• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

जनज्योति बहुमुखी क्याम्पस लालबन्दीकाे २६ औँ वार्षिकोत्सव सम्पन्न

जनज्योति बहुमुखी क्याम्पस लालबन्दीकाे २६ औँ वार्षिकोत्सव सम्पन्न

सर्लाही । जनज्योति बहुमुखी क्याम्पस, सर्लाही लालबन्दीले २०८२ मङ्सिर ६ गते २६ औँ वार्षिकोत्सव तथा क्याम्पस सभा कार्यक्रम सम्पन्न गरेको छ।

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दीपक अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेश सरकार अन्तर्गत श्रम तथा यातायात व्यवस्था मन्त्रालयकी पूर्वमन्त्री तथा सर्लाही जिल्ला क्षेत्र नं. १ ‘ख’ की प्रदेश सांसद बेची लुङ्गेली प्रमुख अतिथि एवम् लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी विशिष्ट अतिथिका रूपमा हुनुहुन्थ्यो । कार्यक्रममा क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले ०५७ सालमा स्थापना भइ यस क्याम्पसले ०७९ सालमा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यानकृत हुन सफल भएका सन्दर्भ (https://jjmc.edu.np/) लाई प्रस्ट्याउनुभयो ।

यसैबीचमा क्याम्पसबाट प्रकाशित “जनज्योति जर्नल” तेस्रो अङ्कको विमोचनसमेत गरिएको थियो । जर्नल विमोचनका क्रममा अनुसन्धान व्यवस्थापन एकाई संयोजक तथा उपप्राध्यापक रमेश भट्टराईले वर्तमान सन्दर्भमा उच्च शिक्षाले विश्वव्यापी प्रतिस्पर्धा गर्ने जनशक्ति तयार पार्न अनुसन्धान अत्यावश्यक हुने तर्क राख्नुभयो । मधेश प्रदेशअन्तर्गत सामुदायिक क्याम्पसले यसरी विज्ञसमीक्षित डीओआई इन्डेक्सवाला जर्नललाई नेपजोलमा प्रकाशन गरेर स्थानीय ज्ञान, यहाँका सम्भावनासहितको प्राज्ञिक दक्षतालाई पनि विश्वव्यापीकृत तुल्याउने प्रयास गरिरहेको सन्दर्भलाई जोड्नुभयो । उहाँले यस जर्नलका बारेमा थप जानकारीका लागि अनलाइन (https://www.nepjol.info/index.php/jj) मा हेर्न सकिने व्यहोरा पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै सांसद लुङ्गेलीले सर्लाही जिल्लाको मात्रै नभएर मधेश प्रदेशमा यस क्याम्पसले विश्वास जितेको तथा यहाँका धेरै विद्यार्थीहरूले लोकसेवामा नाम निकाली विशिष्ट स्थानमा पुगेर मुलुकको सेवा गरिरहेको कुरा व्यक्त गर्नुभयो । साथमा मेयर अधिकारीले स्थानीय क्षेत्रसँग सम्बधित अनुसन्धानमा क्याम्पसले भूमिका खेल्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

यस कार्यक्रममा क्याम्पस सभा सदस्य, अक्षयकोष दाताहरू, स्थानीय शिक्षाप्रेमी, समाजसेवी, विभित्र पार्टीका प्रतिनिधिहरू, लालबन्दी उद्योग वाणिज्य संघका सभापति, क्याम्पसका प्राध्यापक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीलगायतको सहभागिता रहेको थियो । यस सभाले क्याम्पसको प्राध्यापक कर्मचारी नियमावली, आव २०८२/०८३ को अनुमानित आय/व्यय विवरण र आव २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदनलाई पनि अनुमोदन गरेको थियो ।

कार्यक्रमका विषयमा विचार प्रस्तुत गर्दै शिक्षाप्रेमी बलराम पोख्रेलले अब यस क्याम्पसले उत्कृष्ट विदेशी विश्वविद्यालयहरूसँग पनि सम्बन्ध प्रगाढ गराएर गरीखाने शिक्षा दिनुपर्ने कुरामा जोड दिनुभयो । करिब चार घण्टा निरन्तर चलेको कार्यक्रमलाई बिट मार्दै कार्यक्रमका सभापति अधिकारीले यस क्याम्पसले आगामी दिनमा प्राविधिक धारका कार्यक्रम र विषय थप गर्नुका साथै शैक्षिक वातावरणलाई प्रभावकारी बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । यस कार्यक्रमलाई क्याम्पसका उपप्राध्यापक बाबुराम दाहालले सञ्चालन गर्नुभएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ७, आईतवार १५:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP