रामेछाप, खाँडादेवी । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–७, टिमुस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत थामी तथा दलित समुदायका ६७ जना विद्यार्थीलाई निःशुल्क ट्रयाकसुट वितरण गरिएको छ ।
हर्भे नेपाल फाउण्डेशनको सहयोगमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक दिलिपकुमार श्रेष्ठका अनुसार उक्त सहयोग उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने फाउण्डेशनका संस्थापक सदस्य केशवबहादुर खत्री तथा बोर्ड सदस्यहरू सुलभ पाण्डे र कृष्ण खड्काप्रति विद्यालयले आभार व्यक्त गरेको छ ।
त्यसैगरी, सहयोग समन्वय तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउनुभएका समाजसेवी एवं खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङलाई पनि विद्यालयको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको छ ।
प्रधानाध्यापक श्रेष्ठले हर्भे नेपाल फाउण्डेशनको सामाजिक सेवामूलक कार्यको प्रशंसा गर्दै संस्थाको उत्तरोत्तर प्रगति, उन्नति तथा सफलताको कामना गरेका छन् ।

उल्लेखनीय छ, केही दिनअघि मात्र कान्छीमाया तामाङ फाउण्डेशनले पनि यही विद्यालयमा अध्ययनरत १८२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको थियो । विभिन्न संघसंस्थाहरूबाट प्राप्त यस्ता सहयोगले विद्यालयका विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुगेको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया