• २०८३ भाद्र २५ | Thu, 10 Sep 2026

मुस्ताङमा मंगलबार गएकाे भूकम्पबाट ६७ घर तथा संरचनामा आंशिक क्षति

मुस्ताङमा मंगलबार गएकाे भूकम्पबाट ६७ घर तथा संरचनामा आंशिक क्षति

मुस्ताङ । मुस्ताङ केन्द्रबिन्दु भएर मंगलबार राति गएको ५.३ म्याग्निच्युडको भूकम्पका कारण लोमान्थाङ गाउँपालिकाका विभिन्न बस्तीमा ६७ वटा घर तथा संरचनामा आंशिक क्षति पुगेको छ । भूकम्पबाट हालसम्म मानवीय क्षति भएको विवरण भने प्राप्त भएको छैन ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मंगलबार राति करिब ९ः५३ बजे भूकम्पको धक्का महसुस भएपछि जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट स्थानीय बस्तीको अवस्थाबारे जानकारी लिन प्रहरी टोली परिचालन गरिएको थियो । स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणअनुसार लोमान्थाङ गाउँपालिका–३ अन्तर्गत ठिङगरमा २५ वटा, फुवामा २६ वटा, नाम्गेलमा १२ वटा र वडा नम्बर ४ अन्तर्गत किम्लिङमा चारवटा घर तथा संरचनामा चर्किने लगायतका क्षति पुगेको छ ।

नाम्गेलमा क्षति पुगेका १२ संरचनामध्ये चारवटा गुम्बाका भवन र आठवटा घर रहेका छन् । आठ घरमध्ये पाँचवटा घरमा मानिस बसोबास नगर्ने प्रहरीको विवरणमा उल्लेख छ । यस आधारमा प्रारम्भिक रूपमा ‘६७ घरमा क्षति’ भनिए पनि क्षतिग्रस्त संरचनामा गुम्बाका भवनसमेत समावेश रहेकाले कुल संख्या घर मात्र हो वा घर तथा अन्य संरचना समेतको हो भन्ने विवरण थप स्पष्ट हुन बाँकी रहेको छ ।

भौगोलिक रूपमा विकट क्षेत्र तथा सञ्चार साधनको असुविधाका कारण क्षतिको थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा खटिएका प्रहरी टोलीले क्षतिको थप विवरण संकलन गरिरहेको र स्थानीय जनप्रतिनिधिसँग समेत निरन्तर समन्वय भइरहेको छ । भूकम्पपछि स्थानीय बासिन्दामा त्रासको अवस्था सिर्जना भए पनि ठूलो मानवीय क्षति नभएको प्रारम्भिक विवरणले देखाएको छ ।

प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै घटनास्थलको अवस्थाबारे थप जानकारी संकलन गर्ने कार्य जारी राखेको जनाएको छ । भूकम्पको विस्तृत क्षति तथा अन्य विवरण स्थलगत निरीक्षण र थप सूचनापछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २५, बिहीबार ०७:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP