काभ्रे । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ जौबारी (धाप) निवासी हेमलाल योन्जनको घरमा शनिबार बिहान करिब ९ः३० बजे अचानक आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
महाभारत गाउँपालिका–१ निवासी गुन्जमान योञ्जनका छोरा हेमलाल योञ्जन र बुहारी निरमाया योञ्जनको घरमा लागेको आगोले घरभित्र रहेका अन्नबाली, लत्ताकपडा, खाद्यान्न, घरमा रहेका महत्त्वपूर्ण कागजातलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागीबाट ठूलो धनमालको क्षति भए पनि मानवीय क्षति भने नभएको जनाइएको छ ।
दुःखद घटनाप्रति महाभारत गाउँपालिका र वडा नं. १ कार्यालयले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराएको छ । गाउँपालिका र वडाको संयुक्त पहलमा ४ बोरा चामल, ५ किलो नुन, ५ लिटर खाने तेल, ५ किलो चिउरा, ५ किलो दाल, ५ प्याकेट मस्यौरा, २ वटा त्रिपाल तथा ओछ्याउने म्याटलगायतका राहत सामग्री पीडितको घरमै पुगेर वितरण गरिएको वडा नं. १ का वडाध्यक्ष कान्छामान जिम्बाले जानकारी दिनुभयो ।
वडाध्यक्ष जिम्बाले विपद्को यस कठिन घडीमा पीडित परिवारलाई आवश्यक सहयोग गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै स्थानीय समुदाय र सरोकारवाला सबैलाई पीडितको साथमा उभिन आग्रह गर्नुभयो ।

यसैबीच, आगलागीबाट सबै सम्पत्ति गुमाएका हेमलाल योञ्जनको परिवारलाई सक्दो आर्थिक, भौतिक वा अन्य कुनै पनि प्रकारको सहयोग गरिदिन आफन्त, साथीभाइ, छिमेकी तथा सहयोगी मन भएका सबै महानुभावहरूमा हार्दिक अपिल गरिएको छ । कठिन परिस्थितिमा परेको परिवारलाई सहयोग गरी मानवीय सहकार्यको भावना प्रदर्शन गर्न स्थानीयवासीले समेत अनुरोध गरेका छन् ।
प्रतिक्रिया