• २०८३ भाद्र २५ | Thu, 10 Sep 2026

भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ, ८९ सिलिण्डर बरामद

भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ, ८९ सिलिण्डर बरामद

भक्तपुर । भक्तपुर जिल्लाका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यास कालोबजारी तथा अवैध रूपमा बिक्री वितरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ८९ थान भरिएका एलपी ग्यास सिलिण्डरसमेत बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक सर्लाहीको बरहथवा नगरपालिका–७ घर भई हाल ब्रम्हनगरमा बस्दै आएका २५ वर्षीय उमेश शाह र भक्तपुर नगरपालिका–२ इटाछेका ४१ वर्षीय राजेश कर्मचार्य रहेका छन् । प्रहरीका अनुसार बिहीबार करिब साँझ ५ बजे सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरमा एलपी ग्यास कालोबजारी भइरहेको सूचनाका आधारमा अनुगमन गरिएको थियो । शाहले सञ्चालन गरेको किराना पसलबाट उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रुपैयाँका दरले बिक्री वितरण गर्दै आएको सूचना प्राप्त भएपछि अपराध अनुसन्धान कार्यालय टेकुबाट प्रहरी निरीक्षक हेमबहादुर थपलियाको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

प्रहरी टोलीले पसलमा अनुगमन गर्दा त्यहाँ ७५ थान भरिएका हिमाल ग्यासका सिलिण्डर फेला पारेको थियो । अनुगमनका क्रममा बरामद गरिएका ग्यास सिलिण्डरसहित पसल सञ्चालक शाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसैगरी, बिहीबार नै साँझ करिब ६ः३० बजे भक्तपुर नगरपालिका–२ इटाछेबाट पनि प्रहरीले एलपी ग्यास कालोबजारीमा संलग्न रहेको आरोपमा अर्का एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उक्त स्थानबाट १४ थान सगर ग्यासका भरिएका सिलिण्डर बरामद गरेको जनाएको छ । सिलिण्डरसहित पक्राउ पर्नेमा ४१ वर्षीय राजेश कर्मचार्य रहेका छन् ।

यसरी दुवै स्थानबाट प्रहरीले कुल ८९ थान भरिएका एलपी ग्यास सिलिण्डर बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । उनीहरूले ग्यास कहाँबाट ल्याएका थिए, कसरी भण्डारण तथा बिक्री वितरण गर्दै आएका थिए र कालोबजारीमा अन्य व्यक्तिको समेत संलग्नता थियो वा थिएन भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणमा अनियमितता हुन नदिन सम्बन्धित निकायले अनुगमन तीव्र बनाउँदै आएका छन् । प्रहरीले उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा अवैध रूपमा ग्यास भण्डारण तथा बिक्री वितरण गर्ने कार्यबारे सूचना दिनसमेत आग्रह गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २५, बिहीबार २१:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP