च्याम्राङबेसी । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले वडा नं. १ च्याम्राङबेसीलाई कफी पकेट क्षेत्र घोषणा गरेकोमा स्थानीय कफी किसानहरूले गाउँपालिकाप्रति धन्यवाद व्यक्त गरेका छन् । गाउँपालिकाको कृषि शाखाले विगत वर्षदेखि नै करिब पूर्ण अनुदानमा कफीका बिरुवा वितरण गर्दै आएको छ, जसबाट धेरै किसान लाभान्वित भएका छन् ।
स्थानीयवासी गोपालकृष्ण सापकोटाका अनुसार सुरुमा वितरण गरिएका बिरुवा राम्रो गुणस्तरका र रोप्न योग्य हुने गरेका थिए । तर पछिल्ला वर्षहरूमा वितरण गरिएका कतिपय बिरुवा भने कमजोर, साना तथा रोप्न नै नमिल्ने अवस्थाका रहेको किसानहरूको गुनासो छ । उहाँका अनुसार यस वर्ष पनि अघिल्ला वर्षकै जस्ताे समस्या दोहोरिएको छ ।
किसानहरू गाउँपालिकाले अनुदान उपलब्ध गराएकोमा आभारी भए पनि अनुदानको उद्देश्यअनुसार गुणस्तरीय बिरुवा उपलब्ध हुनुपर्नेमा जोड दिन्छन् । कृषि शाखाका कर्मचारीहरूले किसानका लागि बिरुवा खोज्न मिहेनत गरेको बुझाइ भए पनि, गाउँपालिकाको लगानीबाट गुणस्तरहीन बिरुवा ल्याइनु उपयुक्त नभएको उनीहरूको भनाइ छ ।
दुई वर्षअघि पनि करिब चारदेखि पाँच हजार बिरुवा प्रयोग गर्न नमिलेर फाल्नुपरेको स्मरण गर्दै किसानहरूले अहिले वितरण गरिएका केही बिरुवा पनि रोप्नै नमिल्ने अवस्थामा रहेको बताएका छन् ।
कृषि शाखाले कफी खेतीसम्बन्धी विज्ञमार्फत तालिम सञ्चालन गर्दै गुणस्तरीय बिरुवा छनोट र रोपाइँका विधि सिकाउने गरेको छ । तर तालिममा सिकाइएका मापदण्डअनुसारका बिरुवा वितरण नभएकाले किसान निराश बनेका छन् । “तालिममा एउटा कुरा सिकाइन्छ, तर वितरण हुने बिरुवा अर्कै खालका आउँछन्,” भन्ने गुनासो किसानहरूको छ ।
स्थानीय कफी कृषकहरूले आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन आग्रह गरेका छन् । हालै कृषि शाखामा आएका नयाँ प्रमुखले आगामी वर्षदेखि यस्तो अवस्था हुन नदिने प्रतिबद्धता जनाएको भन्दै किसानहरूले आशा व्यक्त गरेका छन् ।
कफी पकेट क्षेत्र घोषणाको वास्तविक उपलब्धि गुणस्तरीय बिरुवा, प्रभावकारी प्राविधिक सहयोग र किसानमैत्री कार्यक्रमबाट मात्रै सम्भव हुने भएकाले कृषि शाखाले आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारीरूपमा काम गरी कफी किसानलाई उन्नतिको बाटोमा अघि बढाओस् भन्ने स्थानीयवासीहरूको अपेक्षा रहेको छ ।
प्रतिक्रिया