बनेपा । बनेपा नगरपालिका–१०, जनागाल निवासी तथा विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाकी शेयर सदस्य मञ्जु तिमल्सिनाले पुष्प व्यवसायमार्फत सफल उद्यमीको परिचय स्थापित गर्नुभएको छ ।
उहाँले करिब २० वर्षअघि ४ लाख रुपैयाँ लगानीबाट सुरु गर्नुभएको पुष्प व्यवसायलाई विस्तार गर्दै आज एक करोड रुपैयाँभन्दा बढीको लगानी भएको व्यवसायमा रूपान्तरण गर्न सफल हुनुभएको छ । परिवारको निरन्तर साथ, मिहेनत र व्यवसायप्रतिको समर्पण नै उहाँको सफलताको आधार बनेको छ ।
हाल उहाँले बनेपाको रेशममार्गमा नर्सरी तथा चाँदनी चोकमा फूल बिक्री केन्द्र (आउटलेट) सञ्चालन गर्दै आउनुभएको छ। उहाँको नर्सरीमा उत्पादन हुने विभिन्न रङ्गका कार्नेसन फूल नेपाली बजारमा विशेष लोकप्रिय छन् । गुणस्तरीय उत्पादन र ग्राहकको विश्वासका कारण उहाँको व्यवसायले निरन्तर सफलता हासिल गर्दै आएको छ ।
स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्दै पुष्प खेती र व्यवसायलाई प्रवर्द्धन गर्न उहाँले पुर्याउनुभएको योगदान प्रशंसनीय रहेको छ। उहाँको सफलताले अन्य महिलाहरू तथा नयाँ उद्यमीहरूलाई पनि व्यवसायिक क्षेत्रमा अघि बढ्न प्रेरणा प्रदान गरेको छ । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले सहयाेग गरेका कारण आफ्नो व्यवसाय सफल भएको उहाँले जानकारी दिनुभयाे ।

तस्बीरहरूः राजेन्द्र श्रेष्ठ
प्रतिक्रिया