काठमाडाैँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू महेशशर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरूलाई पक्राउ नगर्न सोमबार अन्तरिम आदेश जारी गरेको हो ।
यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा छलफलका लागि झिकाउन आदेश दिएको थियो ।
देउवाविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ । सर्वोच्चमा उनले उक्त मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको उल्लेख गरेका छन् ।
त्यस्तै काठमाडौँ जिल्ला अदालतसँग क्षेत्राधिकार नै नभए पनि पूर्जी जारी भएको रिटमा उल्लेख गरेका छन् । देउवाले अनुसन्धानमा सहयोग गर्न मञ्जुर भएको, सम्पत्तिको स्रोत देखाउन तयार रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् ।
देउवा दम्पती पछिल्लो समय हङकङ गएका थिए । उनी त्यहाँबाट काठमाडौँ फर्किएका छैनन् । उनी विरूद्ध विभागले रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया थालेको थियो तर इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छैन ।
प्रतिक्रिया