काठमाडौँ । चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक गरिएको छ। दशैँको फूलपातीमा रिलिज गर्ने तयारीमा रहेको यस चलचित्रको ट्रेलर आज सार्वजनिक भएको हो।
दिपेन्द्र के खनालले निर्देशन गरेकाे चलचित्रको ट्रेलरले कमेडी भावलाई प्रस्तुत गर्दै अहिलेको समसामयिक राजनीतिक बिषयलाई व्यङ्ग्य गरेकाे छ। हरिवंश आचार्य चलचित्रमा हरिबहादुर पात्रमा प्रस्तुत भएका छन् ।
नेपाली टेलिभिजनको पर्दामा सर्वाधिक सफल यो पात्रको जीवनमा आएका उतारचढावको कथालाई चलचित्रको ट्रेलरमा समावेश गरिएको छ। चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्णबहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिन्छ।
प्रतिक्रिया