• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

सुनिता फाउण्डेशनद्वारा मेलम्चीमा जनचेतनामुलक कार्यक्रम

सुनिता फाउण्डेशनद्वारा मेलम्चीमा जनचेतनामुलक कार्यक्रम

सिन्धुपाल्चोक । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रम अधिकार तथा मानव बेचबिखनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुनिता फाउण्डेशनद्वारा सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका–४, थकनी, बसेरीमा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य समुदायका व्यक्तिहरूलाई श्रम अधिकार, सुरक्षित वैदेशिक रोजगारी, मानव बेचबिखनका जोखिम तथा त्यसबाट बच्ने उपायबारे सचेत गराउनु रहेको थियो । कार्यक्रममा श्रमिकका आधारभूत अधिकार, वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगी तथा शोषणबाट जोगिने उपाय, मानव बेचबिखनको परिभाषा र बदलिँदो स्वरूपबारे विस्तृत छलफल गरिएको थियो ।

साथै लैङ्गिक असमानता, विभेद, हिंसा तथा यस्ता समस्याले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सिर्जना गर्ने मानव बेचबिखनका जोखिमहरूबारे पनि जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न समूहमा आबद्ध महिला, पुरुष, युवा, विद्यालयमा अध्ययनरत बालबालिका, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका तथा किशोरकिशोरीहरूको समावेशी तथा अर्थपूर्ण सहभागिता रहेको थियो ।

समुदायमा मानव बेचबिखनविरुद्ध यस्ता छलफल कार्यक्रम कम हुने भएकाले सहभागीहरूले विषयप्रति विशेष चासोका साथ उपस्थिती जनाएको बताएका थिए । सहभागीहरूले कार्यक्रममार्फत धेरै नयाँ जानकारी तथा सिकाइ प्राप्त भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने अपेक्षा व्यक्त गरेका थिए ।

मानव बेचबिखनविरुद्ध सञ्चालित उक्त कार्यक्रमको सहजीकरण परियोजना अधिकृत संगिता नेपालीले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूलाई कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गर्दै सुरक्षित, सचेत र मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै एकजुट हुन आह्वान गरिएको थियो ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ६, बुधबार १८:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP