बनेपा । वसन्त कुइकेल, पछिल्लो समय उनको परिचय गायन पेशातिर पनि जोडिएको छ । ०४४ सालमा काभ्रेको बनेपा नगरपालिका वडानम्बर ६ मा जन्मिएका कुइकेल सानै उमेरदेखि गीत गाउनतिर रुची राख्थे । तर त्यतिबेला अहिले जस्तो गीत गाउन र रेकर्ड गर्न सजिलो थिएन । तैपनि आफ्नो रुचीलाई उनले मर्न दिएनन् । पारिवारिक कामहरुमा आफूलाई सक्रिय गराउँदै पनि उनले पछिल्ला दिनहरुमा गीतसंगीतमा पनि आफूलाई समर्पित गराए । यसपटक हामीले युवा गायक वसन्त कुइकेलसँग कुराकानी गरेका छौं । प्रस्तुत छ कालोटोपी डटकमका सम्पादक ज्ञानमणि नेपाल कालोटोपीले उनीसँग गरेको कुराकानीको सम्पादित अंशः
म तपाईंको जन्मकै प्रसङ्गबाट अघि बढ्छु, तपाईंको जन्म कति सालमा कुन ठाउँमा भयो ?
मेरो जन्म काभ्रे जिल्लाको बनेपा नगरपालिकास्थित २८ किलोमा ०४४ साल चैतमा मध्यम वर्गिय परिवारमा भएको हो ।
तपाईंको परिवारको शैक्षिक अवस्था कस्तो थियो ?
मेरो पारिवारिक शैक्षिक अवस्था मध्यम नै छ । बुबा नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । बुबाको औपचारिक शिक्षा कक्षा ९ सम्म थियो । भाइ र श्रीमतीको स्नातकसम्म छ । मैले चाहिँ बीचमा पढाई छोडेर फेरि अहिले स्नातकमै अध्ययन शुरु गरेको छु । जागिरको शिलशिलामा त्यतिबेला पढाइ रोकियो, अब निरन्तरता दिँदैछु ।
परिवार सामाजिक कामहरूमा कतिको सक्रिय छ ?, परिवारको आर्थिक अवस्था पनि बताइदिनुस न ।
मेरो परिवारको आर्थिक अवस्था भन्नुपर्दा मध्यम वर्गिय नै हो । परिवारमा हामी सबैजना सामाजिक काममा विशेष रुची राख्छौँ । बुबा विगत २ वर्षदेखि बनेपा खानेपानी संस्थाको अध्यक्ष हुनुहुन्छ । करिब ४५ घरधुरीका लागि २४ सै घण्टा खानेपानी उपलब्ध गराउने काममा उहाँ लागिरहनुभएको थियो । त्यसका साथै टोलसुधार संस्थाको अध्यक्ष रहेर पनि उहाँले काम गर्नुभएको छ । त्यसबाट मलाई पनि प्रेरणा मिलेको छ । सामाजिक काममा कसरी आफूलाई लगाउने भन्नेमा छु ।
जीवन कस्तो लाग्छ, के हो जस्तो लाग्छ ?
जीवन संघर्ष हो । यसलाई कसरी बुझ्ने व्यक्ति अनुसार फरक हुन्छ । तर हरेक व्यक्ति संघर्ष गर्नकै लागि जन्मिएका हुन्छन् जस्तो लाग्छ । बुझ्न सके यो सुन्दर फूल पनि हो ।
बाल्यकाल कसरी बिताउनुभयो ?, प्रारम्भिक शिक्षा कहाँ पाउनुभयो ?
मेरो बाल्यकाल रमाइलैमा बित्यो, खासै आर्थिक समस्या भोग्नु परेन । केटाकेटी बेलामा हुने रमाइला कार्यहरु गरियो, सबै त त्यति याद छैन । मेरो पढाईको कुरा गर्नु पर्दा घर नजिकैको भक्तेश्वर निमावि, बुडोलमा अध्ययन शुरु गरेको हुँ । १ देखि ६ कक्षासम्म यो विद्यालयमा पढियो, त्यसपछि सञ्जीवनी उच्च माविमा पढाइ निरन्तरता भयो । कक्षा १२ सम्म यहाँ पढियो । त्यसपछि काभ्रे बहुमुखी क्याम्पसमा स्नातक तहको अध्ययन गरेँ ।
बाल्यकालमा आफूलाई पढाउने गुरुहरूलाई कसरी सम्झनुहुन्छ ?
