• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

दशैंविशेषः हिजोआजको दशैँमा कहाँ भेटिन्छ त्यो पुरानो रौनक !?

दशैंविशेषः हिजोआजको दशैँमा कहाँ भेटिन्छ त्यो पुरानो रौनक !?

ज्ञानमणि नेपाल कालोटोपी
यतिबेला नेपालीहरूको महान् चाड बडादशैँले सबैलाई छोइसकेको छ । वर्ष दिनमा आउने यो पर्वलाई आ–आफ्नै गच्छे र शैलीअनुसार मनाउने तयारीमा आम नागरिक जुटेका छन्। बजारमा किनमेलको चहलपहल बढेको छ। घरघरमा सरसफाइ र खानपिनको तयारी भइरहेको छ। आफन्तसँग भेटघाट गर्ने, टीका–जमरा लगाउने र आशीर्वाद लिने उत्साह पनि उत्तिकै छ। तर, यही उत्सवको भीडमा उभिएर पछाडि फर्केर हेर्दा एउटा प्रश्न मनमा उब्जिन्छ—हामीले मनाइरहेको दशैँमा हिजोको जस्तो मौलिकता, आत्मीयता र रौनक कति बाँकी छ?दशैँ अहिले पनि आउँछ । नयाँ लुगा लगाइन्छ, मीठामीठा परिकार पाक्छन्, आफन्त भेटिन्छन् र आशीर्वाद साटासाट हुन्छ। तर समयसँगै चाडपर्व मनाउने तरिका फेरिएको छ। प्रविधि फेरिएको छ, जीवनशैली फेरिएको छ, गाउँको स्वरूप फेरिएको छ। आधुनिक सुविधाले जीवन सहज बनाएको छ, तर कहिलेकाहीँ लाग्छ—दशैँ त उही हो, त्यसलाई विशेष बनाउने हाम्रो बाल्यकालको संसार भने कतै पछाडि छुटिसकेको छ।

कुनै समय दशैँ आउँदै छ भन्ने थाहा पाउन पात्रो पल्टाइरहनु पर्दैनथ्यो। बिहानको घाम, गाउँका बाटाघाटामा बढेको चहलपहल, घरआँगनको सरसफाइ, परदेशबाट फर्किने आफन्तको प्रतीक्षा र पुरानो क्यासेटमा घन्किन थालेका दशैँका गीतले नै पर्व आएको खबर सुनाउँथे। गाउँको हावामै छुट्टै उमङ्ग मिसिन्थ्यो। घरका आँगनमा बालबालिकाको हाँसो गुञ्जिन्थ्यो। कतै पिङ हाल्ने तयारी हुन्थ्यो, कतै घर चोख्याउने चटारो। अनि मनमनै सुरु हुन्थ्यो—नयाँ लुगा लगाउने, टीका थाप्ने, जमरा लगाउने र दक्षिणा बटुल्ने दिनको प्रतीक्षा। आज पनि समाजमा यस्ता ज्येष्ठ नागरिक छन्, जसले नौ दशकभन्दा बढी समयका दशैँ भोगिसकेका छन्। उनीहरूका अनुभव सुन्दा हिजोको दशैँ केवल एउटा चाड थिएन, त्यो त परिवार, छिमेक र सिङ्गो गाउँलाई जोड्ने जीवन्त उत्सव थियो भन्ने बुझिन्छ। अभाव थियो, दुःख थियो, कामको चाप थियो, तर चाडपर्वमा रमाउने आफ्नै शैली र संस्कृति थियो।

रातो माटो, सेतो कमेरो र घर चोख्याउने चटारो
दशैँ आउनु महिनादिन अघिदेखि नै गाउँका घरमा सरसफाइको चटारो सुरु हुन्थ्यो। रातो माटो र सेतो कमेरो लिन बिहान सबेरै घरबाट निस्कनुपर्थ्यो। कतिपय ठाउँमा माटो लिन घण्टौँ हिँड्नुपर्थ्यो। माटो बोकेर ल्याएपछि घर लिपपोत गर्ने काम सुरु हुन्थ्यो। भित्तामा रातो माटो पोतिन्थ्यो, त्यसमाथि सेतो कमेरो छ्यापिन्थ्यो। आँगन सफा गरिन्थ्यो, पिँढी चिटिक्क पारिन्थ्यो र घरलाई नयाँ रूप दिइन्थ्यो।लिपपोतको काम एकै दिनमा सकिँदैनथ्यो। हप्तौँ लगाएर घरको सरसफाइ र सजावट गरिन्थ्यो। कमेरो पोत्ने क्रममा कहिलेकाहीँ आफ्नै अनुहारमा पनि सेतो दाग लाग्थ्यो। अनुहारभरि कमेरो लागेर ‘रायपाटे’ बनेको त्यो क्षण पनि रमाइलै लाग्थ्यो। घर चोख्याउनु केवल सफाइको काम थिएन, त्यो त दशैँको स्वागत गर्ने सांस्कृतिक अभ्यास थियो।

त्यतिबेलाका घरको बनोट पनि आफ्नै विशेषतायुक्त हुन्थ्यो। बार्दली, बुइगल, दलान, पिँढी र अगेनाले घरलाई केवल बस्ने संरचना होइन, एउटा जीवन्त संसार बनाउँथे। ढोकाबाट भित्र छिर्नेबित्तिकै दैलानमा खाट देखिन्थ्यो। पाहुना आए त्यहीँ बसेर कुराकानी सुरु हुन्थ्यो। घरमा अगेनो र छुट्टै चुलो हुन्थ्यो। पानीका गाग्री राख्ने गग्रेटो, टुकी, काठका भाँडा राख्ने र्‍याक, तखता र खोपाहरू घरका परिचित अङ्ग थिए।माथिल्लो तलामा भकारी, ढुकुटी र पिठो–चामल राख्ने घ्याम्पाहरू हुन्थे। बुइगलमा मकैको कुन्यु बनाइन्थ्यो। थाम वरिपरि मकैका घोगा मिलाएर राखिएका दृश्य गाउँका घरको पहिचान थियो। दुना–टपरीदेखि बेलाबेला मात्र प्रयोग हुने सामग्रीसम्म जतन गरेर राखिन्थ्यो। भित्तामा चलेका हिरो–हिरोइनका तस्बिर, पोस्टकार्ड र पत्रपत्रिकाका टुक्राले घर सजाइन्थ्यो। आधुनिक सजावटका सामग्री थिएनन्, तर ती साना वस्तुमा हाम्रो कल्पनाको ठूलो संसार अटाएको हुन्थ्यो। आज गाउँका धेरै घर ढलान र आधुनिक संरचनामा फेरिएका छन्। रंगरोगनका आकर्षक विकल्प छन्। घर सजाउन अनेकौँ सामग्री उपलब्ध छन्। तर रातो माटोको सुवास, गोबरले लिपिएको आँगन र सेतो कमेरोले पोतिएको भित्तामा पाइने आत्मीयता कुनै महँगो रंगले दिन सक्छ कि सक्दैन, सोच्नुपर्ने विषय हो।

ढिकी–जाँतोको आवाज र चिउराको मीठो स्वाद
दशैँको तयारी घरको लिपपोतमा मात्र सीमित हुँदैनथ्यो। खानपिनको जोहो पनि महिनादिन अघिदेखि नै सुरु हुन्थ्यो। ढिकीमा धान कुटिन्थ्यो, चिउरा बनाइन्थ्यो। मकै र गहुँ पिस्न जाँतो तथा पानीघट्टको प्रयोग हुन्थ्यो। घरघरमा ढिकी–जाँतो हुनु अनिवार्यजस्तै थियो। आज हरेक घरमा टेलिफोन र टेलिभिजन भएझैँ त्यतिबेला घरायसी जीवनका लागि ढिकी–जाँतोको महत्त्व थियो। दशैँ नजिकिँदै गर्दा ढिकीमा धान र चिउरा कुट्नेहरूको भीड लाग्थ्यो। कसैको घरमा ढिकी चलिरहेको हुन्थ्यो, कतै जाँतो घुमिरहेको हुन्थ्यो। पानीघट्टमा अन्न पिसाउन जानेहरूको आफ्नै चहलपहल हुन्थ्यो। ती काममा श्रम बढी लाग्थ्यो, समय पनि उत्तिकै खर्च हुन्थ्यो। तर कामकै बीचमा कुराकानी हुन्थ्यो, हाँसो चल्थ्यो र छिमेकीबीच आत्मीयता बढ्थ्यो।

आज पुराना ढिकी, जाँतो र पानीघट्ट गाउँबाट लगभग हराइसकेका छन्। प्रकृतिबाट डाइनोसर लोप भएझैँ गाउँका कतिपय ठाउँबाट यी परम्परागत साधन एकाएक हराएका छन्। तिनको ठाउँमा आधुनिक मिल र मेसिनले लिएका छन्। पुरानो प्रविधिको प्रयोग झन्झटिलो र श्रमसाध्य भएकाले मानिस नयाँ प्रविधितर्फ आकर्षित हुनु स्वाभाविक पनि हो। यसलाई परिवर्तनको सहज प्रक्रियाका रूपमा लिन सकिन्छ। तर यी साधनसँग जोडिएका श्रम, सीप, सामूहिकता र सम्झनाहरू पनि सँगसँगै हराउँदै जानुचाहिँ चिन्ताको विषय हो। त्यतिबेला नयाँ लुगा लगाउन र मासु–चिउरा खान पनि दशैँ नै कुर्नुपर्थ्यो। अहिले बजारमा सबै कुरा सहजै उपलब्ध छन्। वर्षभरि नै मीठोमसिनो खान र नयाँ कपडा लगाउन सकिन्छ। तर अभावका बीच दशैँका लागि जतन गरेर राखिएको चिउरा खान पाउँदाको आनन्द र नयाँ लुगा लगाउँदाको उत्साह आजको प्रशस्ततामा पनि उस्तै गरी भेटिन्छ कि भेटिँदैन? सायद खुशीको मात्रा वस्तुको मूल्यले मात्र होइन, त्यसलाई प्राप्त गर्न गरिएको प्रतीक्षाले पनि निर्धारण गर्दोरहेछ।

बाबियोको पिङ र पालो कुर्दाको रमाइलो
दशैँको रौनक घरभित्र मात्र सीमित हुँदैनथ्यो। पूरै गाउँ पर्वको तयारीमा जुट्थ्यो। बाटाघाटा सफा गरिन्थे। टोलका साझा धारा र कुवा सफा गरिन्थे। बाटोछेउका झार उखेलिन्थे। चौतारा र पानी बोक्न सजिलो होस् भनेर बनाइएका बिसौना वरपरका ठाउँहरू मर्मत गरिन्थे। त्यो सामूहिक सफाइमा ‘मेरो घर’ र ‘तेरो घर’ भन्दा ‘हाम्रो टोल’ भन्ने भावना ठूलो हुन्थ्यो। कसैलाई छुट्टै बोलाइरहनुपर्दैनथ्यो। गाउँका मानिसहरू आफैँ जुट्थे। सबैको साझा श्रमले गाउँलाई सफा र सुन्दर बनाउँथ्यो। अहिले विकासका अनेकौँ संरचना बनेका छन्, सुविधा बढेका छन्। तर छिमेकीसँग मिलेर काम गर्ने त्यो सहज संस्कृति सम्झँदा मनमा छुट्टै भाव पैदा हुन्छ।

रातो माटोले पोतिएका घर, बाबियोका पिङ, क्यासेटमा घन्किने गीत, ढिकीमा कुटिएको चिउरा र पाहुना आउने बाटो हेर्दै बितेका ती दिन अब सम्झनामा मात्रै सीमित हुँदै गएका छन् । दशैँ अहिले पनि आउँछ, तर त्यसलाई विशेष बनाउने हाम्रो गाउँले जीवन, सामूहिक आत्मीयता र प्रतीक्षाको मिठास भने क्रमशः हराउँदै गएको अनुभूति हुन्छ ।

दशैँसँगै पिङको लहड पनि चल्थ्यो। बाबियो खोज्दै घरघर पुगिन्थ्यो। बाबियो जम्मा पारिन्थ्यो, बाटिन्थ्यो र पिङ हाल्न उपयुक्त ठाउँ खोजिन्थ्यो। कतै जाँतेपिङ हुन्थ्यो, कतै लिङ्गेपिङ त कतै रोटेपिङ। पिङ तयार भएपछि सुरु हुन्थ्यो पालो कुर्ने खेल। पालो आउन कति बेर लाग्थ्यो! पालो पाइहाले पनि ठूलाहरूले दुई–चार झट्का नपाउँदै, “ल, पुग्यो, झर!” भन्दा मन खिन्न हुन्थ्यो। अझै केही बेर खेल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। तर त्यो रिस धेरैबेर टिक्दैनथ्यो। फेरि साथीहरूसँगै हाँस्दै, कराउँदै अर्को पालोको प्रतीक्षा सुरु हुन्थ्यो।

