काभ्रे । गत भदाै १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति बेहोरेका रसुवा, नुवाकोट र धादिङका बाढीपीडितहरूको राहत तथा उद्धारका लागि निजी तथा आवासीय विद्यालयहरूको छाता संस्था प्याब्सन काभ्रेले ठूलाे सहयोग गरेको छ । प्याब्सन काभ्रेमा आबद्ध जिल्लाभरका विद्यालयमध्ये ७४ सदस्य विद्यालयबाट संकलित ३६ लाख ३६ हजार ४२४ रुपैयाँ बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
विपद्को कठिन समयमा पीडितहरूको साथमा उभिँदै गरिएको यो सहयोगले निजी तथा आवासीय विद्यालय क्षेत्रको सामाजिक उत्तरदायित्व, एकता, सहकार्य र मानवीय भावनालाई थप उजागर गरेको बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्टले बताउनुभयाे । प्याब्सन काभ्रेका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका प्याब्सन इकाइ तथा सदस्य विद्यालयहरूबाट निम्नानुसार रकम संकलन गरिएको थियो—
क्र.सं. प्याब्सन इकाइ सहयोग रकम
१. प्याब्सन बनेपा रु. १७,५७,२३५
२. प्याब्सन पनौती रु. ११,२४,०३३
३. प्याब्सन पाँचखाल रु. २,९५,४८४
४. प्याब्सन धुलिखेल रु. २,८०,६६६
५. प्याब्सन मण्डनदेउपुर रु. १,३८,४०१
६. प्याब्सन नमोबुद्ध रु. २०,०००
७. प्याब्सन रोशी रु. १५,०५०
८. प्याब्सन भुम्लु रु. ५,५५५
जम्मा
रु. ३६,३६,४२४
संकलित सहयोग रकम प्याब्सन केन्द्रमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो । केन्द्रीय प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा प्याब्सन केन्द्रमा आयोजित कार्यक्रममा उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रममा केन्द्रीय सह–अध्यक्ष गोपालप्रसाद आचार्य, वरिष्ठ उपाध्यक्ष दिपिका रिमाल थापा, उपाध्यक्षद्वय आशिष श्रेष्ठ र सन्तोषमणि न्यौपाने, महासचिव आर.बी. कटवाल, कोषाध्यक्ष गणेशबाबु पोखरेल, उप–महासचिव भिमसेन के.सी., केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपाल, केन्द्रीय परिषद् सदस्य रबि श्रेष्ठलगायत केन्द्रीय पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलसहित जिल्लाका पदाधिकारी तथा सदस्यहरूले संयुक्त रूपमा सहयोग रकम हस्तान्तरण गर्नुभएकाे थियाे । विपद्का बेला पीडितहरूको साथमा उभिनु नै मानवताको सच्चा परिचय भएको उल्लेख गर्दै प्याब्सन काभ्रेले यस मानवीय अभियानमा सहयोग र योगदान गर्ने सम्पूर्ण ७४ सदस्य विद्यालय, विद्यालय परिवार, स्थानीय प्याब्सन इकाइ तथा सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
विपद्को समयमा देखिएको एकता, सहकार्य र मानवीय सहयोगको भावना आगामी दिनमा पनि निरन्तर कायम रहने प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले बताउनुभयाे । साथै, प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सबै क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयाे । विपद् कसैको व्यक्तिगत समस्या मात्र होइन, सम्पूर्ण समाजको साझा चुनौती हो । त्यसैले संकटमा परेकाहरूको साथमा उभिनु सामाजिक दायित्व मात्र नभई मानवीय कर्तव्य पनि हो भन्ने सन्देश प्याब्सन काभ्रेको यो सहयोगले दिएको छ ।-कालाेटाेपी डटकम
प्रतिक्रिया