काठमाडाैँ । नेपाली सेनाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित तीन चरणको सुरक्षा रणनीति तयार पारेको छ । सेनाले निर्वाचनपूर्व, निर्वाचनको दिन र निर्वाचनपछि मत गणना भई परिणाम घोषणासम्मको गरी तीन चरणको सुरक्षा रणनीति तय गरेको हो ।
राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय तथा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि निर्वाचन सुरक्षाका लागि सेना परिचालन भइसकेको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन केन्द्रित तालिम तथा संयुक्त अभ्यास सञ्चालन गरी आवश्यक तयारी पूरा भइसकेको छ ।
सेनाको सुरक्षा घेरामै मतपत्र छपाइ सकिएर हाल ७५ वटा जिल्लामा ढुवानीसमेत भइसकेको बताइएको छ । निर्वाचन आयोगका अनुसार बिहीबारसम्ममा सबै जिल्लामा मतपत्र र निर्वाचन सामग्री ढुवानी भइसक्नेछ । आयोगका अनुसार भौगोलिक अवस्थाअनुसार ५ जिल्लामा हवाई माध्यमबाट र अन्य जिल्लामा स्थलमार्गबाट मतपत्र ढुवानी गरिएको हो ।
सेनाले २०४८ सालयताका सबै निर्वाचनमा मतपत्र छपाइस्थलको सुरक्षा, काठमाडौंबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी गर्दै आएको छ । निर्वाचनको दिन मतदानस्थलमा तेस्रो घेरामा सेनाले सुरक्षा दिँदै आएको छ । मतदान सकिएपछि भने निर्वाचन अधिकृतलगायत दलका प्रतिनिधिसहितको एकीकृत टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई मतगणनास्थलसम्म लैजाने काम गर्दै आएको छ ।
एकीकृत सुरक्षा योजनाअनुसार सेनाले निर्वाचनका दौरान मतदान केन्द्र तथा मतगणनास्थलको सुरक्षा, हवाई गस्ती, शंकास्पद वस्तु निष्क्रिय पार्नेलगायत कार्य गर्ने प्रवक्ता बस्नेतको भनाइ छ । भौगोलिक विकट स्थानमा सडक तथा बाटोमा जमेका हिउँ पन्छाएर बाटो खुलाई निर्वाचन सामग्री ढुवानी र व्यवस्थापन गरिरहेको उनको भनाइ छ । कारागार, विमानस्थल तथा सरकारी कार्यालयसहित अन्य सुरक्षा निकायले सुरक्षा प्रदान गरिरहेका १ सय १६ महत्वपूर्ण संरचनाको सुरक्षाका लागिसमेत सेना खटिएको छ ।
निर्वाचन सुरक्षासम्बन्धी गतिविधिको केन्द्रीय र स्थानीय तहबाट निरन्तर अनुगमन भइरहेको सेनाले जनाएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न कमान्ड सेन्टर र फिल्डमा खटिएका फौजको निरीक्षण गरेर आवश्यक निर्देशन दिने कार्य जारी रहेको प्रवक्ता बस्नेतको भनाइ छ । १४३ अस्थायी मतदान केन्द्र निर्धारण निर्वाचन आयोगले देशैभर १ सय ४३ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ ।
बुधबार आयोगले निर्वाचन केन्द्र र अस्थायी मतदाताको विवरण सार्वजनिक गरेको हो । आयोगले २१ फागुनका लागि खटिने कर्मचारी, सेना, प्रहरीलगायतका लागि अस्थायी मतदान केन्द्र निर्धारण गरेको आयोगका सहायक प्रवक्ता सीता श्रीष पुनले जानकारी दिइन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका सेना, प्रहरी तथा कर्मचारीलाई अस्थायी मतदाताको रूपमा सूचीकृत गरिएको आयोगले जनाएको छ ।
आसन्न निर्वाचनमा १ लाख ८६ हजार अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ । अस्थायी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मात्रै मतदान गर्न पाउने आयोगकी सहायक प्रवक्ता पुनले जानकारी दिइन् । मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरूलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था गर्ने गरी आयोगले आह्वान गरेको थियो ।
आयोगले गरेको यो व्यवस्था अनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम अस्थायी मतदाता नामावलीमा समावेश छ ।
यस्तो निर्वाचन केन्द्रमा राज्यको संरक्षणमा रहेका ज्येष्ठ नागरिकसमेत अस्थायी मतदाताको रुपमा सहभागी हुन पाउनेछन् । आयोगले यस अघि नै २३ हजार १ सय १२ नियमित मतदान केन्द्र निर्धारण गरेको छ । निर्धारित मतदान केन्द्रका लागि आवश्यक जनशक्ति तथा आवश्यक सामग्री र मतपत्र समेत पठाइसकेको आयोगले जनाएको छ । आयोगका अनुसार कोशीमा २४, मधेशमा १८, बागमतीमा २६, गण्डकीमा १७, लुम्बिनीमा २३, कर्णालीमा १८ र सुदूर पश्चिममा १७ अस्थायी मतदान केन्द्र रहेका छन् ।राजधानी दैनिकबाट
प्रतिक्रिया