काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म २३ अर्ब २२ करोड ७८ लाख बराबरको बीमा दाबी परेको छ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार यसबीचमा निर्जीवन बीमा कम्पनीहरूले १ अर्ब ५८ करोड ५६ लाख बराबरको भुक्तानी गरिसकेका छन्। मुलुकभर हाल कुल माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । आन्दोलनका कारण भएको आगजनी र तोडफोडमा परेका निजी संरचनाको हकमा बीमा भए पनि सरकारी र सार्वजनिक सम्पत्तिको भने बीमा नभएको पाइएको छ।
हालसम्म कुल तीन हजार ९९ बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ। कुल दाबीमध्ये सम्पत्ति बीमा ६ सय ५३, मोटर बीमा दुई हजार २०६, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा एक सय ९०, परिवहन बीमा १२ र अन्य बीमा ३८ रहेका छन् ।
प्रदेश अन्तर्गत कोशी प्रदेशमा तीन सय ९६, मधेसमा तीन सय ५५, वाग्मतीमा एक हजार ६६९, गण्डकीमा दुई सय १२, लुम्बिनीमा दुई सय ४६, कर्णालीमा २२ र सुदूरपश्चिम प्रदेशमा एक सय ९९ बीमा दाबीको आवेदन परेका छन् । यो विवरण असोज २३ गतेसम्मको भएकाे प्राधिकरणले जनाएकाे छ ।
सर्वाधिक बढी अर्थात् पाँच अर्ब ६१ करोड ४४ लाख बराबरको बीमा दाबीको आवेदन परेको सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ५९ करोड ४४ लाख बराबरको रकम बीमितलाई भुक्तानी गरेको छ । त्यसैगरी, दी ओरियण्टल इन्स्योरेन्समा पाँच अर्ब २४ करोड ४७ लाख बराबरको बीमा दाबीको आवेदन परेकोमा पाँच लाख ७० हजार बराबरको भुक्तानी गरेको छ ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा दुई अर्ब ७५ करोड ९७ लाख बराबरको बीमा दाबीको आवेदन परेको छ । सो कम्पनीले ३० करोड ४३ लाख बराबरको रकम बीमितलाई वितरण गरेको छ। शिखर इन्स्योरेन्समा दुई अर्ब ४० करोड ८६ लाख बराबरको बीमा दाबी भएको छ । सो कम्पनीले ३१ करोड ९४ लाख बराबरको रकम उपलब्ध गराएको छ।
प्रतिक्रिया