनेपाको मानडाँडामा पनि कन्या पूजा भइरहेकाे छ । श्री कन्या पूजा मुल समारोह समिति, बनेपा-१० को आयोजनामा यहाँ भएकाे कन्या पूजामा करिब एक हजार कन्या पूजिएकाे आयोजकले जनाएकाे छ ।

पूजामा सहभागी कन्याहरूलाई विभिन्न स्थानमा व्यवस्थित रूपमा राखी भक्तजनमार्फत पूजा तथा प्रसाद वितरण गरिने गरिन्छ । बनेपाको कन्या पूजा नेपालको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परामध्ये एक महत्वपूर्ण परम्पराका रूपमा लिइन्छ । यो परम्परा वि.सं. १९५९ देखि निरन्तर सञ्चालन हुँदै आएको हो ।

पछिल्लो समय यसमा हजारौँ कन्याहरू सहभागी हुँदै आएका छन् । कन्या पूजामा सामान्यतः रजस्वला नभएका तथा १० वर्षमुनिका कन्याहरूलाई देवीस्वरूप मानेर पूजा गर्ने परम्परा छ । बनेपामा हुने यो पूजामा काभ्रेपलाञ्चोकका विभिन्न स्थानसँगै छिमेकी जिल्लाबाट समेत कन्याहरू सहभागी हुने गरेका छन् । विगतका वर्षमा करिब ७ हजारदेखि ८ हजारभन्दा बढी कन्या सहभागी भएको विवरण सार्वजनिक भएका छन् । पूजामा सहभागी कन्यालाई भक्तजनले टीका लगाइदिने, शुद्ध तोरीको तेल चढाउने तथा स्वारी, मालपुवा, जेरी, बिस्कुट, छोकडा, काजु, मिठाईलगायतका प्रसाद तथा दक्षिणा प्रदान गर्ने चलन छ । यसका लागि विभिन्न व्यक्ति तथा परिवारले भक्तिभावका साथ दान तथा सहयोग गर्दै आएका छन् ।

सात गाउँदेखि सुरु भएको परम्परा
बनेपाको कन्या पूजाको ऐतिहासिक सम्बन्ध स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको छ । परम्परागत रूपमा बनेपा आसपासका ‘सात गाउँ’ का कन्यालाई पूजा गर्ने गरिएको बताइन्छ । समयक्रमसँगै यो पूजा बनेपाभन्दा बाहिरका क्षेत्रसम्म पनि फैलिँदै गएको छ । समितिका अनुसार सुरुका वर्षमा सीमित संख्यामा कन्यालाई पूजा गरिँदै आए पनि अहिले यसको स्वरूप बृहत् हुँदै गएको छ । कन्यालाई देवीका रूपमा सम्मान गर्ने र उनीहरूको सुख, शान्ति, समृद्धि तथा स्वास्थ्यको कामना गर्ने धार्मिक विश्वासका आधारमा यो परम्परा सञ्चालन हुँदै आएको छ ।

बनेपाको पहिचानसँग जोडिएको सांस्कृतिक सम्पदा
कन्या पूजा धार्मिक आस्थासँग मात्रै नभई बनेपाको सांस्कृतिक पहिचानसँग समेत जोडिएको छ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन बनेपाको पुरानो बजार क्षेत्रमा देखिने हजारौँ कन्या तथा भक्तजनको सहभागिताले स्थानीय बजारलाई विशेष धार्मिक तथा सांस्कृतिक वातावरणमा परिणत गर्ने गरेको छ ।


तस्बीरः देवराज केसी



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १९, शुक्रबार ११:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP