पनौती । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ स्थित काभ्रे इङ्गलिश माध्यमिक विद्यालयले पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशनको अवसरमा आइतबार निःशुल्क दन्त शिविर आयोजना गरेको छ । विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाको मुख तथा दाँत स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल वसन्तराज नेपालका अनुसार शिविरमा करिब ४०० जना अभिभावक, ५०० जना विद्यार्थी तथा ६० जना शिक्षक/कर्मचारी सहभागी भएका थिए । शिविरमा उपस्थित सबै अभिभावक, विद्यार्थी तथा शिक्षक–शिक्षिकाको दाँत परीक्षण गरिएको थियो ।
दाँत परीक्षणसँगै सहभागीहरूलाई दाँतको संरक्षण, मुख स्वास्थ्यको महत्व, दाँतमा देखिने सामान्य समस्याहरू, तिनका कारण तथा समाधानका उपाय, नियमित दन्त परीक्षणको आवश्यकता र सही तरिकाले दाँत सफा गर्ने विधिबारे पनि जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा विशेषज्ञहरूले दिनमा कम्तीमा दुई पटक दाँत माझ्ने, अत्यधिक गुलियो खानेकुरा सेवनपछि मुख सफा गर्ने तथा समय–समयमा दन्त परीक्षण गराउने बानीले दाँतसम्बन्धी धेरै समस्याबाट बच्न सकिने सुझाव दिएका थिए ।
विद्यालयले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई समेत उत्तिकै महत्व दिँदै यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू नियमितरूपमा सञ्चालन गर्दै आएको जनाएको छ । यस्ता कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकबीच स्वास्थ्य सचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयको छ ।

हाल काभ्रे इङ्गलिश माध्यमिक विद्यालयमा १ हजार २०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
प्रतिक्रिया