भकुण्डेबेँसी । काभ्रेकाे नमोबुद्ध नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने जनक माध्यमिक विद्यालय तथा नगरभित्रका उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरेको छ ।
SEE २०८१ को नतिजाअनुसार नगरपालिकास्तरमा प्रथम स्थान हासिल गर्ने सफल श्रेष्ठ, द्वितीय हुने सोदिक्षा मैनाली र तृतीय हुने आकृति खनाललाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी, SEE २०८२ मा नगर प्रथम हुने उषा गौतम र तृतीय हुने सकिना लामालाई पनि नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
दुवै शैक्षिक सत्रमा उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेको योगदानको कदर गर्दै जनक माध्यमिक विद्यालयलाई पनि उत्कृष्ट विद्यालयका रूपमा नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ । शैक्षिक सत्र २०८१ को नतिजाका आधारमा वितरण गरिने पुरस्कार प्राविधिक कारणले यसअघि प्रदान हुन नसकेको र यस कार्यक्रममा एकसाथ वितरण गरिएको बताइएको छ ।
सम्मान कार्यक्रममा नगरप्रमुख कुनसाङ लामा र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतको उपस्थिति रहेको थियो । उहाँहरूले सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्नुभएको थियो ।
यस अवसरमा जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदीप पोखरेलले विद्यालयको सफलतामा योगदान पुर्याउने शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा सम्पूर्ण विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै यो उपलब्धि सबैको साझा मेहनत र समर्पणको परिणाम भएको बताउनुभयो । उहाँले सम्मानित सबै विद्यार्थी तथा विद्यालय परिवारलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।
प्रतिक्रिया