काठमाडाैँ । नेपाली कांग्रेसले विशेष महाधिवेशनबारे निर्वाचन आयोगले लिएको निर्णयको स्वागत गर्दै लोकतन्त्र र विधानको विजय भएको जनाएको छ । शनिबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले जारी गरेको निर्णयमा यो प्रक्रिया कसैको जित-हार नभई विधि र लोकतान्त्रिक अभ्यासको सफलता भएको उल्लेख छ।
‘निर्वाचन आयोगले नेपाली कांग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ,’ प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो कसैको जित-हार होइन- यो विधान र लोकतन्त्रको विजय हो। यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ।’
बैठकले पार्टीभित्र एकता, सद्भाव र सहकार्यको आवश्यकता औँल्याउँदै देश-विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समिति तथा भातृ एवं शुभेच्छुक संस्थालाई फागुन २१ गते हुने निर्वाचनमा नवीन ऊर्जा र पूर्ण एकताका साथ सक्रियरूपमा सहभागी हुन आह्वान गरेको छ।
यस्ता छन् ६ निर्णय
१ . निर्वाचन आयोगले नेपाली कांग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित-हार होइन- यो विधान र लोकतन्त्रको विजय हो। यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ।
२. यो समय एकता, सद्भाव र सहकार्यको समय हो। देश–विदेशमा रहेका सबै कांग्रेसजन, सवै तहका समितिहरू र सबै भातृ तथा शुभेच्छुक सस्थाका साथीहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा सशक्तरूपमा सहभागी हुन हार्दिक आह्वान गरिन्छ।
३. विभिन्न कारणले पार्टीबाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सवै साथीहरूलाई पार्टीमा पुनः जोडिन यो वैठक हार्दिकतापूर्वक आह्वान गर्दछ।
४. यतिबेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली कांग्रेसको नेतृत्वमा रहि लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ। यो बैठकले श्रद्धेय नेताको अभिभावकीय भूमिका प्राप्त हुने विश्वास राख्दछ।
५. नेपाली कांग्रेस आम नेपाली नागरिकप्रति आफ्नो अटल प्रतिबद्धता पुनः दोहाेर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुनेछैन । हामी सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौँ। संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्नेछौँ। नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौँ।
६. यो नयाँ अध्याय हो-रुपान्तरणको, एकताको, विजयको।
सवैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ।
जय नेपाल
देवराज चालिसे
प्रवक्ता
नेपाली कांग्रेस
प्रतिक्रिया