• २०८३ असार ३१ | Wed, 15 Jul 2026

‘आगोका अक्षरहरू’ लिएर आए डा. राजेन्द्र कोजू

‘आगोका अक्षरहरू’ लिएर आए डा. राजेन्द्र कोजू

भक्तपुर । कवि डा. राजेन्द्र कोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ को लोकार्पण एक समारोहबीच साहित्यकार, संस्कृतिविद्, साहित्यिक पत्रकार तथा कार्यक्रमका प्रमुख अतिथी सूर्यप्रसाद लाकोजूले गरेका छन् । विमोचन तथा परिचर्चा कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि लाकोजूले डा. कोजूका कविताहरू विचारप्रधान, चेतनामूलक र समाजसँग प्रत्यक्ष संवाद गर्ने प्रकृतिका रहेको उल्लेख गरे । उनले “कविताले मानिसलाई ऊर्जा प्रदान गर्छ, अक्षरले मानिसलाई जोड्छ, तर राजनीतिले मानिसलाई विभाजन गर्छ,” भन्दै साहित्यको एकतामूलक भूमिकालाई औंल्याए ।

लाकोजूले सृजनाका लागि साधना र अध्ययन अपरिहार्य रहेको बताउँदै वर्तमान समयमा कृत्रिम बुद्धिमत्ता (एआई) ले समेत कविता लेख्ने सन्दर्भ उठाए । उनले एआईमार्फत सिर्जना हुने कविताले सर्जकको मौलिकता र व्यक्तित्वलाई चुनौती दिन सक्ने भन्दै सच्चा सृजनाका लागि मानवीय संवेदना, अनुभव र साधनाको महत्व झनै बढेको उल्लेख गरे। साथै उनले शिक्षाकर्मीले साहित्य सिर्जना गर्दै समाजमा प्रेरणादायी व्यक्तित्व निर्माण गर्ने भूमिका खेलेको बताउँदै “कविता व्यक्तिको रहर मात्र होइन, यो समाजप्रतिको उत्तरदायित्व पनि हो,” भने। विशेष अतिथी अम्बिका धितालले कविताका विभिन्न आयाम, संरचना र तत्वबारे चर्चा गरेका थिए ।

प्रकाशित कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ मा कुल १११ वटा मध्यम आकारका कविता तथा १६ वटा चार हरफे मुक्तक शैलीका कविता समावेश छन् । कविताहरूले व्यक्ति, समाज, राजनीति, नैतिक मूल्य, मानवीय संवेदना र चेतनाका विविध पक्षलाई समेटेका छन् । कार्यक्रममा सञ्चारकर्मी हरिसुन्दर छुकांले डा. कोजूको जीवनी, कवित्व र कृतित्वमाथि विस्तृत प्रस्तुति दिएका थिए। उनले डा. कोजूको साहित्यिक यात्रालाई साधना, अध्ययन र समाजप्रतिको उत्तरदायित्वसँग जोडिएको निरन्तर सृजनात्मक साधनाका रूपमा व्याख्या गरे।

कार्यक्रममा स्वयं स्रष्टा डा. कोजूले पनि आफ्नो नयाँ कृतिबाट चयन गरेका कविताहरू वाचन गरेका थिए। डा. कोजूका प्रकाशित कृतिहरूमा `घोडा उसको वा ऊ घोडाको?´, `विशेषणमा बाँचेको देश, `हृदयका प्रतिबिम्ब´ (संयुक्त कवितासङ्ग्रह), `चित्र र चरित्र´, `इमानको धरहरा´ (कवितासङ्ग्रह) तथा `निर्भीक आवाजहरू´ (लेखसङ्ग्रह) रहेका छन् । कार्यक्रम अनुशीलन प्रकाशनका अध्यक्ष जीवनाथ अधिकारीको सभापतित्वमा भएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ७, बिहीबार ००:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP