• २०८३ भाद्र २५ | Thu, 10 Sep 2026

सामुदायिक साकोसद्वारा पाँचखाल-१२ मा धानखेती सम्बन्धी व्यवसायिक कृषि तालिम

सामुदायिक साकोसद्वारा पाँचखाल-१२ मा धानखेती सम्बन्धी व्यवसायिक कृषि तालिम

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–१२, कास्कोटेमा धानखेतीमा लाग्ने रोग तथा त्यसको नियन्त्रणसम्बन्धी व्यावसायिक कृषि तालिम सम्पन्न भएको छ ।

सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडअन्तर्गत ग्रामीण स्वावलम्बन सेवा केन्द्रको आयोजनामा बुधबार अर्थात् भदौ १७ गते तालिम सञ्चालन गरिएको हो । सेवा केन्द्र व्यवस्थापन उपसमिति संयोजक गोविन्दप्रसाद सेढाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवा केन्द्र प्रमुख सूर्य दनुवारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा उपसमिति सदस्य अनिता दनुवारले सहभागीहरूलाई स्वागत गर्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।

तालिममा कृषि प्राविधिक रामशरण सापकोटाले धानखेतीका लागि आवश्यक माटो परीक्षण, बीउ राख्ने तरिका, सन्तुलित मलखादको प्रयोग, धान रोप्ने विधि, सिँचाइ गर्ने तरिका, रोग तथा कीरा नियन्त्रण, विषादीको सुरक्षित प्रयोग तथा विषादीसम्बन्धी जानकारी र अन्न भण्डारण गर्ने तरिकाबारे प्रशिक्षण दिनुभएको थियो ।

तालिमका क्रममा सहभागी सदस्यहरूले ल्याएका धानका बोटका नमुनासमेत परीक्षण गरी देखिएका समस्या र तिनको समाधानका उपायबारे जानकारी दिइएको थियो । कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो। समापनका क्रममा कार्यक्रमका अध्यक्ष गोविन्दप्रसाद सेढाईले आधुनिक कृषि प्रविधिको प्रयोगबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सकिने र त्यसले किसानको आम्दानीसमेत बढाउन सहयोग पुग्ने बताउनुभयो ।

कृषिमा आधुनिक प्रविधि र व्यावसायिक ज्ञानको प्रयोगलाई प्राथमिकता दिँदै यस्ता तालिमले किसानलाई रोग तथा कीरा व्यवस्थापनदेखि उत्पादन र भण्डारणसम्मका व्यावहारिक ज्ञान प्रदान गर्ने आयोजकले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १८, बिहीबार १३:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP