काठमाडौं । देशभर मनसुनी वायुको सक्रिय प्रभावका कारण आज धेरै स्थानमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तराई नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली तथा पहाडी भागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका हिमाली भाग, तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भाग र लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति पनि देशभरको मौसममा बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा मधेस, कोशी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
राति विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाडी र तराई भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै छ ।
मनसुनी प्रभाव र भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम उच्च हुन सक्छ । तसर्थ, नदी तटीय क्षेत्रका बासिन्दा, पहाडी क्षेत्रका सडक प्रयोगकर्ता र यात्रुहरूलाई उच्च सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।
प्रतिक्रिया