पनौती । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती सेवा केन्द्रको आयोजनामा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार पनौती नगरपालिका–१० स्थित पञ्चायङन विष्णु मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा संस्थामा आबद्ध सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पनौती सेवा केन्द्रका प्रमुख बिमल जाकिबन्जारले संस्थाको वर्तमान वित्तीय अवस्था, संस्थाले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रम तथा सदस्यहरूलाई उपलब्ध गराउँदै आएका सेवा–सुविधाका बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले संस्थाले सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै प्रदान गर्दै आएका सदस्य राहत सुविधाका विषयमा समेत जानकारी गराउनुभएको थियो ।
सहकारीका गतिविधि, वित्तीय अवस्था, सदस्यलाई प्रदान गरिने सेवा तथा सुविधा लगायतका विषयमा जानकारी आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी सदस्यहरूले संस्थासँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा तथा सुझावसमेत राखेका थिए ।
सेवा केन्द्रका कर्मचारी विन्दा बन्जाराले सञ्चालन गर्नुभएको कार्यक्रममा १८ जना सदस्यहरूको सहभागिता रहेको थियो । अन्तरक्रियामार्फत सदस्य र संस्थाबीचको सम्बन्ध अझ सुदृढ हुनुका साथै संस्थाका गतिविधिबारे सदस्यहरूलाई प्रत्यक्ष रूपमा जानकारी प्राप्त भएको आयोजकले जनाएको छ ।
सदस्यहरूसँग प्रत्यक्ष संवाद र अन्तरक्रियामार्फत संस्थाका सेवा, सुविधा तथा गतिविधिबारे जानकारी गराउने यस्ता कार्यक्रमले सहकारीप्रति सदस्यहरूको विश्वास र अपनत्व बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया