काठमाडौँ। चाडपर्व नजिकिएसँगै बजारमा उपभोक्ताको चहलपहल ह्वात्तै बढेको छ। दसैँका लागि आवश्यक पर्ने उपभोग्य खाद्यवस्तुदेखि लत्ताकपडा खरिद गर्न बजारमा उपभोक्ताको भिडभाड हुन थालेको हो ।
उपभोक्ताको भिड बढ्दा बजारमा अनियमितता हुन नदिने अनुगमन भने सुस्ताएको छ । जेनजी आन्दोलनका कारण सरकारी संरचनाले अझै पनि राम्ररी काम गर्न सकेको छैन । जेनजी प्रदर्शनअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पाँच/छ वटा समूहले दैनिक ३०/३५ वटा व्यापारिक प्रतिष्ठानको अनुगमान गरेकोमा २३ गतेयता देखिने गरी अनुगमन गर्न सकेको छैन । विभागले आपूर्ति प्रणाली चुस्त दुरुस्त रहेको र त्यस्ता उपभोग्य वस्तुको अभाव नरहेको दाबी गर्दै आएको छ ।
विभागका महानिर्देशक रोशन ज्ञवालीले जेनजी आन्दोलन र त्यसपछिको बजारको अवस्थालाई ध्यानमा राखेर आपूर्ति प्रणालीसँगै उपभोग्य वस्तुको उपलब्धतालाई नजिकबाट नियालिरहेको बताउनुभयो । जेनजी प्रदर्शनपछि सशङ्कित र त्रसित बनेका व्यापारीमा विभाग नेतृत्वको बजार अनुगमनले नकारात्मक असर नपर्ने गरी बजार नियाल्ने काम गरिरहेको उहाँको भनाइ छ । व्यापारीलाई जरिबाना र कारबाही गर्नुलाई मात्रै बजार अनुगमन भन्ने बुझ्नु गलत भएको उहाँकाे भनाइ थियाे ।
दैनिक उपभोग्य लगायतका सामग्रीको आपूर्तिको व्यवस्थापनलाई अझ सहज पार्न विभागले दैनिकजसो निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ, चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घसँग, नेपाल खुद्रा व्यापार सङ्घ, थोक व्यापार सङ्घसँग छुट्टाछुट्टै छलफल गर्दै आएको छ । विभागले भन्सार नाकाबाट नेपालमा आउने सामानको विगतको आयातको अवस्था र हाल आयातको अवस्थालाई विश्लेषण गरेको जनाएको छ । गाेरखापत्रबाट
प्रतिक्रिया