सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका वडानम्बर–८ केउरानीस्थित जलवाइदेवी माध्यमिक विद्यालयमा ‘बालविवाह र साइबर जोखिमः सुरक्षित भविष्यका लागि स्थानीय सरकार, प्रहरी, विद्यार्थी र अभिभावकबीच अन्तर्क्रिया कार्यक्रम’ सम्पन्न भएको छ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत ग्रामिण स्वास्थ्य तथा शिक्षा सेवा गुठी र रेष्ट पैरवी समूह, सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा बालविवाह न्यूनीकरणदेखि साइबर सुरक्षाका विषयमा विस्तृत छलफल भएको हो।
कार्यक्रममा रेष्टका जिल्ला कार्यक्रम संयोजक कुमार भट्टराईले बालविवाह रोकथाम, लैङ्गिक हिंसा नियन्त्रण तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा यस प्रकारका कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउँदै उद्देश्य र औचित्य प्रस्तुत गर्नुभयो । त्यस्तै, रेष्ट पैरवी समूह इन्द्रावती संयोजक जगन्नाथ रिजालले विवाहको कानुनी परिभाषा, बालविवाहका सामाजिक प्रभाव, कानुनी सजाय तथा यससँग जोडिएका अन्य अपराधबारे अभिभावक र विद्यार्थीलाई स्पष्ट जानकारी दिनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख, प्रहरी निरीक्षक सुकदेव पौडेलले सामाजिक सञ्चार माध्यमको दुरुपयोग, साइबर बुलिङ, ह्याकिङ, ठगीलगायत बढ्दो साइबर अपराधबारे सचेत गराउँदै सुरक्षित सामाजिक सञ्जालको प्रयोग र प्रविधिको सही उपयोगबारे व्यवहारिक ज्ञान दिनुभयो । उहाँले साइबर ब्युरोले पछिल्लो समयमा दर्ता भएका मुद्दा र सिकाइयोग्य उदाहरणहरू पनि प्रस्तुत गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर खड्का र शिक्षक सुवास गिरीले विद्यालयमा यस्तो कार्यक्रम पहिलो प्राथमिकता भएको बताउँदै विद्यालयका समस्या, चुनौती र समाधानका लागि स्थानीय तह तथा सरोकारवालाको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी तथा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले बालविवाह अन्त्य गर्न सके मात्र बालमैत्री वडा घोषणा सहज हुने बताउनुभयो । उहाँले ५ र ८ नम्बर वडालाई अझै बालमैत्री घोषणा गर्न नसकिएकोमा चिन्ता व्यक्त गर्दै विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि सबैको सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले लैङ्गिक हिंसा, बालविवाह र साइबर जोखिमका विषयमा महिला–पुरुष दुवैको समान सहभागितामा निरन्तर सचेतनामूलक गतिविधि सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो । साथै, विद्यार्थीको उज्ज्वल भविष्यका लागि काम गर्ने संस्था रेष्ट भएकाले धन्यवाद व्यक्त गर्दै उपप्रमुख प्रधानले विद्यार्थीहरुको पक्षमा स्थानीय तह सधैं साथमा रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यालय र विद्यार्थीको समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रम रेष्ट पैरवी समूहका जिल्ला अध्यक्ष यज्ञ दंगालको अध्यक्षतामा सम्पन्न भएको हो । अन्त्यमा सहभागी विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवालाबीच खुला अन्तरक्रिया गरी बालविवाह न्यूनिकरण तथा साइबर सुरक्षा अभियानलाई अझ मजबुत बनाउने सहमति व्यक्त गरिएको थियो ।
प्रतिक्रिया