• २०८३ भाद्र २६ | Fri, 11 Sep 2026

पनौतीका कृष्णले शुरु गरे व्यवसायिक काँक्रा खेतीः आशा लाग्दो उत्पादन, भाउ नहुँदा भने चिन्ता

पनौतीका कृष्णले शुरु गरे व्यवसायिक काँक्रा खेतीः आशा लाग्दो उत्पादन, भाउ नहुँदा भने चिन्ता

ज्ञानमणि नेपाल कालोटोपी
पनौती । काभ्रेको पनौती नगरपालिका वडा नम्बर–८ का किसान कृष्ण श्रेष्ठले व्यवसायिकरुपमा तरकारी खेती थालेको ५ वर्ष भयो । यसअघि १३५ वटा टनेलामा व्यवसायिकरुपमा गोलभेँडा, काउली, बन्दा, आलु, करेला, बोडीलगायतका तरकारी रोप्दै आएका उनले यो पटक भने ६ रोपनी जग्गामा काँक्रा खेती गरेका छन् । गत माघको अन्तिममा ३ लाख लगानी गरेर रोपिएको काँक्राले अहिले आशालाग्दो रुपमा उत्पादन दिन थालिसकेको छ । तर प्रतिकेजी १५ रुपैयाँमा बेच्नु पर्दा लगानी उठाउन नसकिने चिन्ताले उनलाई सताएको छ ।

गोर्खा हाइब्रिट जातको काँक्रो रोपेका उनले उत्पादित काँक्रालाई स्थानीय पनौतीको बजारमा बेच्ने गरेको बताए । किसानले उत्पादन गरेका कृषि उपजबाट हुने आम्दानी बजार भाउले निर्धारण हुने बताउँदै उनले स्थानीय तहबाट उत्पादनको मूल्य निर्धारण गरिए किसानले राहत पाउने बताए । पछिल्ला दिनहरुमा व्यवसायिक तरकारी खेतीमा धेरै विषादी प्रयोग हुने गरेको जनगुनासो आइरहेकोबारे कृषक श्रेष्ठले आफूले मानव स्वास्थ्यमा असर गर्ने विषादी प्रयोग नगरेको तर तरकारी खेतीका लागि केही मात्रामा विषादी त नहाली नहुने अवस्था रहेको अनुभव सुनाए । ५० वटा टनेलामा काँक्रा मात्रै रोपेका उनका लागि अहिलेसम्म स्थानीय तहहरुले खासै सहयोग गरेका छैनन् ।

किन लागे त उनी तरकारी खेतीमा ?
बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म नै तरकारी खेतीमा लागिरहेका पनौतीका किसान दम्पती कृष्ण श्रेष्ठ र इन्दु श्रेष्ठको दैनिकी जसोतसो चल्दै थियो । त्यतिकैमा उनीहरुको तरकारी खेती गरिरहेको टनेलामा आगलागी भयो । ७ लाखको क्षति भयो । त्यतिबेला उनीहरुलाई सहयोग गर्ने कोही भएन । पनौती नगरपालिकाले १५ हजार सहयोग गरेभन्दा बाहेक कसैले सहयोग गरेनन् । तर मध्यमार्ग कृषि सहकारीले उनीहरुका लागि १० वटा टनेल अनुदानमा उपलब्ध गरायो । सहकारीले १७ बोरा रासायनिक मल, स्प्रे पम्प र बीउ उपलब्ध गराएको उनीहरु बताउँछन् । पछिल्लो तीन वर्षयता मध्यमार्ग आफ्नो लागि बरदान सावित भएको इन्दु श्रेष्ठ बताउँछिन् ।

स्वदेशमा बेरोजगारी भएर बैदेशिक रोजगारीमा जानु हिजोआज सामान्य जस्तै भएको छ । एकातिर यो बाध्यता भएको छ भने अर्कातिर धेरैजसो युवायुवतीहरु विदेश गएपछि त पैसा रुखबाटै टिपेर ल्याउन पाइन्छ भन्ने भ्रममा छन् । यसैबीच यी दम्पती भने विदेशमा भनेजस्तो काम नपाएर हण्डर खाएपछि स्वदेश फर्किएर कृषिमा रमाइरहेका छन् ।कामको शिलशिलामा बैदेशिक रोजगारीमा गएर सोचेजस्तो कमाइ नभएपछि ५ वर्षअघि उनीहरु स्वदेश फर्किए र पनौतीमा ७ रोपनी जग्गा भाडामा लिएर तरकारी खेतीमा लागे । अहिले उनीहरु आफ्नै व्यवसायबाट सन्तुष्ट छन् । इन्दुले ९ वर्ष र कृष्णले ३ वर्ष गरि बिदेशमा २ जनाले कमाएको ५ लाख र थप ५ लाख साथीभाईसँग सापटी लिएर शुरु गरिएको उनीहरुको तरकारी खेतीबाट अहिले वार्षिक १० देखि १२ लाखसम्म कमाइ हुन्छ । यसबाट आफूहरु सन्तुष्ट भएको इन्दुको भनाइ छ ।

‘केही गर्छु भन्नेका लागि स्वदेशमै आम्दानीको अवसर रहेछ, हामी काम खोज्दै विदेश गयौं । धेरै दुःख पाइयो ।’ – श्रेष्ठ दम्पती भन्छन् । गत वर्षसम्म उनीहरुले खेती थालेको ७ रोपनी जग्गाको वार्षिक १ लाख ३० हजार भाडा तिर्नु पर्थ्याे । उत्पादन त राम्रै हुन्छ तर कुनै वर्ष तरकारीले उचित मूल्य पाउँदैन । गत वर्ष जस्तो यस वर्ष गोलभेंडाको भाउ छैन तैपनि मिहेनत भने गरिरहेको श्रेष्ठ दम्पती बताउँछन् । यस वर्ष करिब ४५ वटा टनेल थपिएर १३५ वटा टनेलमा तरकारी खेती गरिरहेका उनीहरुले अहिले भने १३ रोपनी जग्गाको भाडा मात्र वार्षिक ३ लाख बढी तिर्नुपर्छ ।

पछिल्ला दिनहरुमा व्यवसायिक तरकारी खेतीमा धेरै विषादी प्रयोग हुने गरेको जनगुनासो आइरहेकोबारे कृषक श्रेष्ठले आफूले मानव स्वास्थ्यमा असर गर्ने विषादी प्रयोग नगरेको तर तरकारी खेतीका लागि केही मात्रामा विषादी त नहाली नहुने अवस्था रहेको अनुभव सुनाए ।

कामकै लागि धेरैतिर दौडिएको अनुभव छ इन्दुसँग । ०७९ सालमा ८ महिनाको बच्चा छोडेर उनी चुनावमा म्यादी प्रहरीमा समेत गइन् । सोचेजस्तो पढ्न नसकेकाले अहिले काम नपाउँदा उनलाई बेलामा पढ्न पाएको भए हुने रहेछ जस्तो लाग्छ, तैपनि आफ्नो काममा सन्तुष्ट छिन् । गर्छु भनेर आँट लिएर थाल्ने हो भने कुनै पनि काममा सफल हुन सकिने उनी बताउँछिन् । यतिबेला गोलभेंडा, काँक्रा र करेलाले उनको कृषि व्यवसाय ढाकिएको छ । अहिले एउटा सानो गाडी किनेर आफैं चलाएर तरकारी बजार लैजान सक्छिन् इन्दु । यसका लागि गाडी चलाउन पहिले नै सिकेर चालक अनुमतिपत्र पनि बनाएको उनले बताइन् । सानो काखे बच्चालाई च्यापेर दिनभरि काममा खटिन सजिलो त छैन तर अरुको देशमा गएर काम गर्नुभन्दा आफ्नैमा जे सकेको गर्न र जे भएको खान पाइएकोमा उनी सन्तुष्ट छिन् ।

दैनिकरुपमा विदेशिएका हजारौं युवाहरुलाई सरकारले यस्ता कृषि कार्यमा लगाउनु पर्नेमा त्यसो हुन नसकेको इन्दुको गुनासो छ । अहिले राज्यले वर्षेनी अर्बौं रुपैयाँको खाद्यान्न आयात गर्छ, तर त्यसलाई रोक्न केही नयाँ कार्यक्रम ल्याएको छैन । कृषि प्रधान देशका किसानको हालत निकै दयनीय बन्नु दुःखद भएको उनको भनाइ छ ।

मौसम अनुसारका सबैखाले तरकारी लगाउने गरिएको उनीहरु बताउँछन् । काउली, बन्दा, बोडी, साग, करेला, गोलभेंडा, काँक्रा लगायतका तरकारी लगाउँदै आएका उनीहरुलाई पहिले राज्यले खासै सहयोग गरेको थिएन ।  यसका लागि वडा र नगरपालिकामा धाउँदा गत वर्ष कृषि विकास कार्यालयबाट र यस वर्ष नगरपालिकाबाट टनेलाका लागि सहयाेग पाएकाे  उनीहरुले बताए ।  नक्कली किसान र राजनीतिक पहुँच पुगेकाले किसानका लागि आएको अनुदान लिने तर वास्तविक किसानले भने केही सहयोग नपाउने अहिलेको प्रवृत्ती गलत भएको र यसो भएसम्म किसानले सधैं दुःख मात्र पाउने उनको दाबी छ ।

सरकारले मल, बीउ समयमा र पर्याप्त मात्रामा दिन नसक्दा पनि किसान पीडित भइरहेको बताउँदै कृष्णले यसमा सरकारकै कमजोरी रहेको आरोप लगाए । किसानले उत्पादन गरेका तरकारी राज्यले आफैं किनेर बजारमा पठाउने व्यवस्था हुने हो भने बिचौलिया व्यापारीको शिकार किसान बन्नु नपर्ने तर त्यसो हुन नसक्दा आज वास्तविक किसान थाप्लोमा हात राखेर बस्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।

वरिपरि हरियो वातावरणसँगै फाँटै सेताम्य हुने गरि प्लाष्टिकका टनेलाले भरिएको श्रेष्ठ दम्पतीको कृषि फारम अहिले गोलभेंडा र काँक्राले भरिएको छ । तरकारी खेतीका लागि सिंचाइको पनि व्यवस्था आफैंले मिलाएको उनीहरुले बताए । काम नपाएर विदेश हानिनेहरुका लागि श्रेष्ठ दम्पती उदाहरण बनेका छन् । अब सकुन्जेल यसरी नै तरकारी खेती गरिरहने कृष्ण र इन्दुको सोच छ । उनीहरु जस्ता परिश्रमी र पौरखी किसानहरुलाई सरकारले अब आवश्यक सहयोग गर्नैपर्ने जरुरी देखिन्छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ९, बुधबार १३:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP