काठमाडौँ। नेपाली कांग्रेसले विपिन जोशीको असामयिक निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध तुल्याएको जनाएकाे छ। आज मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरि नेपाली कांग्रेस यस घटनाप्रति गहिरो दुःख प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ भनेका छन् । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विपिन जोशीको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेका विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले जारी गरेकाे विज्ञप्ति यस्ताे छः
विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली

सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत दुई वर्ष अघि अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएपछि त्यसयता उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, अन्तर्राष्ट्रिय समुदाय र मानव अधिकारवादी संघ–संस्थाहरुबाट निरन्तर कुटनीतिक पहल हुँदै आएको थियो । उहाँका परिवारले समेत आफ्ना तर्फबाट सक्रिय प्रयास जारी राख्नु भएको थियो ।
तर, दुर्भाग्यवश गत असोज २७ गते इजरायली अधिकारीहरुले उहाँको मृत्युको पुष्टि गरेको घटनापछि यतिबेला सिङ्गो मुलुक नै शोकमा डुबेको छ। महाकाली नदीको भुजेलाघाटमा उहाँको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानसहित आज अत्येष्ठी गरिएको छ।
विपिन जोशीको असामयिक निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध तुल्याएको छ । नेपाली कांग्रेस यस घटनाप्रति गहिरो दुःख प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।
त्यसैगरी, नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विपिन जोशीको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— “सन् २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाई हुनेछ भन्ने कुरामा नेपाल र नेपाली जनताको ठूलो आशा र विश्वास थियो । तर त्यसको विपरीत गत असोज २७ गते इजरायली अधिकारीहरूले उहाँको मृत्युको पुष्टि गरेपछि उहाँको पार्थिव शरीरलाई नेपाल ल्याई अन्त्येष्ठी गरिएको छ । अहिले सिङ्गो मुलुक शोकमा डुबेको छ । दुःखको यस घडीमा विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
प्रतिक्रिया