काठमाडौँ । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक जारी छ । गत असाेज २९ गतेदेखि शुरु भएकाे बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणाहरु राखिरहनु भएकाे छ । यसैक्रममा आजकाे बैठकमा केन्द्रीय सदस्य मधु आचार्यले आफ्ना धारणाहरु प्रस्तुत गर्नुभएकाे छ । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनकी वीरंगना मंगलादेवी सिंहको जन्मजयन्तीको अवसर पारेर मंसिर २४ गतेबाट शुरु हुने गरी विशेष महाधिवेशन आयोजना गर्न प्रस्ताव गर्नुभयाे । हेराैं उहाँकाे प्रस्तावकाे मूलअंशः
१. महाधिवेशन सम्बन्धमाः
हाम्रो पहिलो प्राथमिकता फागुन २१ को निर्वाचन हो र सँगसँगै त्यस निर्वाचनमा जान “नीति, नेता र कार्यक्रम” का दृष्टिले योग्य कांग्रेस बनाउनु पनि हो। त्यसैले केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरी नेपालको लोकतान्त्रिक आन्दोलनको वीरंगना मंगलादेवी सिंहको जन्मजयन्तीको अवसर पारेर मंसिर २४ गतेबाट शुरु हुनेगरी विशेष महाधिवेशन आयोजना गर्न प्रस्ताव गर्दछु। यसो गरेमा यो शतप्रतिशतको महाधिवेशन हुनेछ, ५५ र ४५ को विभाजन पनि मेटिनेछ। जहाँसम्म जेन्जी युवा पुस्ताको सहभागिता नहोला कि भन्ने चिन्ता छ, विशेष महाधिवेशनबाट अनुमोदन गर्ने गरी एउटा निर्णय गरौं- सबै १६५ प्रतिनिधि सभा क्षेत्रबाट कम्तिमा ४ जना महिला सहित ७ जनाको दरले यो पुस्ताको प्रतिनिधिलाई सहभागिको रुपमा विशेष महाधिवेशनमा पठाउन सम्वन्धित समितिलाई विशेष अधिकार प्रदान गरौं।
शीघ्रातिशीघ्र यसै बैठकबाट विशेष महाधिवेशन बोलाऔं। पार्टीमा दुःख गरेका, रगत पसिना भिजाएका ठूलो संख्यामा साथीहरु दिनहुँ बाहिर विभिन्न संघर्षको कार्यक्रममा हुनुहुन्छ, उहाँहरुको भावनासमेतलाई सम्मान गरेर केन्द्रीय समितिले निर्णय लिऔं। अन्यथा हस्ताक्षरकर्ताले विधानतः विशेष महाधिवेशन गर्ने नै छन। उनीहरुलाई रोक्ने अधिकार हामीसँग हुने छैन।
२. जेन्जी युवामैत्री कांग्रेस निर्माणः
कांग्रेसले भावि विशेष महाधिवेशनमा जेन्जी युवामैत्री नीति पारित गर्नेगरी तयारी गरौं। ४० वर्ष मुनिकालाई पार्टीको हरेक तहमा ४०% सहभागि गराउने सुनिश्चितता गरौं। युवा सहभागिता बढाऔं।
३. पूर्व पदाधिकारीहरुबाट अपेक्षाः
पूर्व पदाधिकारीहरुले समस्या बल्झाउने होइन, समाधान दिनुपर्छ। आफैं पोजिशन बनाउने हो र ? विकल्प दिनु र देखाउनु पर्छ। विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरुले बरु तीनवटा कि पुस दोस्रो हप्ताभित्र नियमित महाधिवेशन सकौं, कि केन्द्र आफ्नै निर्णयले विशेष महाधिवेशन बोलाउनोस, आउँछौं, नभए हामी आफैं विशेष महाधिवेशन गर्छौं । विकल्प दिएका छन् । तर सिनियर नेताहरु चाहिँ किन रिजिड भा’को ? यसरी अभिभावकको भूमिका हुँदैन।
पार्टीभित्र एकता निर्माणमा योगदान गर्नोस् । साथीहरुलाई विकल्प दिएर डोर्याउनोस, बिच्काउने काम नगर्नोस् । विशेष महाधिवेशनले मात्र राष्ट्रिय एकता र मेलमिलापको मर्म समात्छ। पार्टीलाई एकजुट बनाउँछ। निर्वाचन सामना गर्न हामी सक्षम हुनेछौं। यसलाई आत्मसात गर्नोस।
४. सैद्धान्तिक संकल्पमा जोडः
विशेष महाधिवेशनबाट अनुमोदन गर्नेगरी यो बैठकबाट दुईवटा संकल्प पारित गरौं। पहिलो, क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट सबै तहको नेतृत्व चयन गर्ने पद्धति अवलम्वन गरौं। दोस्रो, निर्वाचनमा क्रियाशील सदस्यको प्राइमरीबाट तहगत उम्मेदवार निर्धारण गरौं। यी दुईवटा आधारभूत परिवर्तनले पार्टीको ब्यापक लोकतान्त्रिकरण गर्दछ, घात-अन्तर्घातसम्वन्धी आरोप-प्रत्यारोपको अन्त्य गर्छ।
५. शक्तिशाली आयोग र छानबिनको मागः
नेपाली कांग्रेसका कतिपय नेता वा सदस्यमाथि भ्रष्टाचार र गैरकानूनी अकुत सम्पति आर्जन सम्वन्धी दोषारोपण भइरहेको विषय पार्टी एवं कार्यकर्तालाई कत्तिपनि शोभनीय छैन। यो बैठकले नेपाल सरकारलाई अविलम्व “भ्रष्टाचार र अकुत सम्पति आर्जनसम्वन्धी उच्चस्तरीय छानबिन आयोग” गठन गर्न तथा नेपाली कांग्रेस सम्वद्ध आरोपितहरु माथि (अरु पार्टीको हकमा उनीहरु नै जानुन) निष्पक्ष छानबिन गर्न अनुरोध गर्नेगरी प्रस्ताव पारित गरौं। सरकारले यसप्रकारको कदम चालेमा नेपाली कांग्रेस पार्टीको पूर्ण सहयोग रहने कुरा पनि प्रष्ट गरौं। जय नेपाल !
प्रतिक्रिया