काभ्रेपलाञ्चोक । अमेरिकी डलर सस्तोमा उपलब्ध गराइ नेपाली रुपैयाँ साटिदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काभ्रेपलाञ्चोकका अनुसार बनेपा नगरपालिका–३ का २६ वर्षीय सुनिल डुम्जनलाई पक्राउ गरी ठगी तथा संगठित अपराध मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार डुम्जनले विभिन्न व्यक्तिलाई अमेरिकी ५० डलरको नोट देखाई ठूलो रकम बराबरको डलर उपलब्ध गराइदिने भन्दै झुक्याएर रकम असुल्ने गरेका थिए । अनुसन्धानका क्रममा तीनवटा ठगीका घटना खुलेका छन् ।
२०८२ चैत २४ गते बनेपा–३ स्थित जंगल क्षेत्रमा एक व्यक्तिबाट ५ लाख रुपैयाँ ठगी गरिएको ।
२०८३ असार ५ गते बनेपा–३ शान्तिटोल नजिक जंगल क्षेत्रमा अर्को व्यक्तिबाट २३ लाख रुपैयाँ ठगी गरिएको ।
२०८३ असार ६ गते बनेपा–१ रानीकाेट क्षेत्रमा एक व्यक्तिबाट २० लाख रुपैयाँ ठगी गरिएको।
प्रहरीका अनुसार अभियुक्तले विभिन्न मोबाइल नम्बर प्रयोग गरी योजनाबद्धरूपमा सर्वसाधारणलाई सम्पर्क गरेर आर्थिक प्रलोभनमा पारी ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका डुम्जनविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा घटनामा प्रयोग भएको टीभीएस स्कुटर, मोबाइल फोन, सिमकार्ड, कपडा, कापी तथा नगद २३ हजार ६० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले यस्ता प्रलोभनमा नपरी कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गर्नुभएकाे छ ।

तस्बिर: ठगी आरोपमा पक्राउ परेका सुनिल डुम्जन । (तस्बिरः जिल्ला प्रहरी परिसर, काभ्रेपलाञ्चोक)
प्रतिक्रिया