काठमाडौँ । असाेज १७ देखि १९ गतेसम्मकाे बाढीपहिरोका कारण क्षति पुगेका केही राजमार्ग अझै खुल्न सकेका छैनन् ।
नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरणअनुसार कोशी र बागमती प्रदेशका ४ वटा मुख्य राजमार्ग अझै अवरुद्ध छन् ।
कोशी प्रदेशमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ एकुवामा सडक क्षति हुँदा कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ।
यस्तै, इलाम नगरपालिका–१, राजदुवाली लगायतका स्थानहरूमा अविरल वर्षाका कारण मेची राजमार्ग पनि अवरोध भएको छ।
यता रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल बाढीले बगाउँदा तीन महिनायता पासाङ ल्हामु राजमार्ग पूर्णरूपमा अवरुद्ध छ ।
यस्तै काभ्रेको रोशी गाउँपालिका–११ माम्तीखोला, डालाबेशी, बुल्ढुङगा लगायतका स्थानहरूमा बाढी र पहिरोका कारण बीपी राजमार्गमा एकतर्फीरूपमा सञ्चालनमा छ।

प्रतिक्रिया