बैकुण्ठ दाहाल
जब हाम्रा युवा भाइबहिनीहरूले नागरिकता हात पार्छन्, त्यसपछि उनीहरू पासपोर्ट बनाउन लाइनमा दौडिन थाल्छन् । पासपोर्ट बनेपछि विदेश जाने सपना बोकेर शैक्षिक परामर्श केन्द्र, भाषा कक्षा र वैदेशिक रोजगारीका दलालहरूको ढोका चाहार्न थाल्छन् । आखिर किन यस्तो भयो ? के हाम्रा युवामा देशको माया छैन? के उनीहरूलाई आफ्नो परिवार, समाज र जन्मभूमिप्रति कुनै जिम्मेवारीबोध छैन?
अवश्य पनि समस्या युवामा मात्र छैन । यसको मूल कारण खोज्ने हो भने हामीले हाम्रो शिक्षा, राज्यको नीति, रोजगारीको अवस्था र देशको राजनीतिक नेतृत्वतर्फ फर्केर हेर्नुपर्ने हुन्छ । आजका युवामा विदेश मोह बढ्दै जानु उनीहरूको रहर मात्रै होइन, बाध्यता पनि हो । देशभित्र पढेर के गर्ने? पढाइ सकेपछि रोजगारी कहाँ पाइन्छ? व्यवसाय गर्न खोज्दा सहज वातावरण कहाँ छ? उद्योग खोल्न खोज्दा कति झन्झट व्यहोर्नुपर्छ? कृषिमा लाग्दा बजारको सुनिश्चितता कसले गर्छ? सीप सिकेर काम गर्न खोज्दा श्रमको सम्मान कहाँ छ? यस्ता प्रश्नको जवाफ राज्यले दिन सकेको छैन ।
देशको बागडोर सम्हाल्ने जिम्मेवारी पाएका नेतृत्वले कहिल्यै गम्भीर भएर सोचेका छन्—हाम्रा लाखौँ युवा किन हरेक दिन विमानस्थलतर्फ दौडिरहेका छन्? किन गाउँका घरहरू युवाविहीन हुँदैछन्? किन आमाबुबा आफ्ना छोराछोरी विदेश पठाएर विमानस्थलमा आँसु झार्न बाध्य छन्? देश बनाउने उमेरका युवाहरू विदेशमा पसिना बगाइरहँदा नेपालमा विकास कसरी हुन्छ? हामीले विद्यालय तहदेखि नै आफ्ना सन्ततिलाई किताबको भारी बोकाइरहेका छौँ। तर त्यो शिक्षाले उनीहरूलाई जीवनमा काम लाग्ने सीप कति दिएको छ? पढेपछि आफ्नो हातले केही उत्पादन गर्न सक्ने, उद्यम गर्न सक्ने, रोजगारी सिर्जना गर्न सक्ने र आत्मनिर्भर बन्न सक्ने शिक्षा हामीले दिएका छौँ त?
आजको आवश्यकता केवल प्रमाणपत्र होइन, गरिखाने शिक्षा हो । विद्यालय तहदेखि नै श्रम, सीप, उद्यम, उत्पादन र नैतिक शिक्षालाई जोड्नुपर्छ । विद्यार्थीले पढ्दै गर्दा कुनै न कुनै सीप सिक्नुपर्छ। कृषि, पशुपालन, प्रविधि, निर्माण, पर्यटन, हस्तकला, उद्योग, सूचना प्रविधि लगायतका क्षेत्रमा व्यवहारिक ज्ञान दिनुपर्छ । शिक्षाले जागिर खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने नागरिक उत्पादन गर्नुपर्छ। तर विडम्बना के छ भने सरकारको प्राथमिकता अझै पनि जनताको वास्तविक आवश्यकताभन्दा अन्यत्रै देखिन्छ । शिक्षा क्षेत्रमा समेत राज्यको नीति र निर्णयमाथि गम्भीर प्रश्न उठ्ने अवस्था छ । सरकारी क्याम्पसहरूमा ११/१२ कक्षाको पढाइ बन्द गर्दै निजी विद्यालय तथा कलेजहरूलाई अवसर दिने प्रवृत्तिमाथि पनि गम्भीर बहस र छानबिन आवश्यक छ । यस्तो निर्णयले सरकारी शिक्षण संस्थालाई कमजोर बनाउँदै निजी क्षेत्रलाई मात्र बलियो बनाउने हो भने यसको दीर्घकालीन असरबारे सरकारले सोच्नै पर्छ ।
युवा जनशक्ति देशको मुख्य मेरुदण्ड हो । युवालाई विदेश पठाएर प्राप्त हुने रेमिट्यान्सले केही समय अर्थतन्त्र धान्न सकिएला, तर त्यसले देशलाई आत्मनिर्भर बनाउन सक्दैन । देशको समृद्धि उत्पादनबाट आउँछ। उत्पादनका लागि श्रम चाहिन्छ, श्रमका लागि सीप चाहिन्छ र सीपका लागि व्यवहारिक शिक्षा चाहिन्छ । त्यसैले बालेन सरकारसँग मेरो स्पष्ट प्रश्न छ—युवालाई देशमै रोक्ने तपाईंको योजना के हो?
युवालाई देशमै रोक्न भाषण र नाराले मात्र पुग्दैन । उनीहरूलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण बनाउनुपर्छ । सीपमूलक शिक्षा, सहुलियतपूर्ण ऋण, स्टार्टअप तथा उद्यममा सहयोग, कृषि र उद्योगमा लगानी, स्वदेशी उत्पादनको बजार सुनिश्चितता र श्रमको सम्मान हुने नीति तत्काल आवश्यक छ । सरकारले एउटा कुरा बुझ्नैपर्छ—युवालाई विदेश जानबाट रोक्ने सबैभन्दा प्रभावकारी उपाय विमानस्थलमा प्रहरी राख्नु होइन; देशभित्रै अवसर सिर्जना गर्नु हो ।
युवाले आफ्नै गाउँमा, आफ्नै सहरमा र आफ्नै देशमा श्रम गरेर सम्मानपूर्वक जीवन बिताउन सक्ने वातावरण बनाऔँ । देशमा उद्योगधन्दा खोलौँ, कलकारखाना सञ्चालन गरौँ, कृषिलाई आधुनिक बनाऔँ, उत्पादन बढाऔँ। युवालाई “काम ठूलो-सानो हुँदैन, काम नै सम्मान हो” भन्ने संस्कार सिकाऔँ । श्रम र श्रमदानलाई राष्ट्रिय विकासको अभियानसँग जोड्नुपर्छ । देश विकास सरकार एक्लैले गर्ने काम होइन। सरकार नीति र वातावरण बनाउने हो, नागरिकले श्रम र योगदान गर्ने हो । जब नागरिकमा श्रमप्रतिको सम्मान र देश निर्माणप्रतिको भावना जाग्छ, तब मात्रै समृद्धिको आधार तयार हुन्छ ।
युवालाई देशमै रोक्न भाषण र नाराले मात्र पुग्दैन । उनीहरूलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण बनाउनुपर्छ । सीपमूलक शिक्षा, सहुलियतपूर्ण ऋण, स्टार्टअप तथा उद्यममा सहयोग, कृषि र उद्योगमा लगानी, स्वदेशी उत्पादनको बजार सुनिश्चितता र श्रमको सम्मान हुने नीति तत्काल आवश्यक छ ।
त्यसैले बालेन सरकार, अझै समय छ । युवाको हातमा पासपोर्ट थमाएर विदेश पठाउने होइन, सीप, अवसर र उत्पादनको औजार थमाएर स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण बनाऊ। विद्यालय तहदेखि नै “अबको आवश्यकता गरिखाने शिक्षा” नीति लागू गर । युवालाई श्रमसँग जोड, सीपसँग जोड, उद्यमसँग जोड र उत्पादनसँग जोड। देशमै उद्योग खोल्ने, व्यवसाय गर्ने र उत्पादन गर्ने युवालाई राज्यले संरक्षण र प्रोत्साहन देओस् ।
युवालाई देशमै रोक्ने हो भने पहिले देशलाई युवाका लागि आकर्षक बनाउनु पर्छ । उनीहरूले आफ्नो भविष्य नेपालमै देख्न सक्ने वातावरण निर्माण गर्नुपर्छ । अब पनि युवाको आवाज नसुन्ने हो भने इतिहासले फेरि प्रश्न गर्नेछ—देशको बागडोर सम्हाल्नेहरूले समयमै किन चेत पाएनन्? बेलैमा चेत खोलौँ। युवालाई देशमै गरिखाने शिक्षा दिऔँ। श्रम गरौँ, उत्पादन गरौँ। देशलाई आत्मनिर्भर र समृद्ध बनाऔँ ।
प्रतिक्रिया