ज्ञानमणि नेपाल कालाेटाेपी
काभ्रे । चलचित्र बनाउने सपना देख्ने धेरै हुन्छन् । तर आफ्नै समाजका कथा बोकेर विश्वका प्रतिष्ठित चलचित्र महोत्सवसम्म पुग्ने यात्रा भने सहज हुँदैन । त्यसका लागि सिर्जनशीलता मात्र पर्याप्त हुँदैन, निरन्तर संघर्ष, जोखिम मोल्ने साहस, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने क्षमता र आफ्नो कथाप्रति दृढ विश्वास पनि आवश्यक पर्छ । काभ्रेको मण्डनदेउपुरबाट चलचित्रको यात्रा सुरु गर्नुभएका अनुप पौडेलको कथा यस्तै संघर्ष र सम्भावनाको कथा हो । कहिल्यै डाक्टर वा इन्जिनियर बन्ने सोच राख्नुभएका उहाँ आज नेपाली चलचित्रलाई विश्वमञ्चसम्म पुर्याउने निर्माताका रूपमा परिचित हुनुहुन्छ ।
उहाँको निर्माणमा बनेको नेपाली चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा पुगेर जुरी च्वाइस अवार्ड प्राप्त गरेपछि अनुप पौडेलको चलचित्र यात्रा थप चर्चामा आएको छ । अहिले यही चलचित्र नेपालका सिनेमा हलमा प्रदर्शन भइरहेको छ । तर कान्ससम्म पुगेको यो सफलता एकैदिनमा प्राप्त भएको होइन । यसको पछाडि वर्षौंको अध्ययन, प्रयोग, असफलता, सहकार्य, लगानी जुटाउने संघर्ष र नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने निरन्तर प्रयास जोडिएको छ ।
आमाको खोजीबाट सुरु हुने कथा
‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ लाई केवल लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको कथा भनेर बुझ्नु यसको भावलाई सीमित गर्नु हुने निर्माता पौडेल बताउनुहुन्छ । चलचित्रको केन्द्रमा पिरती हुनुहुन्छ । उहाँ लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकी महिला हुनुहुन्छ र आफ्नो पहिचान, समुदाय, छोरी तथा आफूले चाहेको जीवनबीच संघर्ष गरिरहनुभएको छ । तर चलचित्रको मूल कथा एउटा आमाले आफ्नी हराएकी छोरीलाई खोज्न गर्ने संघर्षसँग जोडिएको छ । “लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हुनु पिरतीको पहिचानको एउटा महत्वपूर्ण पाटो हो । तर त्यसलाई मात्रै केन्द्र बनाएर चलचित्र बुझ्यौँ भने अन्य पात्र, तिनको जीवन र संघर्ष ओझेलमा पर्न सक्छ,” पौडेल भन्नुहुन्छ । उहाँका अनुसार चलचित्र मूलतः आमा र छोरीबीचको सम्बन्ध, प्रेम, मातृत्व र परिवारको अर्थ खोज्ने कथा हो ।
समाजले निर्माण गरेका सीमाहरू, सम्बन्धका विविध आयाम र मानिसले आफूले चाहेको जीवनका लागि गर्नुपर्ने संघर्षलाई चलचित्रले प्रस्तुत गरेको उहाँ बताउनुहुन्छ । जंगली हात्तीको आतंकबाट प्रभावित एउटा बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको जीवनलाई पृष्ठभूमि बनाइएको चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायत कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रको निर्देशन तथा पटकथा अविनाश विक्रम शाहले गर्नुभएको हो । कथा भने अविनाश विक्रम शाह र सन्दीप बादलको रहेको छ।
साहित्यबाट चलचित्रको संसारमा
अनुप पौडेलको चलचित्रप्रतिको आकर्षण बाल्यकालमै सुरु भएको थियो । उहाँ सानैदेखि कविता तथा कथा लेख्न रुचाउनुहुन्थ्यो । विद्यालयमा कविता प्रतियोगितामा सहभागी हुनुहुन्थ्यो । निबन्ध, वक्तृत्वकला र सिर्जनात्मक लेखनमा पनि उहाँको विशेष रुचि थियो।यद्यपि भविष्यमा के बन्ने भन्ने स्पष्ट योजना उहाँसँग थिएन । विज्ञान विषय लिएर पढ्दै गर्दा डाक्टर वा इन्जिनियर बन्ने सोच पनि थियो । जीवविज्ञान र गणित पढ्दै अघि बढिरहनुभएका उहाँको मन भने सिर्जनात्मक क्षेत्रमा बढी रमाइरहेको थियो ।
करिब दुई वर्षको अन्योलपछि उहाँले आफूले लेखेका शब्दलाई दृश्यमा रूपान्तरण गर्न सकिने माध्यम चलचित्र हुनसक्ने महसुस गर्नुभयो। त्यसपछि उहाँको जीवनको बाटो चलचित्रतर्फ मोडियो । चलचित्र सिक्न उहाँले औपचारिक कक्षाभन्दा बाहिरका माध्यमलाई पनि आफ्नो विद्यालय बनाउनुभयो । पुस्तकालय, साइबर क्याफे र चलचित्र महोत्सव उहाँका लागि सिक्ने थलो बने । त्यही क्रममा उहाँले आफ्नो पहिलो छोटो चलचित्र ‘माइ ग्रिन होम’ बनाउनुभयो। उक्त चलचित्रले एसियाली विकास बैंकको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गर्यो ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ उहाँको स्थायी थलो हो । उहाँका बुबा अच्युत पौडेल नेपाली कांग्रेसका पुराना नेता हुनुहुन्छ । राजनीतिक परिवेशमा हुर्किए पनि अनुप पौडेलले आफ्नो भविष्य राजनीतिमा भन्दा सिर्जनशील क्षेत्रमा खोज्नुभयो। उहाँले चलचित्रलाई आफ्नो कर्म र अभिव्यक्तिको माध्यम बनाउनुभयो । आज मण्डनदेउपुरको एउटा परिवारबाट सुरु भएको उहाँको सपना विश्व चलचित्रको प्रतिष्ठित मञ्च कान्ससम्म पुगेको छ ।
पुरस्कारस्वरूप प्राप्त पाँच हजार अमेरिकी डलर उहाँको चलचित्र शिक्षाको महत्वपूर्ण आधार बन्यो । त्यसैको सहयोगमा उहाँ अस्कर इन्टरनेसनल कलेजमा फिल्म अध्ययनका लागि भर्ना हुनुभयो र पटकथा, निर्देशन तथा निर्माणसम्बन्धी औपचारिक शिक्षा लिनुभयो।उहाँको बुझाइमा शिक्षाले चलचित्र बनाउने प्रविधि सिकायो, तर आफूले कस्तो कथा भन्न चाहन्छु भन्ने कुरा जीवनका अनुभवले सिकायो।
‘डेमोक्रेसी’ले खोलेको अन्तर्राष्ट्रिय ढोका
औपचारिक अध्ययनपछि पौडेलले आफ्नै सिर्जनात्मक यात्रालाई निरन्तरता दिनुभयो । उहाँले निर्माण गर्नुभएको छोटो चलचित्र ‘डेमोक्रेसी’ले अन्तर्राष्ट्रिय स्तरमा उहाँको परिचय स्थापित गर्यो । उक्त चलचित्रकै कारण उहाँ अमेरिकाको एउटा कार्यक्रममा सहभागी हुनुभयो, जहाँ हिलारी क्लिन्टनबाट सम्मानित हुने अवसर उहाँले प्राप्त गर्नुभयो । सीमित स्रोतसाधनबाट निर्माण गरिएको चलचित्रले अन्तर्राष्ट्रिय ध्यान तान्न सफल भएपछि पौडेलमा एउटा विश्वास अझ बलियो भयो—ठूलो बजेट वा महँगो उपकरणभन्दा बलियो कथा र त्यसलाई प्रस्तुत गर्ने दृष्टिकोण महत्वपूर्ण हुन्छ । त्यसपछि उहाँले चलचित्र निर्माणलाई आफ्नो व्यावसायिक यात्राको महत्वपूर्ण क्षेत्र बनाउनुभयो ।
निर्देशक मात्र होइन, निर्माता बन्ने निर्णय
