• २०८३ भाद्र २५ | Thu, 10 Sep 2026

काभ्रेकाे तेमाल गाउँपालिकाद्वारा बाढीपीडितका लागि २५ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग

काभ्रेकाे तेमाल गाउँपालिकाद्वारा बाढीपीडितका लागि २५ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग

तेमाल । गत भदाै १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको सहयोगका लागि काभ्रेको तेमाल गाउँपालिकाले २५ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गर्ने भएको छ । तेमाल गाउँपालिकाले बाढीबाट रसुवा, नुवाकोट र धादिङ जिल्लाका विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङद्वारा हस्ताक्षरित पत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति तेमाल गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको उल्लेख छ । प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

गाउँपालिकाले विपद्को यस घडीमा जनप्रतिनिधिहरूले पाउने १० दिन बराबरको सेवा सुविधा बापतको रकम तथा गाउँपालिकाका सम्पूर्ण कर्मचारी र शिक्षकहरूको पारिश्रमिकबाट कट्टा गरिएको रकमसमेत जोडेर उक्त सहयोग रकम जम्मा गरेको जनाएको छ ।

भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएपछि विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देशभरबाट सहयोग जुटिरहेको अवस्थामा तेमाल गाउँपालिकाले समेत जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको योगदानमार्फत सहयोग गरेको हो । गाउँपालिकाले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिन सम्बन्धित निकायलाई अनुरोधसमेत गरेको छ ।

Screenshot



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २५, बिहीबार १७:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP