• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

अन्तर्वार्ताः गायन क्षेत्र निकै फराकिलो छ, यसमा धेरै काम गर्न बाँकी छः वसन्त कुइकेल, (गायक)

अन्तर्वार्ताः गायन क्षेत्र निकै फराकिलो छ, यसमा धेरै काम गर्न बाँकी छः वसन्त कुइकेल, (गायक)

बनेपा । वसन्त कुइकेल, पछिल्लो समय उनको परिचय गायन पेशातिर पनि जोडिएको छ । ०४४ सालमा काभ्रेको बनेपा नगरपालिका वडानम्बर ६ मा जन्मिएका कुइकेल सानै उमेरदेखि गीत गाउनतिर रुची राख्थे । तर त्यतिबेला अहिले जस्तो गीत गाउन र रेकर्ड गर्न सजिलो थिएन । तैपनि आफ्नो रुचीलाई उनले मर्न दिएनन् । पारिवारिक कामहरुमा आफूलाई सक्रिय गराउँदै पनि उनले पछिल्ला दिनहरुमा गीतसंगीतमा पनि आफूलाई समर्पित गराए । यसपटक हामीले युवा गायक वसन्त कुइकेलसँग कुराकानी गरेका छौं । प्रस्तुत छ कालोटोपी डटकमका सम्पादक ज्ञानमणि नेपाल कालोटोपीले उनीसँग गरेको कुराकानीको सम्पादित अंशः

म तपाईंको जन्मकै प्रसङ्गबाट अघि बढ्छु, तपाईंको जन्म कति सालमा कुन ठाउँमा भयो ?
मेरो जन्म काभ्रे जिल्लाको बनेपा नगरपालिकास्थित २८ किलोमा ०४४ साल चैतमा मध्यम वर्गिय परिवारमा भएको हो ।

तपाईंको परिवारको शैक्षिक अवस्था कस्तो थियो ?
मेरो पारिवारिक शैक्षिक अवस्था मध्यम नै छ । बुबा नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । बुबाको औपचारिक शिक्षा कक्षा ९ सम्म थियो । भाइ र श्रीमतीको स्नातकसम्म छ । मैले चाहिँ बीचमा पढाई छोडेर फेरि अहिले स्नातकमै अध्ययन शुरु गरेको छु । जागिरको शिलशिलामा त्यतिबेला पढाइ रोकियो, अब निरन्तरता दिँदैछु ।

परिवार सामाजिक कामहरूमा कतिको सक्रिय छ ?, परिवारको आर्थिक अवस्था पनि बताइदिनुस न ।
मेरो परिवारको आर्थिक अवस्था भन्नुपर्दा मध्यम वर्गिय नै हो । परिवारमा हामी सबैजना सामाजिक काममा विशेष रुची राख्छौँ । बुबा विगत २ वर्षदेखि बनेपा खानेपानी संस्थाको अध्यक्ष हुनुहुन्छ । करिब ४५ घरधुरीका लागि २४ सै घण्टा खानेपानी उपलब्ध गराउने काममा उहाँ लागिरहनुभएको थियो । त्यसका साथै टोलसुधार संस्थाको अध्यक्ष रहेर पनि उहाँले काम गर्नुभएको छ । त्यसबाट मलाई पनि प्रेरणा मिलेको छ । सामाजिक काममा कसरी आफूलाई लगाउने भन्नेमा छु ।

जीवन कस्तो लाग्छ, के हो जस्तो लाग्छ ?
जीवन संघर्ष हो । यसलाई कसरी बुझ्ने व्यक्ति अनुसार फरक हुन्छ । तर हरेक व्यक्ति संघर्ष गर्नकै लागि जन्मिएका हुन्छन् जस्तो लाग्छ । बुझ्न सके यो सुन्दर फूल पनि हो ।

बाल्यकाल कसरी बिताउनुभयो ?, प्रारम्भिक शिक्षा कहाँ पाउनुभयो ?
मेरो बाल्यकाल रमाइलैमा बित्यो, खासै आर्थिक समस्या भोग्नु परेन । केटाकेटी बेलामा हुने रमाइला कार्यहरु गरियो, सबै त त्यति याद छैन । मेरो पढाईको कुरा गर्नु पर्दा घर नजिकैको भक्तेश्वर निमावि, बुडोलमा अध्ययन शुरु गरेको हुँ । १ देखि ६ कक्षासम्म यो विद्यालयमा पढियो, त्यसपछि सञ्जीवनी उच्च माविमा पढाइ निरन्तरता भयो । कक्षा १२ सम्म यहाँ पढियो । त्यसपछि काभ्रे बहुमुखी क्याम्पसमा स्नातक तहको अध्ययन गरेँ ।

बाल्यकालमा आफूलाई पढाउने गुरुहरूलाई कसरी सम्झनुहुन्छ ?
बाल्यकालदेखि नै म इमान्दार थिएँ । शिक्षकहरुले पनि धेरै माया गर्नुहुन्थ्यो, हौसला दिनुहुन्थ्यो । म मा आत्मविश्वास थियो । म त्यतिबेलाको गुरुहरु मध्ये प्रेमनाथ कोइराला सरलाई सम्झन चाहन्छु । उहाँले मेरो हरेक क्रियाकलापमा साथ दिनुभयो । गीतसंगितमा राम्रो छ, अघि बढ्नुपर्छ । सफल बन्न सकिन्छ भन्नुहुन्थ्यो । उहाँ धेरै माया गर्नुहुन्थ्यो ।

विद्यालय जीवनमा सहयोगी वा खराब नियत भएका केही साथीहरुको नाम लिनु पर्दा कसलाई कसरी सम्झनुहुन्छ ?
मेरो संगत खराब साथीहरुसँग त भएन । म सबैसँग मिल्ने स्वभावको थिएँ । सबैले सहयोग गर्थे, माया गर्थे, मैले गरेका कामहरुमा हौसला पनि दिन्थे । तैपनि केही साथीहरु मैले गरेका कामहरुबारे त्यति मतलब पनि नराख्ने, र समर्थन पनि नगर्ने खालका थिए । म त्यस्ता साथीहरुलाई त्यति ध्यानमा राख्दैनथेँ ।

जीवनमा पहिलो कमाइ कहिले कति पाउनुभयो ?, त्यो पैसा के मा खर्च गर्नुभयो ?
०७० साल असार १४ गते काठमाडौं विश्वविद्यालयमा पहिलोपटक जागिर खाएँ । त्यतिबेला ६ हजार तलब थियो । त्यो पैसाले बुबाआमालाई केही कपडा किनिदिएँ र साथीभाईहरुसँग खाजा खाएर खर्च गरियो । मैले परिवारमा त्यति धेरै सहयोग गर्नुपर्ने अवस्था थिएन । किनकी बुबा जागिरे नै हुनुहुन्थ्यो । तैपनि केही सहयोग त गरिरहन्थेँ म ।

काठमाडौँ विश्वविद्यालयमा कसरी प्रवेश गर्नुभयो ?, कुन–कुन संस्थामा हुनुहुन्छ ?
मलाई त्यस्तो धेरै समस्या त भएन । किनकी बुबा ०५८ सालदेखि त्यही विश्वविद्यालयमा कार्यरत हुनुहुन्थ्यो । उहाँले सबैलाई चिन्नु भएको थियो । जसले गर्दा मलाई सजिलै भयो । म हाल काठमाडौँ विश्वविद्यालयको पुस्तकालयमा कार्यरत छु । यसका साथै विगत ६ महिनादेखि एउटा साहित्यिक संस्था शब्दयात्रामा पनि संलग्न छु । यो संस्था बनेपा नगरपालिका वडानम्बर ६ मा रहेको छ ।

तपाईं गायकका रूपमा चिनिनुभएको छ । गायक बन्ने प्रेरणा कसरी पाउनुभयो ?
मेरो बच्चैदेखिको रुची हो गायन । साथमा पारिवारिक सहयोग पनि राम्रो थियो । ०६५ सालमा म्युजिक सिक्न पनि गइयो । तर त्यहाँ काम सिकेर रोजगारीको अलि समस्या भयो । अनि बीचमा लामो समय अरु कामहरुमा व्यस्त भइयो । त्यसपछि साहित्यकार हरि मञ्जुश्री, कृष्णमणि कुइकेलसँग भेट भयो । उहाँहरुकै सहयोगमा गीतसंगीततिर प्रवेश गर्न सजिलो भयो । उहाँहरुकै कारण फूल हौ भगवान भन्ने भजन गाउने अवसर पाइयो ।

गायक बन्नका लागि कति सङ्घर्ष गर्नुभयो ?, गीत स्वराङ्कन गराउन पहिलोपल्ट कसरी मौका पाउनुभयो ?
संघर्ष हरेक क्षेत्रमा हुन्छ । मैले पनि गायन क्षेत्रमा दुःख गरेको हुँ तर त्यस्तो भरपर्दो अवसर पाइएको थिएन । मेरो अंकल कृष्णमणि कुइकेलले हरि मञ्जुश्रीसँग भेटाइदिनुभयो । उहाँले मेरो स्वर राम्रो रहेको बताउँदै गीत रेकर्ड गरौँ भन्नुभयो । मैले त्यो अवसर सदुपयोग गरेँ र यस क्षेत्रमा प्रवेश गरेँ ।

तपाईंले आध्यात्मिक गानहरू मात्रै गाउनुभएको पाइन्छ, किन होला ?, प्रेम, मिलन, वियोग र सामाजिक समस्याका गीतहरू गाउन पाए गाउनुहुन्छ ?
शुरुमा मैले भजनबाटै गीतसंगीतमा प्रवेश गरेँ, तर मेरो रुची अरु गीतहरु गाउनतिर पनि छ । किनकी गायन क्षेत्र निकै फराकिलो छ । यहाँ एउटा मात्र गीत गाउने भन्ने हुँदैन । समय सन्दर्भ अनुसार जे मा राम्रो हुन्छ जस्तो लाग्छ, त्यसमा अघि बढ्नुपर्छ जस्तो लाग्छ ।

तपाईंले हरि मञ्जुश्रीको शब्द र सङ्गीतमा मात्रै गीत गाउनुको कारण के हो ?
मलाई यस क्षेत्रमा धेरै सहयोग गर्ने गुरुको रुपमा हुनुहुन्छ, हरि मञ्जुश्री । किनकी उहाँकै प्रेरणाले म अघि बढेको हुँ । अरु साथीहरुसँग हालसम्म धेरै चिनजान थिएन । तर मैले अरुका गीतहरु नगाउने भन्ने होइन, मलाई जुनसुकै क्षेत्रका गीतहरु पनि गाउन सक्छु भन्ने आत्मविश्वास छ । शुरुमा भजनहरु गाएँ तर यसमा मात्र म सिमित हुन सक्दिनँ । आगामी दिनहरुमा अरु गीतहरु पनि गाउने विचारमा छु ।

गायन क्षेत्रमा परिवारको सहयोग छ कि छैन ?, साथीहरूले हौसला दिएका छन् ?
परिवारको धेरै सहयोग छ नि, परिवारकै सहयोग नभए त अघि बढ्नै सकिँदैन । साथीहरुले पनि राम्रो छ, अघि बढ्दै जाउ भन्नु भएको छ । म यसमा धेरै खुशी छु ।

गायनलाई निरन्तरता दिइरहने चाहना छ कि सोख पूरा भइहाल्यो भनेर छोड्ने विचार छ ?
निरन्तरता दिने नै हो । पूरै यसैमा मात्र लाग्न नसकेपनि आफ्नो काम, परिवार, सबैतिर समय मिलाउँदै बिदाको समयको सदुपयोग गर्दै गीतसंगीतलाई पनि निरन्तरता दिने सोच छ ।

सचेत नागरिकका रूपमा भन्नुपर्दा तपाईं आफ्नो देश कस्तो बनेको देख्न चाहनुहुन्छ ?
गत भदौमा भएको जेनजी पुस्ताको आन्दोलनले नेपालको राजनीतिक कोर्ष नै फेरिएको छ । पुराना दलहरुले जनचाहनाअनुसार काम गर्न सकेनन् । भर्खरै देशमा निर्वाचन सम्पन्न भएर एउटा बलियो र आशालाग्दो सरकार बनेको छ । यसले केही गर्ला भन्ने आशा छ । परिवर्तन हुनुपर्छ जस्तो लाग्छ ।

व्यस्तताका बीचमा पनि कुराकानीका लागि समय दिनुभयो, धन्यवाद ।
मलाई पनि आफ्ना विचारहरु व्यक्त गर्ने अवसर दिनुभएकोमा तपाईँ र तपाईंको सञ्चार माध्यमलाई पनि धेरै धेरै धन्यवाद छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १४, सोमबार ०१:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP