काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि सरकारले आह्वान गरेको प्रधानमन्त्री राहत कोषमा हाल १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ ।
कोषमा जम्मा भएको रकममध्ये विभिन्न ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ मौज्दात रहेको जनाइएको छ । त्यसैगरी, दुई वटा वाणिज्य बैंकमा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको छ । बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारले स्वदेश तथा विदेशमा रहेका व्यक्ति, संस्था र विभिन्न निकायलाई सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो । सरकारको आह्वानपछि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम कोषमा जम्मा हुँदै आएको हो ।
बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनर्स्थापना र पुनर्निर्माणका कार्यमा समेत कोषमा संकलित रकम परिचालन गरिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया