काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा शुभकामना सन्देश दिएका छन् । उनले वर्तमान संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताएका छन् ।
जारी शुभकामना सन्देशमा भनिएकाे छ, “वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ।”
यस अवसरमा उनले गणतन्त्र स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, आन्दोलनमा योगदान पुर्याउने राजनीतिक नेतृत्व, कार्यकर्ता र आम नागरिकलाई सम्मान प्रकट गरेका छन् । राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान दिवसले सबै नेपालीलाई एकजुट हुन प्रेरणा दिने अपेक्षा व्यक्त गरे।
संविधानले हिमाल, पहाड र तराईको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचनालाई समान संरक्षण दिएको उल्लेख गर्दै उनले भने “नेपालीहरूबिच रहेको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने मेरो विश्वास छ ।” राष्ट्रपति पौडेलले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको स्मरण गराउँदै, सबै नागरिकले राज्यका सेवा सुविधामा समान पहुँच पाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया