• २०८३ असार ३१ | Wed, 15 Jul 2026

सिन्धुपाल्चोक क्षेत्र नम्बर-२ : दुई पूर्वमन्त्री र एक पूर्वपालिका अध्यक्षबीच प्रतिस्पर्धा

सिन्धुपाल्चोक क्षेत्र नम्बर-२ : दुई पूर्वमन्त्री र एक पूर्वपालिका अध्यक्षबीच प्रतिस्पर्धा

  • ज्ञानमणि नेपाल कालोटोपी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर दुईको चुनावी प्रतिस्पर्धा पनि अन्य जिल्लाको भन्दा कम छैन । कुनैबेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गढ नै मानिन्थ्यो सिन्धुपाल्चोकलाई । किनकी पूर्वमन्त्री पशुपतिशमसेर जबराले यहाँबाट धेरै पटक चुनाव जितेका थिए । तर पछिल्ला चुनावहरुमा भने यहाँ राप्रपाको लोकप्रियता खस्किएको पाइन्छ । आगामी निर्वाचनका लागि सिन्धुपाल्चोकको क्षेत्र नम्बर दुईमा पूर्वमन्त्री शेरबहादुर तामाङ, वागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलाल र इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङबीचको प्रतिस्पर्धालाई रोचक मानिएको छ ।

क्षेत्र नम्बर २ मा कूल मतदाता संख्या १ लाख ३८ हजार १३ रहेको छ । जसमा पुरुषको संख्या ७२ हजार ४० (५२.२० प्रतिशत) र महिलाको संख्या ६५ हजार ९७३ (४७.८०) रहेको छ । यहाँ १५ राजनीतिक दल र ३ स्वतन्त्र गरि १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा महिलाको संख्या एक जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ६३ मतदानस्थल र १६६ मतदान केन्द्र रहेको यस क्षेत्रमा दलिततर्फ उम्मेदवार छैनन् भने खस आर्यमा २७.७८ प्रतिशत र आदिवासी जनजातीतर्फ ७२.२२ प्रतिशत रहेका छन् ।

नेकपा एमालेले यहाँ पूर्वमन्त्री शेरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले वंशलाल तामाङलाई उठाएको छ । यहाँ नेपाली कम्युनिष्ट पार्टीबाट युवराज दुलाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट झलककुमार श्रेष्ठ उम्मेदवार बनेका छन् । राप्रपाबाट गोपीकृष्ण चौंलागाईं र नेपाल मजदुर किसान पार्टीबाट म्हेन्दो तामाङ उम्मेदवार बनेका छन् ।

यसैगरि मंगोल नेशनल अर्गनाइजेशनबाट कर्णवीर स्यांबु लामा, श्रम संस्कृति पार्टीबाट भानु श्रेष्ठ, मितेरी पार्टी नेपालबाट महेश कुँवर, नेकपा माओवादीबाट सोमान लामा, उज्यालो नेपाल पार्टीबाट रामसिं तामाङ, आम जनता पार्टी (एकल चुनाव चिन्ह)बाट गणेशबहादुर श्रेष्ठ, नागरिक सर्वोच्चता पार्टी नेपाल (एकल चुनाव चिन्ह) बाट सेरबहादुर तामाङले उम्मेदवारी दिएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दावाछिरिङ शेर्पा, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह)बाट मिङमर तामाङ, तथा दिपक ढकाल, विजु श्रेष्ठ र सुन्दर अधिकारीले यहाँ स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसअघिको चुनावमा क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेस, माओवादी र नेकपा समाजवादीलगायतको गठबन्धनका उम्मेदवार कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका थिए । यो पटक बस्नेत टिकट पाउनबाट बञ्चित रहेका छन् ।

एमाले उम्मेदवार शेरबहादुर तामाङ यो पटकसम्म सिन्धुपाल्चोकबाट पाँच पटक चुनाव लडिसकेका छन् । उनले शुरुका दुई चुनाव हारे भने पछिल्ला दुवै चुनाव जितेका थिए । पहिलो पटक २०५६ सालमा नेकपा मालेबाट सिन्धुपाल्चोक–३ मा उम्मेदवार बनेका उनी २०६४ सालमा एमालेबाट उम्मेदवार बने । तर दुवै चुनावमा पराजय बेहोर्नुपरेको थियो । २०७० सालमा सिन्धुल्पाल्चोक–३ बाटै पहिलो पटक तामाङले चुनाव जितेका थिए । तीन वटा निर्वाचन क्षेत्र घटेर अहिले दुई वटामा झरेपछि तामाङ २०७४ सालमा क्षेत्र नं २ बाट विजयी भएका थिए । त्यसपछि उनी कानुन मन्त्रीसमेत बने । ०७९ सालको निर्वाचनमा भने उनी गठबन्धनका उम्मेदवार कांग्रेसका मोहनबहादुर बस्नेतसँग पराजित भएका थिए । यो पटक जीतको ह्याट्रिक गर्ने सोचमा रहेका तामाङ अधिवक्तासमेत हुन् ।

उता नेपाली कांग्रेसको राजनीतिमा लामो समय बिताइसकेका वंशलाल तामाङ यस चुनावमा पहिलो पटक प्रतिनिधि सभाको यात्रा तय गर्ने सोचमा छन् । ०७४ र ०७९ सालको स्थानीय निर्वाचनमा इन्द्रावती गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बने पनि उनी ०७९ मा भने पराजित भएका थिए । तामाङले नेपाल विद्यार्थी संघ हुँदै राजनीतिको सुरुवात गरेका थिए । नेविसंघका संस्थापक जिल्ला सदस्य रहेका उनी ०४६ को जनआन्दोलनमा सहभागी भएका थिए । ०४२ सालमा काठमाडौंमा तत्कालीन पञ्चायतविरुद्ध शान्तिपूर्ण सत्याग्रहमा पनि सहभागी थिए । वंशलालले जिल्लामा नयाँ युगको शुरुआत गर्ने र शिक्षा, सडक, खानेपानी, विजुली, स्वास्थ्य, भौतिक पूर्वाधारजस्ता काम गर्ने यो चुनावमा एजेण्डा बनाएका छन् । गाउँपालिका राष्ट्रिय महासंघका पूर्वमहासचिव पनि रहेका उनी यसअघि कांग्रेसले जितेको क्षेत्रमा यो पटक पनि आफूले बिरासत जोगाउने दाबी गर्छन् ।

यस्तै यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले यसअघिका वागमतीका प्रदेश सभा सदस्य रहेका युवराज दुलाललाई उम्मेदवार बनाएको छ । शान्ति प्रक्रियापछि संसदीय राजनीतिमा प्रवेश गरेका दुलाल २०७४ र २०७९ को निर्वाचनमा दुई पटक बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भए । यस अवधिमा उनले बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री (२०७४ फागुन–२०७७ पौष) तथा भौतिक पूर्वाधार विकास मन्त्री (२०७९ माघ–२०८१ श्रावण) को जिम्मेवारी पाएका थिए । २०५१ सालदेखि अखिल क्रान्तिकारीमा संगठित भई उनले राजनीतिक यात्रा शुरु गरेका हुन् । ४३ वर्षिय युवा नेताको छबी बनाएका दुलालको प्रतिनिधि सभामा यो पहिलो उम्मेदवारी हो । वागमती प्रदेश सभा सदस्यको समय अवधि बाँकी रहँदै उनी राजीनामा दिएर यस निर्वाचनमा उम्मेदवार बनेका हुन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने झलककुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ । राजनीतिमा श्रेष्ठ विल्कुलै नयाँ अनुहारको रूपमा अघि देखिएका छन् । नयाँ भए पनि जनतासँग नजिक रहेर विकास र सुशासनमा योगदान दिने उनको प्रतिबद्धता छ । जिल्लाको लिशंखुपाखर गाउँपालिकामा जन्मिएका श्रेष्ठ सामाजिक न्यायमा जोड दिँदै मतदाताका घरदैलोमा पुगिरहेका छन् । जेनजी आन्दोलनपछि उनी राजनीतिमा सक्रिय भएका हुन् । यस क्षेत्रका अनुभवी मानिएका राजनीतिज्ञहरुसँग उनले प्रतिस्पर्धा गर्दैछन् ।

यसरी केही नयाँ र केही पुराना अनुहारका बीच निर्वाचन हुने सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नागरिकले यो चुनावमा कसलाई चुन्नेछन्, त्यो भने हेर्न बाँकी नै छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ७, बिहीबार १५:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP