ज्ञानमणि नेपाल कालाेटाेपी
काभ्रे । मण्डनदेउपुर नगरपालिकाले नगरभित्रका विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेका प्रतिभाहरूलाई सम्मान गर्नुका साथै उमेर हदका कारण सेवा निवृत्त भएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानजनक बिदाइ गरेको छ ।नगरपालिकाको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा डकुमेन्ट्री फिल्म निर्माता अनुप पौडेलको टिमले निर्माण गरेको ‘तिनीहरू’ (The Elephants in the Fog) ले सन् २०२६ मा प्राप्त गरेको अन्तर्राष्ट्रिय जुरी पुरस्कारका लागि निर्माता पौडेललाई सम्मान गरिएको थियो । याे नेपाली चलचित्र क्षेत्रमा जुरी पुरस्कार प्राप्त गर्ने पहिलो चलचित्र भएको जनाइएको छ ।
त्यसैगरी विभिन्न खेल विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक हासिल गरेका नगरका खेलाडीहरूलाई समेत सम्मान गरिएको छ । विश्व कम्पो च्याम्पियनसिपमा २ रजत र २ कास्य पदक विजेता अञ्जना शाही, TVS एयर रेस च्याम्पियनसिप २०२६ का स्वर्णपदक विजेता दिलीप दनुवार, प्रथम दक्षिण एसियाली खेलकुद २०२३ का रजत पदक विजेता श्रीजल श्रेष्ठ, सुटिङ खेलको एयर राइफल विधामा कास्य पदक विजेता सुस्मिता नेपाल, राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत बक्सिङ ८६ केजी तौल समूहका स्वर्णपदक विजेता तथा एसियाली खेलकुदमा सहभागी रविन नेपाललगायतलाई सम्मान गरिएको हो ।
नगरपालिकाले स्थापना भएपश्चात ६० वर्ष उमेर हदका कारण आर्थिक वर्ष २०८१/०८२ सम्म सेवा निवृत्त भएका २१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई जनही ३० हजार रुपैयाँसहित सम्मानजनक बिदाइ गरेको छ । सेवा निवृत्त भएका उहाँहरूलाई यसअघि गत वर्ष जनही २० हजार रुपैयाँ प्रदान गरिएको थियो । यस्तै, गत वर्ष सेवा निवृत्त भएका थप ४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मानजनक बिदाइ गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक घिमिरेले जानकारी दिनुभयाे ।
कार्यक्रममा नगर प्रमुख टोकबहादुर वाइवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नगरको नाम चिनाउने प्रतिभाहरू नगरपालिकाका गहना भएको बताउनुभयो । उहाँले नगरभित्र लुकेर रहेका प्रतिभाको पहिचान गरी उनीहरूलाई प्रोत्साहन गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा पनि प्रतिभा सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो । नगर प्रमुख वाइवाले महिला स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै उनीहरूको सेवाप्रति सम्मान व्यक्त गर्नुभयो ।

नगर उपप्रमुख विष्णुमणि नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न विधामा अवार्ड तथा पदक प्राप्त गर्ने प्रतिभाशाली व्यक्तित्वहरू मण्डनदेउपुरमा अझै धेरै हुन सक्ने बताउनुभयो । त्यस्ता प्रतिभाको खोजी गरी उनीहरूको क्षमता र प्रतिभालाई उजागर गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । उपप्रमुख नेपालले महिला स्वास्थ्य स्वयंसेविकाहरूले नगरवासीको स्वास्थ्य सेवामा पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको योगदानको तुलनामा नगरपालिकाले गरेको सम्मान अझै थोरै भएको बताउनुभयो ।

कार्यक्रममा सम्मानित डकुमेन्ट्री फिल्म निर्माता अनुप पौडेल र खेलाडी अञ्जना शाहीले आफ्नै नगरपालिकाबाट सम्मानित हुन पाउँदा खुसी लागेको बताउँदै आफूहरूले गरेको कामको उच्च मूल्याङ्कन गरेकोमा नगरपालिका परिवारप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख टोकबहादुर वाइवाले गर्नुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख विष्णुमणि नेपाल, प्रमुख प्रशासकीय अधिकृत अमृत धिताल, विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मी, फिल्म निर्माता, खेलाडी तथा नगरपालिकाका कर्मचारीहरूको उपस्थिति थियो । कार्यक्रममा सामाजिक समितिका संयोजक एवं वडा नं. ८ का वडाध्यक्ष निरञ्जन विष्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगर प्रवक्ता पुरुषोत्तम बजगाईंले गर्नुभएको थियो ।

प्रतिक्रिया