बालबालिका बिहानदेखि बेलुकासम्म पिङमै झुम्मिएका हुन्थे। घरधन्दाको जिम्मेवारी पनि सँगसँगै हुन्थ्यो। गाईवस्तुका लागि घाँस ल्याउने, पशुचौपायाको काम सक्ने र त्यसपछि साथीहरूसँग रमाउने योजना बनाइन्थ्यो। काम र रमाइलो जीवनकै स्वाभाविक हिस्सा थिए। आज कतिपय गाउँमा पिङ हाल्ने चलन जीवितै होला, तर धेरै ठाउँमा पहिलेको जस्तो सामूहिक रौनक देखिँदैन। बालबालिकाको मनोरञ्जनका माध्यम फेरिएका छन्। उनीहरू मोबाइल, भिडियो गेम र डिजिटल संसारमा रमाउँछन्। नयाँ पुस्ताले नयाँ तरिकाले खुशी खोज्नु अस्वाभाविक होइन। तर पिङको पालो कुर्दाकुर्दै साथीहरूसँग बितेका ती क्षणले सिकाउने धैर्य, मेलमिलाप र सामूहिकताको पाठ पनि कम महत्त्वपूर्ण थिएन।

नयाँ लुगा, मामाघर र दक्षिणाको मीठो प्रतीक्षा
त्यतिबेला नयाँ लुगा भनेको अहिलेको जस्तो धेरै जोर हुँदैनथ्यो। कहिलेकाहीँ स्कुलको पोसाक नै नयाँ लुगाजस्तो लाग्थ्यो। दशैँमा नयाँ कपडा पाइयो भने त्यसको खुशी बयान गरेर साध्य हुँदैनथ्यो। लुगा च्यातिएला, मैलो होला भनेर जतनसँग लगाइन्थ्यो। नयाँ कपडाको चमकभन्दा त्यसलाई लगाउन पाउनुको आनन्द ठूलो हुन्थ्यो। नयाँ लुगा लगाएर मामाघर जाने, आफन्तको घरमा पुग्ने, टीका थाप्ने, जमरा लगाउने र दक्षिणा पाउने दिनको प्रतीक्षा बेग्लै हुन्थ्यो। टीका लगाइसकेपछि हातमा पाइने केही रुपैयाँ पनि ठूलो उपलब्धिजस्तो लाग्थ्यो। त्यो पैसाले के किन्ने भन्ने योजना मनमै बनिसकेको हुन्थ्यो। कसैलाई मिठाई किन्न मन लाग्थ्यो, कसैलाई खेलौना। कसैका लागि त्यो पैसा आफ्नै सानो सम्पत्ति हुन्थ्यो।

आज बालबालिकाका लागि लुगा, खेलौना र मनोरञ्जनका विकल्प प्रशस्त छन्। तर अभावका बीच सानो वस्तु पाउँदाको जुन आनन्द थियो, त्यसलाई प्रशस्तताले सधैँ प्रतिस्थापन गर्न सक्दैन। पहिले दशैँमा नयाँ लुगा लगाउनु विशेष अवसर थियो। अहिले नयाँ लुगा किन्न दशैँ नै कुर्नुपर्दैन। यसले जीवन सहज बनाएको छ, तर कुनै वस्तु पाउन लामो समय प्रतीक्षा गर्दाको उत्साह पनि क्रमशः घटेको अनुभूति हुन्छ।

परदेशबाट फर्किने आफन्त र काठमाडौंका कथा
दशैँको रौनक बढाउने अर्को विशेष पक्ष थियो—टाढा गएका आफन्तको आगमन। काठमाडौंमा बस्ने दाइहरू, जागिरका सिलसिलामा बाहिर रहेका अंकलहरू, पढाइका लागि गाउँ छाडेका दाजुभाइहरू दशैँमा घर फर्किन्थे। उनीहरू फर्किएपछि गाउँका घरमा छुट्टै चहलपहल हुन्थ्यो। उनीहरूसँग नयाँ लुगा र सामान मात्र आउँदैनथे, सहरका कथा पनि आउँथे। काठमाडौंका घर कस्ता छन्? गाडी कस्ता छन्? त्यहाँ कस्ता खेल खेलिन्छन्? कस्ता खेलौना पाइन्छन्? उनीहरूले सुनाएका कुरा सुन्दा हामीलाई काठमाडौं कुनै अर्को संसारजस्तो लाग्थ्यो। उनीहरूको वर्णन सुन्दै हामी पनि कल्पनामा सहर पुगिसकेका हुन्थ्यौँ। सहरको जीवन हाम्रो बालमनमा कौतूहल, उत्सुकता र सपनाको संसार बनेर प्रवेश गर्थ्यो।

त्यतिबेला गाउँबाट कोही जागिरे सहर गएर फर्कियो भने उसको चर्चा निकै चल्थ्यो। उसको अनुभव सुन्न गाउँलेहरू उत्सुक हुन्थे। आफन्त भेट्न कुनै औपचारिक कार्यक्रम चाहिँदैनथ्यो। घरघर डुलिन्थ्यो। कतै खाना खाइन्थ्यो, कतै चिया। सामान्य कुरामै हाँसो उठ्थ्यो। साथीभाइबीच सानोतिनो झगडा पनि पर्थ्यो, तर त्यो रिस लामो समय टिक्दैनथ्यो। किनकि सँगै खेल्नु थियो, घुम्नु थियो र दशैँका बाँकी दिन रमाइलोसँग बिताउनु थियो। गाउँको सम्बन्ध सामाजिक सञ्जालमा जोडिएको सम्बन्ध थिएन। त्यो त घरको आँगन, पिँढी, बाटो र चौतारामा प्रत्यक्ष भेटघाटबाट हुर्किएको आत्मीयता थियो। अहिले फोन र सामाजिक सञ्जालले टाढा रहेका आफन्तसँग सम्पर्कमा रहन सहज बनाएका छन्। तर सम्पर्कमा रहनु र सँगै बसेर सुखदुःख साट्नु एउटै कुरा होइन रहेछ।

डिलमा उभिएर पाहुना आउने बाटो हेर्दा
बाल्यकालको दशैँ सम्झँदा पाहुना आउने प्रतीक्षाको एउटा दृश्य अझै आँखामा आउँछ। घरमा कोही आफन्त आउँदै छन् भन्ने खबर पाएपछि मन एकै ठाउँमा अडिँदैनथ्यो। डिलमा पुगेर टाढाको बाटो हेरिन्थ्यो। आउँदैछन् कि छैनन् भनेर टोलाइन्थ्यो। केही बेर घरभित्र गइन्थ्यो, फेरि बाहिर निस्केर बाटो हेरिन्थ्यो। टाढा कतै एउटा आकृति देखियो भने मनमा उत्साह जाग्थ्यो। त्यो आफन्त नै हो कि होइन भनेर अनुमान गरिन्थ्यो। नजिकिँदै गरेको आकृति चिनेपछि खुशीको सीमा रहँदैनथ्यो। घरमा पाहुना आइपुग्नुअघि नै घरको वातावरण बदलिइसकेको हुन्थ्यो।

आज मोबाइलमा ‘आउँदै छु’ भन्ने सन्देश आउँछ। लोकेसन पठाइन्छ। फोन गरेर बाटो सोधिन्छ र केही समयमै पाहुना घर आइपुग्छन्। प्रविधिले भेटघाटलाई सजिलो बनाएको छ। तर टाढाको बाटोमा देखा परेको एउटा आकृतिलाई पाहुना ठानेर हर्षित हुने, पटक–पटक बाहिर निस्केर बाटो हेर्ने र आगमनको प्रतीक्षामै उत्सव अनुभूति गर्ने त्यो समय भने अर्कै थियो। त्यतिबेला प्रतीक्षा पनि खुशीको एउटा हिस्सा थियो। अहिले हामीलाई चाहिएको कुरा छिट्टै उपलब्ध हुन्छ। तर छिटो प्राप्त हुने सुविधाले लामो प्रतीक्षापछिको त्यो विशेष आनन्द पनि जस्ताको तस्तै दिन सक्छ र?

बार्दलीको क्यासेट र दशैँ आएको अनुभूति
दशैँको अर्को अविस्मरणीय सम्झना हो—क्यासेट प्लेयर र दशैँका गीत। घरको बार्दलीमा राखिएको क्यासेट प्लेयर, त्यसमा घुम्ने रिलवाला चक्का र स्पिकरबाट गुञ्जिने पुराना गीत। गीत बज्न थालेपछि घरमा दशैँ साँच्चिकै आएको अनुभूति हुन्थ्यो। गीतका शब्द, धुन र आवाजसँगै अनेकौँ सम्झना जोडिएका हुन्थे। घरमा जम्मा भएका आफन्त, आँगनमा खेलिरहेका बालबालिका, नयाँ लुगा लगाएर हिँडिरहेका दाजुभाइ र चाडपर्वको तयारीमा जुटेका घरका ठूलाहरू—गीत बज्दा यी सबै दृश्य एउटै स्मृतिमा मिसिन्थे। कहिलेकाहीँ घरबाट टाढा रहेका सन्तानको सम्झना पनि त्यही गीतले ल्याउँथ्यो। गीत बजिरहँदा घरका ठूलाहरूको अनुहारमा देखिने भाव हामीले त्यतिबेला बुझ्दैनथ्यौँ। अहिले सम्झँदा लाग्छ, सायद उनीहरूलाई पनि परदेशमा रहेका आफ्ना छोराछोरी, बितेका दिन र पुराना दशैँहरूको सम्झनाले छोइरहेको हुन्थ्यो। आज मोबाइलमा हजारौँ गीत छन्। चाहेको गीत एकैछिनमा सुन्न सकिन्छ। न क्यासेट खोज्नुपर्छ, न रिल घुमाउनुपर्छ। प्रविधिले संगीतलाई हातहातमा पुर्‍याएको छ। तर क्यासेटको चक्का घुम्न थालेपछि घरभरि फैलिने त्यो आवाजसँगै दशैँ आएको अनुभूति हुने समयको मिठास भने स्मृतिमै सुरक्षित छ।

नौ दशकको अनुभवमा बदलिएको दशैँ
आज नौ दशकभन्दा बढी उमेर पार गरेका ज्येष्ठ नागरिकका अनुभव सुन्दा समयले कति ठूलो फड्को मारेछ भन्ने अनुभूति हुन्छ। उनीहरूले भोगेको समाजमा अभाव थियो, उपचारका सुविधा सीमित थिए, यातायात सहज थिएन र दैनिक जीवनमा अनेकौँ कठिनाइ थिए। भूकम्प गए, विफरको महामारी फैलियो, औलोले गाउँ नै सखाप पार्ने अवस्था आयो। तैपनि चाडपर्वको समयमा मानिसहरू एकअर्कासँग भेटघाट गर्थे, दुःखसुख बाँड्थे र उपलब्ध स्रोतसाधनमै रमाउने प्रयास गर्थे। आजका ज्येष्ठ नागरिकका लागि सबैभन्दा दुःखद पक्षमध्ये एउटा हो—टाढा रहेका सन्तान र नातिनातिना चाडपर्वमा घर आउन नसक्नु। फोनमा कुरा हुन्छ। भिडियो कलबाट अनुहार पनि देखिन्छ। तर आफ्नै आँगनमा बसेर सन्तानको अनुहार हेर्नु र फोनको पर्दामा देख्नुको अनुभूति एउटै हुँदैन।

त्यतिबेला नयाँ लुगा लगाउन र मासु–चिउरा खान पनि दशैँ नै कुर्नुपर्थ्यो। अहिले बजारमा सबै कुरा सहजै उपलब्ध छन्। वर्षभरि नै मीठोमसिनो खान र नयाँ कपडा लगाउन सकिन्छ। तर अभावका बीच दशैँका लागि जतन गरेर राखिएको चिउरा खान पाउँदाको आनन्द र नयाँ लुगा लगाउँदाको उत्साह आजको प्रशस्ततामा पनि उस्तै गरी भेटिन्छ कि भेटिँदैन? सायद खुशीको मात्रा वस्तुको मूल्यले मात्र होइन, त्यसलाई प्राप्त गर्न गरिएको प्रतीक्षाले पनि निर्धारण गर्दोरहेछ।

‘यसपालि आउन पाइएन’ भन्ने सन्देश वा फोनको जवाफ सुन्दा उनीहरूको मन खिन्न हुन्छ। दशैँमा घर भरिभराउ हुने दिन सम्झँदा अहिलेको सुनसान घर झन् खाली लाग्छ। पहिले पाहुना आउने बाटो हेर्नेहरू अहिले फोनको घण्टी कुर्छन्। प्रविधिले दूरी घटाएको छ, तर भौतिक दूरीले सिर्जना गर्ने एक्लोपन पूरै हटाउन सकेको छैन। त्यसैले पुरानो दशैँको सम्झना केवल बाल्यकालको रमाइलो सम्झना होइन। यो परिवार, पुस्तान्तरण, सामाजिक सम्बन्ध र बदलिँदो जीवनशैलीको कथा पनि हो।

हिजोको समाज र आजको परिवेश
हिजोको समाजमा पनि समस्या थिए। गाउँमा मुखियाले भनेका कुरा काट्ने आँट सबैले गर्दैनथे। सामाजिक विभेद, सीमित अवसर र परम्परागत बन्धनका कारण धेरै मानिसले कठिन जीवन बिताउनुपर्थ्यो। सबै कुरा राम्रा थिए भन्न मिल्दैन। तर गाउँमा सामूहिकता, पारस्परिक सहयोग र सामाजिक सम्बन्धका केही यस्ता अभ्यास थिए, जसले मानिसलाई एकअर्कासँग जोडेर राख्थे। आजको परिवेश बदलिएको छ। मानिस बढी स्वतन्त्र भएका छन्। शिक्षा, सञ्चार, यातायात र प्रविधिमा ठूलो परिवर्तन आएको छ। आफ्ना आवश्यकता पूरा गर्न मानिससँग धेरै विकल्प छन्। तर यही परिवर्तनसँगै कतिपय ठाउँमा छिमेकीसँगको घनिष्ठता घटेको, पारिवारिक भेटघाट औपचारिक बन्दै गएको र मानिस आफ्नै संसारमा बढी सीमित हुन थालेको अनुभूति पनि हुन्छ।

पहिले दशैँमा गाउँका खास घरहरूमा जुवातास खेल्नेहरूको जमात जम्थ्यो। टोलटोलमा पिङ हालिन्थे। आफन्तको घरमा जाने–आउने क्रम चलिरहन्थ्यो। आज तीमध्ये कतिपय चलन हराएका छन्, कतिपयको स्वरूप फेरिएको छ। त्यसैले परिवर्तनलाई पुरानो सबै राम्रो र नयाँ सबै नराम्रो भनेर हेर्नुभन्दा पनि समयसँगै हामीले के प्राप्त गर्‍यौँ र के गुमाउँदै छौँ भन्ने प्रश्न गर्नु बढी उपयोगी हुन्छ। चाडपर्वको मौलिकता जोगाउनु भनेको पुराना सबै अभ्यासलाई जस्ताको तस्तै दोहोर्‍याउनु होइन। समयअनुसार बदलिँदै जाँदा पनि तिनको मूल भावना—आत्मीयता, सहकार्य, सम्मान, सांस्कृतिक पहिचान र पारिवारिक एकता—लाई जीवित राख्नु हो।

दशैँ फेरिएको हो कि हामी?
आज दशैँ आउँदा बजारमा किनमेलको भीड देखिन्छ। घरमा नयाँ लुगा भित्रिन्छन्। मीठामीठा परिकार पाक्छन्। आफन्त भेटिन्छन् र आशीर्वाद साटासाट हुन्छ। तर यी सबैका बीच हामीले चाडपर्वको आत्मालाई कति जोगाइरहेका छौँ भन्ने प्रश्न महत्त्वपूर्ण छ। दशैँको वास्तविक अर्थ नयाँ लुगा, मीठो परिकार र लामो बिदामा मात्र सीमित थिएन। त्यो घर चोख्याउने बहानामा परिवार जुट्ने समय थियो। गाउँ सफा गर्ने क्रममा छिमेकीसँग सम्बन्ध नवीकरण गर्ने अवसर थियो। पिङको पालो कुर्दाकुर्दै साथीहरूसँग बिताउने समय थियो। परदेशबाट फर्किएका आफन्तका कथा सुन्दै नयाँ संसार कल्पना गर्ने क्षण थियो। अनि टाढाको बाटोमा पाहुना देखिँदा मनभरि खुशी छाउने अनुभूति थियो।

यीमध्ये धेरै कुरा अहिले पनि सम्भव छन्। हामी आधुनिक घरमा बसेर पनि परिवारसँग मिलेर काम गर्न सक्छौँ। प्रविधिको प्रयोग गर्दै पनि आफन्तसँग प्रत्यक्ष भेटघाटका लागि समय निकाल्न सक्छौँ। बालबालिकालाई दशैँका सांस्कृतिक पक्षबारे बताउन सक्छौँ। गाउँटोलमा सामूहिक सरसफाइ, परम्परागत खेल र सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन सक्छौँ। ज्येष्ठ नागरिकका अनुभव सुन्न र नयाँ पुस्तासम्म पुर्‍याउन सक्छौँ। परम्परा जोगाउनु भनेको पुरानो समयमै फर्किन खोज्नु होइन, बरु विगतबाट उपयोगी कुरा सिकेर वर्तमानलाई अझ आत्मीय बनाउनु हो। दशैँको मौलिकता कुनै एउटा वस्तु, पोसाक वा खानामा मात्र हुँदैन। त्यो मानिसहरूबीचको सम्बन्धमा हुन्छ। घरको भित्तामा रातो माटो पोतियोस् वा आधुनिक रंग लगाइयोस्, त्यस घरमा बस्ने मानिसबीच आत्मीयता छ भने दशैँको भावना जीवित रहन्छ। पिङ बाबियोको होस् वा आधुनिक सामग्रीको, त्यसले मानिसलाई जोड्छ भने त्यसको सांस्कृतिक महत्त्व रहन्छ। क्यासेट बजोस् वा मोबाइल, गीतले परिवारलाई एकै ठाउँमा जुटाउँछ भने त्यसले पर्वलाई विशेष बनाउँछ। समस्या साधन फेरिनुमा होइन, साधनसँगै सम्बन्ध र संवेदना पनि हराउँदै जानुमा हो।

सम्झनामा बाँचेको त्यो गाउँ
आज दशैँ नजिकिँदा मन अनायासै पुरानो गाउँतिर फर्किन्छ। आँखाअघि रातो माटोले पोतिएको घर आउँछ। आँगनमा सेतो कमेरोको छ्याप देखिन्छ। ढिकीमा धान कुटेको आवाज सुनिन्छ। बाबियोको पिङमा साथीहरूसँग पालो कुर्दै गरेको बालक सम्झनामा फर्किन्छ। बार्दलीको क्यासेटमा घन्किएको गीतले घरभरि फैलाएको रौनक फेरि अनुभूत हुन्छ। अनि डिलमा उभिएर टाढाको बाटो हेरिरहेको त्यो बालमन जाग्छ—कसैलाई पर्खिरहेको, कसैको आगमनमा रमाउन तयार।

त्यो गाउँ, त्यो घर र त्यो बाल्यकाल समयसँगै टाढिएका होलान्। कतिपय पुराना संरचना भत्किए होलान्, कतिपय चलन हराए होलान्। ढिकी–जाँतोको ठाउँमा मेसिन आए होलान्, क्यासेटको ठाउँमा मोबाइलले लिए होलान्। तर तिनले दिएको आत्मीयता अझै मनभित्र कतै सुरक्षित छ। हरेक दशैँले त्यसलाई फेरि ब्युँताइदिन्छ। दशैँ त अहिले पनि आउँछ। तर पुरानो दशैँ सम्झँदा लाग्छ—हामीले चाडपर्व मात्र होइन, समयको एउटा सुन्दर संसार पनि पछाडि छाडेर आएका रहेछौँ।

सायद अबको चुनौती त्यही संसारलाई हुबहु फर्काउनु होइन, त्यसका सुन्दर पक्षलाई नयाँ पुस्ताको जीवनमा पुनःस्थापित गर्नु हो। घरमा आफन्त जुटून्, छिमेकीसँग आत्मीयता बढोस्, ज्येष्ठ नागरिकले एक्लोपन महसुस गर्न नपरोस्, बालबालिकाले आफ्नो संस्कृतिलाई चिनून् र दशैँ केवल उपभोगको पर्व नभई सम्बन्ध नवीकरण गर्ने अवसर बनोस्। किनकि अन्ततः दशैँको रौनक घरको आकारमा होइन, मनको विशालतामा हुन्छ। पर्वको सुन्दरता किनमेलको परिमाणमा होइन, बाँडिएको खुशीमा हुन्छ। र परम्पराको जीवन्तता पुराना वस्तुहरू जोगाउनुमा मात्र होइन, तिनले सिकाएको आत्मीयता र सामूहिकतालाई नयाँ समयसम्म पुर्‍याउनुमा हुन्छ। दशैँ अहिले पनि आउँछ, तर त्यो पुरानो दशैँ सम्झँदा मनले सोधिरहन्छ—हामीले समयसँगै सुविधा त धेरै थप्यौँ, कतै खुशी बाँड्ने पुरानो तरिका भने बिर्सिंदै त छैनौँ? शुभ बडादशैँ !



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन २७, मंगलवार १८:३८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार