• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026

भनिने मेरिटोक्रेसी, नियुक्ति पाउने पूर्वनिर्धारित उमेदवारले

भनिने मेरिटोक्रेसी, नियुक्ति पाउने पूर्वनिर्धारित उमेदवारले

— मुकुन्दप्रसाद उपाध्याय
पछिल्लो एक दशकयता नेपालमा चर्चामा रहेको एउटा शब्द हो ‘मेरिटोक्रेसी’ । नेपाल सरकारले गर्ने नियुक्तितर्फ आयोग, आयोजना, संस्थान, प्रतिष्ठान एवम् विश्वविद्यालयहरूमा पारदर्शी ढङ्गबाट मेरिटोक्रेसीमा योग्य र सक्षम व्यक्ति नियुक्त गर्ने भनेर तदनुसार अभ्यासहरू पनि भएको देखियो ।

सार्वजनिक सूचना गर्ने, क्राइटेरिया र निर्देशिका बनाउने, उमेदवारको लघुसूचीकरण (सर्टलिस्टिङ) गर्ने, भिजन पेपर लेख्न लगाउने, त्यसको प्रस्तुतीकरण पनि गर्न लगाउने, विश्वविद्यालयको हकमा अनुसन्धानात्मक प्रकाशनको मूल्याङ्कन गराई केही उमेदवारको विषय विशेषज्ञ आमन्त्रित गरी अन्तर्वार्तासमेत लिएर नियुक्त गर्ने गरिएको देखिन्छ । तर यथार्थमा यी सबै प्रक्रियाहरू देखाउने दाँतहरू हुन् । चपाउने दाँतमा राजनीतिक भागबण्डा वा आर्थिक लेनदेनका आधारमा पूर्वनिर्धारित उमेदवारले नै सर्वोत्कृष्ट अङ्क पाएको गराइन्छ र भागबण्डा अनुसार माथिबाट आएको नामलाई नै सिफारिस गर्न लगाई तदनुसार नियुक्त गर्ने गरिएको छ ।

मेरिटोक्रेसीको अभ्यास अन्तर्गत हुने गरेका यति धेरै विधि र प्रक्रियाहरू के हुन् त भन्ने स्वाभाविक जिज्ञासा उत्पन्न हुन्छ । त्यो स्वाभाविक पनि हो । यी सबै प्रक्रियाहरूलाई पौराणिक भाषामा कर्मकाण्ड भनिन्छ । नित्य कर्म, नैमित्तिक कर्म र काम्य कर्म सम्पादन गर्ने विधि र प्रक्रियालाई कर्मकाण्ड भनिन्छ । हाम्रो वैदिक परम्परा अनुसार हाम्रा संस्कारहरू हुन्छन् । पुंसवन, जातकर्म, नामकरण, अन्नप्राशन, उपनयन, क्षौर, विद्यारम्भ, व्रतबन्ध, विवाह, मृत्यु संस्कार आदि अनिवार्य संस्कारहरू हुन् ।

व्रतबन्ध, विवाह र मृत्यु संस्कारलाई महत्त्वपूर्ण मानेकाले यसमा धेरै विधि र प्रक्रियाहरू राखिएका हुन्छन् । अर्थात् क्षौर, विद्यारम्भ, जनैधारण, मन्त्र प्राप्तिपछि सबैलाई समायोजन गरी उपनयन वा व्रतबन्धमा सबै कर्महरू पूरा गरिन्छ । नेपाल सरकारको मेरिटोक्रेसी भनेको व्रतबन्धको कर्मकाण्ड गरे जस्तै हो । व्रतबन्धमा पनि कपाल काट्ने, यज्ञ गर्ने, उपवास बस्ने, मन्त्र सुनाउने, जनै लगाइदिने, वेदारम्भ गर्ने आदि सबै विधि र प्रक्रियाहरू हुन्छन् । तर वटुक (व्रतबन्ध गरिने पात्र) पूर्वनिर्धारित हुन्छ, त्यसमा अन्यथा हुँदैन । बरू विवाह संस्कारमा वरबधू पूर्वनिर्धारित भए पनि यदाकदा झुक्किएर वा परबन्धले वर वा बधू परिवर्तन भएका घटनाहरू सुन्नमा आउँछन् । तर व्रतबन्धमा त्यस्तो हुँदैन । कुनै पनि हालतमा पूर्वनिर्धारित वटुक परिवर्तन हुँदैन । ठीक यसरी नै अचेल मेरिटोक्रेसी नौटङ्की भजनमा झुक्किएर पनि पूर्वनिर्धारित (भागबण्डा वा लेनदेनमा तय भएको पात्र) उमेदवारलाई नै नियुक्ति दिइन्छ । नियुक्तिपत्रलाई जनैका रूपमा बुझौँ अनि शपथग्रहणलाई मन्त्रदानका रूपमा ।

त्यसैले अचेल सरकारले नियुक्तिका लागि पारदर्शी ढङ्गले गर्ने पदपूर्तिसम्बन्धी विज्ञापनमा यथार्थमा योग्य, दक्ष र स्वाभिमानी व्यक्तिहरू निवेदन नै दिँदैनन् । वर्तमानको अतियथार्थवादी राजनीतिमा यो अस्वाभाविक होइन । न्यायाधीशहरू फैसलाधीश अनि न्यायालयहरू मुद्दामामिला प्राधिकरणमा रूपान्तरण भइसकेको स्थितिमा यसलाई सहर्ष स्वीकार्नुको विकल्प पनि छैन ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २२, शुक्रबार १६:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP