काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गर्दै देशभरको स्वास्थ्य सेवा प्रवाह सुचारु गर्न सरकारसँग आग्रह गरेका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा साउन ९ गते कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै थापाले उक्त घटना निन्दनीय भएको बताएका छन् । नागरिकको जीवन रक्षाका लागि खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु तथा उपचार गर्ने क्रममा वा उपचार गरेकै आधारमा दुर्व्यवहार र भौतिक आक्रमणमा पर्नु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने उनको भनाइ छ ।
घटनापछि पेशागत सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि उपचारको पर्खाइमा रहेका हजारौँ बिरामी प्रभावित भएको उल्लेख गर्दै थापाले यस्तो अवस्था चिन्ताजनक भएको बताएका छन् । उनले चिकित्सक तथा स्वास्थ्यकर्मी आफ्ना हक र सुरक्षाका लागि सेवा बन्द गर्नुपर्ने अवस्थासम्म पुग्नु तत्कालीन र दीर्घकालीन समाधान खोज्नुपर्ने विषय भएको बताएका छन् ।
थापाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कार्यान्वयनमा रहेकाले घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न र वार्ताका क्रममा दुर्व्यवहार गर्ने अधिकारी तथा प्रहरीमाथि निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
त्यसैगरी, नेपाल चिकित्सक संघ तथा स्वास्थ्यकर्मीसँग तत्काल संवाद गरी उनीहरूका पेशागत सुरक्षासम्बन्धी माग सम्बोधन गर्दै ओपिडी लगायतका अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सुचारु गर्ने वातावरण बनाउन सरकारलाई उनले अतिरिक्त पहल गर्न आग्रह गरेका छन् ।
साथै, स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले यसको संवेदनशीलतालाई ध्यानमा राख्दै हजारौँ बिरामीको हितलाई प्राथमिकतामा राखेर सेवा प्रवाह नरोक्न तथा वार्ता र संवादमार्फत समाधान खोज्न आन्दोलनरत नेपाल चिकित्सक संघसहित सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि सभापति थापाले अपिल गरेका छन् ।
प्रतिक्रिया