बाल्यकालदेखि नै म इमान्दार थिएँ । शिक्षकहरुले पनि धेरै माया गर्नुहुन्थ्यो, हौसला दिनुहुन्थ्यो । म मा आत्मविश्वास थियो । म त्यतिबेलाको गुरुहरु मध्ये प्रेमनाथ कोइराला सरलाई सम्झन चाहन्छु । उहाँले मेरो हरेक क्रियाकलापमा साथ दिनुभयो । गीतसंगितमा राम्रो छ, अघि बढ्नुपर्छ । सफल बन्न सकिन्छ भन्नुहुन्थ्यो । उहाँ धेरै माया गर्नुहुन्थ्यो ।
विद्यालय जीवनमा सहयोगी वा खराब नियत भएका केही साथीहरुको नाम लिनु पर्दा कसलाई कसरी सम्झनुहुन्छ ?
मेरो संगत खराब साथीहरुसँग त भएन । म सबैसँग मिल्ने स्वभावको थिएँ । सबैले सहयोग गर्थे, माया गर्थे, मैले गरेका कामहरुमा हौसला पनि दिन्थे । तैपनि केही साथीहरु मैले गरेका कामहरुबारे त्यति मतलब पनि नराख्ने, र समर्थन पनि नगर्ने खालका थिए । म त्यस्ता साथीहरुलाई त्यति ध्यानमा राख्दैनथेँ ।
जीवनमा पहिलो कमाइ कहिले कति पाउनुभयो ?, त्यो पैसा के मा खर्च गर्नुभयो ?
०७० साल असार १४ गते काठमाडौं विश्वविद्यालयमा पहिलोपटक जागिर खाएँ । त्यतिबेला ६ हजार तलब थियो । त्यो पैसाले बुबाआमालाई केही कपडा किनिदिएँ र साथीभाईहरुसँग खाजा खाएर खर्च गरियो । मैले परिवारमा त्यति धेरै सहयोग गर्नुपर्ने अवस्था थिएन । किनकी बुबा जागिरे नै हुनुहुन्थ्यो । तैपनि केही सहयोग त गरिरहन्थेँ म ।
काठमाडौँ विश्वविद्यालयमा कसरी प्रवेश गर्नुभयो ?, कुन–कुन संस्थामा हुनुहुन्छ ?
मलाई त्यस्तो धेरै समस्या त भएन । किनकी बुबा ०५८ सालदेखि त्यही विश्वविद्यालयमा कार्यरत हुनुहुन्थ्यो । उहाँले सबैलाई चिन्नु भएको थियो । जसले गर्दा मलाई सजिलै भयो । म हाल काठमाडौँ विश्वविद्यालयको पुस्तकालयमा कार्यरत छु । यसका साथै विगत ६ महिनादेखि एउटा साहित्यिक संस्था शब्दयात्रामा पनि संलग्न छु । यो संस्था बनेपा नगरपालिका वडानम्बर ६ मा रहेको छ ।
तपाईं गायकका रूपमा चिनिनुभएको छ । गायक बन्ने प्रेरणा कसरी पाउनुभयो ?
मेरो बच्चैदेखिको रुची हो गायन । साथमा पारिवारिक सहयोग पनि राम्रो थियो । ०६५ सालमा म्युजिक सिक्न पनि गइयो । तर त्यहाँ काम सिकेर रोजगारीको अलि समस्या भयो । अनि बीचमा लामो समय अरु कामहरुमा व्यस्त भइयो । त्यसपछि साहित्यकार हरि मञ्जुश्री, कृष्णमणि कुइकेलसँग भेट भयो । उहाँहरुकै सहयोगमा गीतसंगीततिर प्रवेश गर्न सजिलो भयो । उहाँहरुकै कारण फूल हौ भगवान भन्ने भजन गाउने अवसर पाइयो ।
गायक बन्नका लागि कति सङ्घर्ष गर्नुभयो ?, गीत स्वराङ्कन गराउन पहिलोपल्ट कसरी मौका पाउनुभयो ?
संघर्ष हरेक क्षेत्रमा हुन्छ । मैले पनि गायन क्षेत्रमा दुःख गरेको हुँ तर त्यस्तो भरपर्दो अवसर पाइएको थिएन । मेरो अंकल कृष्णमणि कुइकेलले हरि मञ्जुश्रीसँग भेटाइदिनुभयो । उहाँले मेरो स्वर राम्रो रहेको बताउँदै गीत रेकर्ड गरौँ भन्नुभयो । मैले त्यो अवसर सदुपयोग गरेँ र यस क्षेत्रमा प्रवेश गरेँ ।
तपाईंले आध्यात्मिक गानहरू मात्रै गाउनुभएको पाइन्छ, किन होला ?, प्रेम, मिलन, वियोग र सामाजिक समस्याका गीतहरू गाउन पाए गाउनुहुन्छ ?
शुरुमा मैले भजनबाटै गीतसंगीतमा प्रवेश गरेँ, तर मेरो रुची अरु गीतहरु गाउनतिर पनि छ । किनकी गायन क्षेत्र निकै फराकिलो छ । यहाँ एउटा मात्र गीत गाउने भन्ने हुँदैन । समय सन्दर्भ अनुसार जे मा राम्रो हुन्छ जस्तो लाग्छ, त्यसमा अघि बढ्नुपर्छ जस्तो लाग्छ ।
तपाईंले हरि मञ्जुश्रीको शब्द र सङ्गीतमा मात्रै गीत गाउनुको कारण के हो ?
मलाई यस क्षेत्रमा धेरै सहयोग गर्ने गुरुको रुपमा हुनुहुन्छ, हरि मञ्जुश्री । किनकी उहाँकै प्रेरणाले म अघि बढेको हुँ । अरु साथीहरुसँग हालसम्म धेरै चिनजान थिएन । तर मैले अरुका गीतहरु नगाउने भन्ने होइन, मलाई जुनसुकै क्षेत्रका गीतहरु पनि गाउन सक्छु भन्ने आत्मविश्वास छ । शुरुमा भजनहरु गाएँ तर यसमा मात्र म सिमित हुन सक्दिनँ । आगामी दिनहरुमा अरु गीतहरु पनि गाउने विचारमा छु ।
गायन क्षेत्रमा परिवारको सहयोग छ कि छैन ?, साथीहरूले हौसला दिएका छन् ?
परिवारको धेरै सहयोग छ नि, परिवारकै सहयोग नभए त अघि बढ्नै सकिँदैन । साथीहरुले पनि राम्रो छ, अघि बढ्दै जाउ भन्नु भएको छ । म यसमा धेरै खुशी छु ।
गायनलाई निरन्तरता दिइरहने चाहना छ कि सोख पूरा भइहाल्यो भनेर छोड्ने विचार छ ?
निरन्तरता दिने नै हो । पूरै यसैमा मात्र लाग्न नसकेपनि आफ्नो काम, परिवार, सबैतिर समय मिलाउँदै बिदाको समयको सदुपयोग गर्दै गीतसंगीतलाई पनि निरन्तरता दिने सोच छ ।
सचेत नागरिकका रूपमा भन्नुपर्दा तपाईं आफ्नो देश कस्तो बनेको देख्न चाहनुहुन्छ ?
गत भदौमा भएको जेनजी पुस्ताको आन्दोलनले नेपालको राजनीतिक कोर्ष नै फेरिएको छ । पुराना दलहरुले जनचाहनाअनुसार काम गर्न सकेनन् । भर्खरै देशमा निर्वाचन सम्पन्न भएर एउटा बलियो र आशालाग्दो सरकार बनेको छ । यसले केही गर्ला भन्ने आशा छ । परिवर्तन हुनुपर्छ जस्तो लाग्छ ।
व्यस्तताका बीचमा पनि कुराकानीका लागि समय दिनुभयो, धन्यवाद ।
मलाई पनि आफ्ना विचारहरु व्यक्त गर्ने अवसर दिनुभएकोमा तपाईँ र तपाईंको सञ्चार माध्यमलाई पनि धेरै धेरै धन्यवाद छ ।
प्रतिक्रिया