फिल्म अध्ययन पूरा गरेपछि अनुप पौडेल निर्देशक बन्ने सोचमा मात्र सीमित रहनुभएन । नेपाली चलचित्र क्षेत्रमा प्रतिभा भए पनि व्यवस्थित निर्माण प्रणालीको कमी रहेको उहाँले नजिकबाट महसुस गर्नुभयो । त्यसैले उहाँले निर्माणलाई आफ्नो प्रमुख कार्यक्षेत्र बनाउनुभयो । नयाँ निर्देशक तथा नयाँ कथामाथि काम गर्न थाल्नुभयो । अन्तर्राष्ट्रिय चलचित्रकर्मीसँग सम्बन्ध विस्तार गर्नुभयो। चलचित्र महोत्सव तथा फिल्मसम्बन्धी विभिन्न गतिविधिमा सक्रिय हुनुभयो। नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने प्रयासमा लाग्नुभयो।
अविनाश विक्रम शाहसँगको सहकार्य पनि यही क्रममा बलियो हुँदै गयो । उहाँहरूले सँगै निर्माण गरेका छोटा चलचित्रले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा स्थान बनाए। पौडेलले निर्माण गर्नुभएको ‘लोरी’ ले समेत पुरस्कार प्राप्त गर्यो । यसबीच उहाँले ‘तटिनी’ को निर्माण टोलीमा रहेर काम गर्नुभयो भने मीनबहादुर भामको ‘बाँसुल्ली’ मा निर्माताका रूपमा काम गर्नुभयो। उत्पादन व्यवस्थापनको अनुभवले पनि उहाँलाई नेपाली चलचित्र उद्योगको भित्री संरचना बुझ्ने अवसर दियो । मूलधारदेखि स्वतन्त्र सिनेमासम्म काम गर्दा उहाँले नेपाली चलचित्रको समस्या प्रतिभाको अभावमा भन्दा पनि व्यवस्थित निर्माण, वित्तीय संरचना, व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारसँग जोडिन नसक्नुमा बढी रहेको निष्कर्ष निकाल्नुभयो ।
विदेश पुगे पनि मन नेपालमै
२०७२ सालको भूकम्पपछि नेपालमा उत्पन्न सामाजिक तथा आर्थिक कठिनाइका कारण पौडेल केही समय विदेश जाने अवस्थामा पुग्नुभयो । उहाँ अमेरिकामा केही समय बस्नुभयो । तर त्यहाँ रहेका नेपाली साथी तथा सहकर्मीको प्रोत्साहनपछि उहाँ नेपाल फर्किनुभयो। त्यसपछि उहाँले अन्तर्राष्ट्रिय सहकार्य र नेपाली चलचित्र निर्माणलाई अझ गम्भीरतापूर्वक अघि बढाउनुभयो। आफ्नो निर्माणसम्बन्धी ज्ञानलाई थप विस्तार गर्न उहाँ दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलअन्तर्गत सञ्चालन हुने निर्माता प्रशिक्षण कार्यक्रममा समेत सहभागी हुनुभयो।
त्यहाँ उहाँले सहनिर्माण, परियोजना विकास, वित्तीय संरचना र चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने रणनीतिबारे अध्ययन गर्नुभयो। त्यस अनुभवले उहाँको निर्माता दृष्टिकोण अझ फराकिलो बनायो । उहाँका लागि निर्माता हुनु भनेको चलचित्रमा पैसा लगानी गर्ने व्यक्ति मात्र होइन, कथा विकासदेखि अन्तर्राष्ट्रिय सहकार्यसम्म सम्पूर्ण सिर्जनात्मक यात्रालाई व्यवस्थित गर्ने व्यक्ति हुनु हो।
पाँच वर्षको प्रतीक्षा र ‘एलिफेन्ट्स इन द फग’
‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ को यात्रा पनि यही सोचबाट अघि बढेको हो । अविनाश विक्रम शाहले चलचित्रको पटकथा तयार गरिरहनुभएको थियो । कथा तयार भए पनि त्यसलाई पर्दामा उतार्न आवश्यक बजेट जुटाउनु ठूलो चुनौती थियो । पौडेलले त्यसपछि अन्तर्राष्ट्रिय निर्मातासँग सम्पर्क विस्तार गर्नुभयो । सहनिर्माणका सम्भावना खोज्नुभयो। विभिन्न देशका निर्माण संस्थालाई परियोजनासँग जोड्ने प्रयास गर्नुभयो ।
करिब पाँच वर्षको निरन्तर प्रयासपछि चलचित्रले पूर्णता पायो । नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा चलचित्र तयार भयो । नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स निर्माता हुनुहुन्छ । सहनिर्मातामा प्रचण्डमान श्रेष्ठसहित ब्राजिलका तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल हुनुहुन्छ ।
चार्ल्स अडिनेट लाइन प्रोड्यूसर हुनुहुन्छ भने केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी एशोसिएट निर्माता हुनुहुन्छ । अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट प्रवेश गुरुङ सहनिर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एशोसिएट निर्माता हुनुहुन्छ । अन्ततः चलचित्र विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा पुग्यो र जुरी च्वाइस अवार्ड प्राप्त गर्न सफल भयो।
कान्सको उपलब्धि र नेपाली दर्शकको प्रतीक्षा
कान्सको सम्मानपछि ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ नेपाली दर्शकमाझ पनि निकै प्रतीक्षित चलचित्र बनेको छ । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित भएपछि नेपाली दर्शकले पनि चलचित्रलाई आफ्नै परिवेश र दृष्टिकोणबाट हेर्ने अवसर पाएका छन्।पौडेलका लागि यो क्षण विशेष छ। किनभने चलचित्र विश्वका दर्शकमाझ पुगिसकेपछि फेरि आफ्नै देशका दर्शकमाझ फर्किएको छ। उहाँ चलचित्रलाई केवल पुरस्कार जित्ने माध्यमका रूपमा हेर्नुहुन्न । उहाँका लागि सिनेमा समाजसँग प्रश्न गर्ने, समयलाई अभिलेख गर्ने र आफ्ना कथालाई विश्वसामु पुर्याउने एउटा शक्तिशाली भाषा हो ।
राजनीतिभन्दा सिनेमाको बाटो
काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ उहाँको स्थायी थलो हो । उहाँका बुबा अच्युत पौडेल नेपाली कांग्रेसका पुराना नेता हुनुहुन्छ । राजनीतिक परिवेशमा हुर्किए पनि अनुप पौडेलले आफ्नो भविष्य राजनीतिमा भन्दा सिर्जनशील क्षेत्रमा खोज्नुभयो। उहाँले चलचित्रलाई आफ्नो कर्म र अभिव्यक्तिको माध्यम भएकाे बनाउनुभयो । आज मण्डनदेउपुरको एउटा परिवारबाट सुरु भएको उहाँको सपना विश्व चलचित्रको प्रतिष्ठित मञ्च कान्ससम्म पुगेको छ ।
यो यात्रा अनुप पौडेलको व्यक्तिगत उपलब्धि मात्र होइन, नेपाली चलचित्रले सीमित भूगोल र बजारबाट बाहिर निस्केर अन्तर्राष्ट्रिय सहकार्य र विश्वमञ्चमा आफ्नो स्थान बनाउन सक्ने सम्भावनाको उदाहरण पनि हो । कान्समा प्राप्त सम्मान एउटा गन्तव्य अवश्य हो, तर पौडेलका लागि यो यात्राको अन्त्य भने होइन । नेपाली कथालाई अझ फराकिलो संसारसम्म पुर्याउने, नयाँ प्रतिभालाई अवसर दिने र नेपाली चलचित्रका लागि व्यवस्थित अन्तर्राष्ट्रिय संरचना निर्माण गर्ने उहाँको प्रयास निरन्तर अघि बढिरहेको छ। काभ्रेको माटोमा जन्मिएको चलचित्रको एउटा सपना अहिले कान्सको रातो कार्पेट हुँदै नेपाली सिनेमा हलसम्म आइपुगेको छ । त्यो सपनाको नाम अनुप पौडेल हो—र उहाँको यात्रा नेपाली सिनेमाले विश्वसँग संवाद गर्न थालेको एउटा अर्थपूर्ण अध्याय पनि हो ।-कालाेटाेपी डटकम
प्रतिक्रिया