सिन्धुपाल्चोक। मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले तथ्यांक संकलनका क्रममा तथ्यमा आधारित र स्पष्ट सूचना संकलन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
एक जिल्ला एक स्वास्थ्य सहर कार्यक्रम अन्तर्गत तथ्यांक संकलन कार्यमा संलग्न स्वास्थ्यकर्मीहरूका लागि आयोजित Kobo Tool Box अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख तामाङले जनस्वास्थ्य अत्यन्त संवेदनशील विषय भएकाले तथ्यांक संकलन गर्दा उच्च सतर्कता र जिम्मेवारीका साथ काम गर्नुपर्ने बताउनुभयो। उहाँले सही तथ्यांकले मात्र प्रभावकारी योजना निर्माण र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले सर्वेक्षण कार्यलाई निष्पक्ष, तथ्यपरक र विश्वसनीय बनाउन संकलकहरूलाई निर्देशन दिनुभयो। उहाँले संकलित तथ्यांकको गुणस्तरले कार्यक्रमको प्रभावकारितामा प्रत्यक्ष असर पार्ने भएकाले जिम्मेवारीपूर्वक कार्य गर्न आग्रह गर्नुभयो ।
मेलम्ची नगरपालिकाको समन्वय तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा स्वास्थ्य क्षेत्रका कर्मचारी तथा तथ्यांक संकलनमा संलग्न स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया