ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल । आवश्यक हुने मुख्य सिजनमै मल अभावले छटपटिएका किसानका लागि सरकारले एउटा आश्वासनको गुलियो पोको पठाएको छ । कृषि सामाग्री कम्पनी धुलिखेलमा भर्खरै मलको कोटा आएको छ तर मल कहिले आउने टुंगो छैन । कार्यालयका प्रमुख आलोककुमार शर्माले दिएको जानकारी काभ्रे जिल्लाका लागि १३ हजार ८० बोरा युरिया मलको कोटा आएको छ । यस्तै सिन्धुपाल्चोकका लागि ६ हजार ४२० बोरा मलको कोटा आएको छ । तर मल कहिले आउने हो यसको कुनै मिति आएको छैन । ढुवानीको समस्याका कारण यस आर्थिक वर्षको अन्त्यसम्म मल आउन सक्ने उनले बताए । शर्माका अनुसार यतिबेला कार्यालयको धुलिखेलस्थित गोदाममा २६.८५ मेट्रिक टन युरिया मलको स्टक छ । यस्तै डिएपीको स्टक शुन्य छ भने ११४.८० मेट्रिक टन पोटास मलको स्टक छ । तर यही भएको मल पनि अभावमा रहेका किसानले पाउँदैनन् । किनकी जसका लागि यी कोटा छुट्याइएको छ ती सहकारी मल लिन आएका छैनन् । उनीहरुको भागमा परेको मल अरुले लैजान नपाउने सरकारको नीति छ ।
कृषि सामाग्री धुलिखेलबाट १० महिनामा १० हजार २५३ मेट्रिक टन मल बिक्री
पछिल्ला केही वर्षयता देशका धेरैजसो किसानको एउटै गुनासो छ, ‘खेती गर्ने समयमा रासायनिक मल नै पाइँदैन ।’ तैपनि सरकारले भने मल आयात र वितरण सहज भएको दाबी गर्दै आइरहेको छ । कृषि सामाग्री कम्पनी लिमिटेड धुलिखेलले काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका लागि रासायनिक मल बिक्री वितरण गर्दै आइरहेको छ । यी चार जिल्लामा कम्पनीले यस आर्थिक वर्षमा ठूलो परिमाणमा मल बिक्री वितरण गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
गत साउनदेखि जेठ २७ गतेसम्म यस कम्पनीले चार जिल्लामा १० हजार २५३ मेट्रिक टन अनुदानको मल बिक्री गरिसकेको छ । जसमध्ये ७ हजार ९३.५ मेट्रिक टन युरिया मल बिक्री गरेको छ । यही अवधीमा २ हजार ८३६ मेट्रिक टन डिएपी र ३२३.५ मेट्रिक टन पोटास मल बिक्री गरिसकेको कार्यालयका प्रमुख शर्माले जानकारी दिएका छन् । उनका अनुसार चार जिल्लामध्ये सबैभन्दा बढी काभ्रे जिल्लामा बिक्री गरिएको छ । काभ्रेमा ४ हजार ८७० मेट्रिक टन युरिया, २ हजार ३९ मेट्रिक टन डिएपी र २६१ मेट्रिक टन पोटास मल बिक्री भएको छ । यस्तै सिन्धुपाल्चोकमा २ हजार ३२.७ मेट्रिक टन युरिया, ७७४ मेट्रिक टन डिएपी र ६१ मेट्रिक टन पोटास मल बिक्री गरिएको छ । उता दोलखामा ३२.४ मेट्रिक टन युरिया, ११ मेट्रिक टन डिएपी र ०.३० मेट्रिक टन पोटास बिक्री भएको तथ्यांक छ भने यही समय अवधिमा रामेछापमा भने १५८ मेट्रिक टन युरिया, ११.४ मेट्रिक टन डिएपी र ०.६ मेट्रिक टन पोटास मलको बिक्री गरिएको कार्यालयले जनाएको छ ।
कुन पालिकामा कति मल बिक्री ?
पालिकागतरुपमा काभ्रेको पाँचखाल नगरपालिकामा धेरै मल बिक्री भएको तथ्यांक छ । यहाँ ८२९ मेट्रिक टन युरिया, ५१४ मेट्रिक टन डिएपी र ९० मेट्रिक टन पोटास मल बिक्री भएको छ । मण्डनदेउपुर नगरपालिकामा क्रमशः ६१५ मेट्रिक टन, ४१५ र ३५ मेट्रिक टन, बनेपामा ६०७ युरिया, २७९ डिएपी र ५० मेट्रिक टन पोटास, धुलिखेलमा ५८० मेट्रिक टन युरिया, २१९ मेट्रिक टन डिएपी र २२ मेट्रिक टन पोटास मल बिक्री भएको छ । यस्तै पनौतीमा ५९२ मेट्रिक टन युरिया, २६३ मेट्रिक टन डिएपी र ३४ मेट्रिक टन पोटास, नमोबुद्धमा ४३४ मेट्रिक टन युरिया, १३६ मेट्रिक टन डिएपी र ५ मेट्रिक टन पोटास, रोशीमा ३७० मेट्रिक टन युरिया, ५२.६ मेट्रिक टन डिएपी र ६.६ मेट्रिक टन पोटास, चौंरीदेउरालीमा १५३ मेट्रिक टन युरिया, २८ मेट्रिक टन डिएपी र १.८ मेट्रिक टन पोटास मलको बिक्री भएको छ ।
कार्यालयले जनाएअनुसार भुम्लु गाउँपालिकामा १४० मेट्रिक टन युरिया, ३८.८५ मेट्रिक टन डिएपी र ०.७५ मेट्रिक टन पोटास, बेथानचोकमा १४१.७ मेट्रिक टन युरिया, ३८.५ मेट्रिक टन डिएपी, १३.५ मेट्रिक टन पोटास, तेमालमा १८३.७५ मेट्रिक टन युरिया, ३१.९ मेट्रिक टन डिएपी र ०.३५ मेट्रिक टन पोटास बिक्री हुँदा खानीखोलामा ९९ मेट्रिक टन युरिया र ८ मेट्रिक टन डिएपी तथा महाभारतमा १२४ मेट्रिक टन युरिया र १४ मेट्रिक टन डिएपी मल बिक्री भएको तथ्यांक छ ।
यस्तै सिन्धुपाल्चोकका १२ पालिकाहरुमा सबैभन्दा बढी मेलम्ची नगरपालिकामा बिक्री भएको छ । यहाँ ५५२ मेट्रिक टन युरिया, २४७ मेट्रिक टन डिएपी र २२.५ मेट्रिक टन पोटासको बिक्री भएको छ । हेलम्बु गाउँपालिकामा ९६ मेट्रिक टन युरिया, ५४ मेट्रिक टन डिएपी र १.८५ मेट्रिक टन पोटास, बाह्रबिसेमा १६१ मेट्रिक टन, युरिया, २१ मेट्रिक टन डिएपी र १ मेट्रिक टन पोटास, पाँचपोखरी थाङपालमा ९३ मेट्रिक टन युरिया, १५.८ मेट्रिक टन डिएपी र ०.२५ मेट्रिक टन पोटास मलको बिक्री गरिएको कार्यालयले जनाएको छ ।

सुनकोशीमा ८४ मेट्रिक टन युरिया, २८.७ मेट्रिक टन डिएपी र ०.७५ मेट्रिक टन पोटास, चौतारा साँगाचोकगढी नगरपालिकामा २९९ मेट्रिक टन युरिया, १४१.५ मेट्रिक टन डिएपी र १३ मेट्रिक टन पोटास, बलेफीमा १३०.६ मेट्रिक टन युरिया, २३.६ मेट्रिक टन डिएपी र १.७५ मेट्रिक टन पोटास तथा जुगलमा ५९.५ मेट्रिक टन युरिया र १० मेट्रिक टन डिएपी मल बिक्री भएको छ । यस्तै इन्द्रावती गाउँपालिकामा ३८० मेट्रिक टन युरिया, २०० मेट्रिक टन डिएपी र १६.६ मेट्रिक टन पोटास, त्रिपुरासुन्दरीमा ८४ मेट्रिक टन युरिया, ७ मेट्रिक टन डिएपी र ०.३५ मेट्रिक टन पोटास, लिशंखुपाखरमा ७९ मेट्रिक टन युरिया, २३.५ मेट्रिक टन डिएपी र २.८ मेट्रिक टन पोटासको बिक्री भएको छ । भोटेकोशीमा भने युरिया १२.५ टन र डिएपी ०.५ टन बिक्री भएको छ ।
यसैगरी दोलखाको शैलुङ्ग गाउँपालिकामा मात्र ३२.४ मेट्रिक टन युरिया, ११ मेट्रिक टन डिएपी र ०.३ मेट्रिक टन पोटास मल बिक्री हुँदा रामेछापका सुनापती गाउँपालिकामा ९२.९ मेट्रिक टन युरिया, ५ मेट्रिक टन डिएपी र ०.२५ मेट्रिक टन पोटास तथा दोरम्बा शैलुङ्गमा ६५ मेट्रिक टन युरिया, ६ मेट्रिक टन, डिएपी र ०.२५ मेट्रिक टन पोटास मलको बिक्री भएको छ । यी दुई जिल्लाका अन्य पालिकामा भने कृषि सामाग्री कम्पनी सिन्धुली शाखाबाट बिक्री वितरण हुने पनि कार्यालयले जनाएको छ । उल्लेखित मलको परिणाममा साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याएर बिक्री गर्ने मल उल्लेख छैन । साल्ट ट्रेडिङले ३० प्रतिशत र कृषि सामाग्रीले ७० प्रतिशतको अनुपातले मल बिक्री वितरण गर्दै आइरहेका छन् ।
कसरी हुन्छ मलको वितरण ?
सरकारले मल वितरणमा कोटा प्रणाली लागू गरेको छ । जसले गर्दा मल किसानले सहकारी संस्थामार्फत मात्रै पाउने गरेका छन् । कृषि मन्त्रालयले सबै प्रदेशका लागि मलको कोटा तोक्छ । प्रदेशमार्फत जिल्ला र पालिकाका लागि छुट्टै कोटा तोकिन्छ । प्रदेशबाट आएको सूचीअनुसार मात्रै कृषि सामाग्री कम्पनीले मल वितरण गर्नुपर्ने बाध्यता रहेको धुलिखेलस्थित कार्यालयका प्रमुख आलोककुमार शर्मा बताउँछन् । विगतमा देशभर किसानको माग १३ लाख मेट्रिक टन तर आयात मुस्किलले पाँच लाख मेट्रिक टन मात्र हुने गरेका कारण माग र आपूर्तिबीच असन्तुलन हुँदा मल अभाव भएको थियो । सरकारले चालु आर्थिक वर्षमा कृषि क्षेत्रका लागि ५७ अर्ब बजेट विनियोजन गरेको थियो, जसमा २८ अर्ब त मल खरिदकै लागि छुट्याएको छ । तैपनि किसान भने मलकै समस्या बेहोर्न बाध्य छन् ।
फाइल तस्बीर
प्रतिक्रिया