• २०८३ असार ३२ | Thu, 16 Jul 2026

फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

सिन्धुपाल्चोक । फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव अभिभावक भेला, पूर्व–प्राथमिक तह (यूकेजी) दीक्षान्त, सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रमसहित भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन विश्व मानव अधिकार संगठनका केन्द्रीय महासचिव डा. राजेन्द्र कोजु र विद्यालयका संस्थापक अध्यक्ष तथा सभाध्यक्ष रमा रम्तेलले संयुक्तरूपमा गरेका थिए ।

कार्यक्रमको अवसरमा प्रमुख अतिथि डा. कोजुले जलवीरे जस्तो क्षेत्रको सानो विद्यालयले प्रस्तुत गरेको कार्यक्रम “सुगम सरह र बनावटी नभई यथार्थमा आधारित” रहेको उल्लेख गर्दै प्रशंसा गरे । उनले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको स्तर उदाहरणीय रहेको बताउँदै उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिसहित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “यस क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षाका लागि हाम्रो ढोका खुला छ ।” उनले भने ।

सभाध्यक्ष तथा संस्थापक अध्यक्ष रमा रम्तेलले विद्यालय स्थापनादेखि हालसम्मको पृष्ठभूमि प्रष्ट पार्दै समुदाय, अभिभावक र शिक्षकको सहकार्यकै कारण विद्यालयले निरन्तर प्रगति गरेको बताए । उनले आगामी वर्षहरूमा रचनात्मक तथा प्रयोगात्मक सिकाइलाई अझ प्रभावकारी बनाउँदै विद्यार्थी–केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अभिभावक, शिक्षक र विद्यार्थीप्रति धन्यवाद व्यक्त गरे।

कार्यक्रममा पूर्वप्राथमिक तह यूकेजीका १४ जना विद्यार्थीलाई अभिभावकको उपस्थितीमा प्रमुख अतिथीबाट प्रमाणपत्र प्रदान गरिएको थियो । दीक्षित विद्यार्थीहरूले अङ्ग्रेजीमा आफ्नो परिचय प्रस्तुत गरेका थिए भने साइमन नेपाली, अनुराग थापा र सुहाना थापाले विभिन्न विषयमा मन्तव्य राखेका थिए ।

पाँच वर्षदेखि विद्यालयमा निरन्तर अध्यापन गराउँदै आएका अभिभावक गणेशराज श्रेष्ठलाई सम्मान गरिएको थियो । शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा नर्सरीदेखि कक्षा ६ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी तथा अतिरिक्त क्रियाकलापमा सक्रिय र नियमित उपस्थित विद्यार्थीलाई मेडल प्रदान गरिएको थियो।

अभिभावकहरूबीच ‘तातो आलु’ खेल सञ्चालन गरी प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कारसमेत वितरण गरिएको थियो । शिक्षकहरूको सन्देशमूलक नृत्य, स्वागत पिरामिड, सामूहिक नृत्य र कविता वाचनले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रम्तेलले प्रमुख अतिथी, विशेष अतिथी तथा विद्यालयका कर्मचारीहरूलाई मायाको चिनो गरिएको थियो। कार्यक्रम सञ्चालन विद्यालयका प्रधानाध्यापक वेदलाल दुलालले गर्नुभएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १८, सोमबार ०४:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP